• बुधबार ३-६-२०८१/Wednesday 06-19-2024
जीवनको प्रेरणा

पाका मान्छेलाई माया गरौँ !

उमेरिदा प्राय साठी वर्ष नाघेपछि पाका मान्छे भनिन्छन् र कान्छो व्यवहारमा पनि ज्येष्ठनागरिक नामबाचक शव्दकोरुपमा चलेकै छ । अनुभव तथा आर्जीत ज्ञानका आधारमा सुसँस्कृत समाज र परिवारमा यस उमेरसमुहलाई मानिला मानिसमा सगर्व गनिएको पनि देखिन्छ । दैनिक कामकाजबाट अलग्याएर धेरै सङ्घसँस्थाबाट ‘तिमी अब हामीलाई कामलाग्ने भएनौ’ भनेझैँ गरी गर्न सक्दासक्दैको सेवाबाट निबृत्तगरी बिदादिने चलन छ । धेरैजसो परिवारमा पाका मान्छेलाई आदरको नाममा निश्क्रिय बनाउने उक्तिप्रयोग ‘डाँडामाथिका जुन’ बनाई बसोबासको एक कुनोमा आश्रयलिन पनि बाध्य पारिएको छ । सबै मानव समुदायमा चलिआएको भनाईमा एउटै छ, ‘उमेरिएका पाका मानिसलाई अरु उमेरसमुहकाले आदर र मानमनितो गर्नु पर्दछ’ । विभिन्न अवस्थामारहेका पाका मानिसलाई एकै मिसिल एकै टङ्कारमा केबल ‘आदरभाव’ देखाएर मात्र पुग्ला त ?


के उपल्ला वर्गको देखासिखी ‘हजुरहजुर’ वा ‘आईस्योस, गरिस्योस’ वा ‘ज्युनारहोस्, बसिस्योस्’ गरेर मात्र पाका मान्छेका चाहाना र उमेरजन्य आवस्यक्ता पुरा होलान् त ? भनिआएको ‘आदर र मान कायमराख्ने’ चलन र व्यवहारमा परिमार्जन गरेर ‘आदर, मान, ईज्जतकासाथै माया’ गर्नथाले समाजमा बिग्रह मथ्थर होलाकि ? अद्यावधिक जानकारीको हेक्का, शारीरिक अवस्था, ज्ञानको सिमा र भएको–नभएको विबेकी भई छ्यान–बिछ्यान छुट्ट्याई मायागर्दा पो राम्रो होला नि ! उहाँहरूको अवस्थाअनुसार समयसापेक्ष हेरबिचार गर्नेले ‘माया’ थप्पेर हामी सबैले आदर गर्नसके समाजमा बिखण्डनको टण्टो नरहला र ज्ञानको पुस्तान्तरणगर्न सहज होलाकि ? ‘पाका मान्छेका हितमा कामगर्छु वा हेरबिचारमा छु’ भन्नेले त्यसरी सोच्न र व्यवहार गर्न थाल्ने कि ?

 

सामान्य स्थितिः
सँसारभरीका सबै मानिससमुह, सम्प्रदाय, आस्था र नश्लका मानिसहरू बिचमा पाका मान्छेको आदर र ईज्जत गर्नुपर्छ भन्ने धारणानै पाईन्छ । शुसम्स्कारी परिवारमा प्राय धेरैजना एकअर्काको सुखदुखमा साथसाथै बसेका पाईन्छन् । आधुनिकताको खोक्रो जामा लगाउन आत्तुरभएका परिवारमा ‘सबै कुरा टक्का, नभए हुँदैन पक्का’ भन्दै मानविय चरित्रमा अबमूल्यनभई बिखण्डन र घोचपेचतिर उन्मुख हुन्छ । त्यस्ता हुँडलोभएको परिवारमा आयआर्जन गरिरहेका मानिसको ‘सुईसुई र सार्इँसाइँ’ बाहेक अरु उमेरका सदस्यहरूको ख्याल कत्तिको होला ? त्यसमध्ये करिब निस्कृय वा नियमित आय नभएका पाका मान्छेको कत्तिको आदरभाव र हेरबिचार भएको पाउनुभएको छ ? सुन्नुभएको वा देख्नुभएको छ ? पाको उमेर भएर सेवानिबृत्त भएका र एकमुष्ट वा मासिक केही आर्थिक सहायता पाई अब काम नभई थन्किएका छन् भने अहिलेको बजारभाउमा उहाँहरूको कमाई कति वर्ष टिक्ला र ? उहाँहरूको नियमित मनगुज आय नभएर हिजोआज आफ्नै घरमा आफ्नो स्वादको खाना बन्न छाड्यो होला ! भनेको ठाउँमा जान र घुम्न नियन्त्रण भएको होला भने हिजोसम्म तपाइँको कुशलक्षेम सोध्न आउनेहरूले पाउने ‘चिया टक्र्याउने’ काम ‘फुर्सद नभएर’ छुटदै होला । कतिपय ठिकै अवस्थाको परिवारमा तपाइँ किनारालाग्दै हुनुहुन्छ भने आएका खास तपाइँकै मान्छे ‘काम नकाजका मान्छे बटुलेर सत्यानासगर्न तम्सेको’ अत्तो थपिएला । घरको बेढङ्गको व्यवहारबाट दिक्कभई साथी छुटाउन मन नलागि बाहिर फेर भेटने तनुखा मिलाउनु परेको होला ! परिवारका कारीणीले चालपाए ‘म्यादगुज्रेका थोत्रा कुरागर्न, हाम्रा कुरा काटन, ढाँटेर जान कसरी सक्या ?, नगए पनि हुन्छ’ सम्म भन्न भ्याएका होलान् । सोझै नगर, नजा र नखा भन्न नसक्ने छन् भने ‘कति अझै सक्या ? हाम्रालागि रौँ बराबर केही गर्द्या होईन, अरुनै साख, दिएको खानु लाउनु, घरमै थच्चिनु नि, एउटा हुन्छ नि !’ को बाछिटा चैते झरीझैँ ओईरिएलान् । तपाइँहामी पाका र अतिपाका मानिला मान्छेहरूलाई पहिला उमेराँ ‘परिवारको खुसीमा ईच्छा भएर प्राथमिकतामा नपरेको र रहर गर्दागर्दै धित नमरेका’ आफ्नो कामकुरो पक्कै होलान ! के तपाइँलाई गरिने मानिला सम्बोधनले ति अब पूरा होलान त ? बोली सुन्दा त आदरभाव सुनिन्छ तर भनाईको सञ्जोग र ध्वँनीमा त्यस्ताकुरा पूर्ताल हुन खोजेको आभाष हुन्छ कि छनक ? के तपाइँले गरे भोगेका दुखकष्टमा अनुगृहित भएर ‘कठै सक्दा ज्यान फालेर गर्नुभो, अब हाम्रो पालो र कर्तव्य पुरागर्न दिनोस्’ भन्दै मायागरेर अघि बढेपो । अहिले तपाइँ कम सक्रृय अवस्थामा सोधीसोधी सम्पन्नगरी, यो उमेरमा सन्तोषको चरमानन्द अनुभूत गराईदिने परिवार पाउन दुर्लभ होला कि ? त्यस्तो छ भने त ‘ज्युँदै अमरावतिको सोख पाएकोमा’ आनन्द र गर्व गर्नुहोस्, अनि लैनो सुधी गाईझैँ जे भन्छन् लुरुलुरु गरिरहनोस् !


भोगाईः 
माया भन्ने बडो अनौठो भावनात्मक तथा जिम्बेवारीपूर्ण मनोबिज्ञान हो । नेपालमा त मायाका विभिन्न रुप र मात्रा हरेक उमेरसमुहकालागि फरकफरकनै पाईन्छ । बालबालिकालाई गरिने माया, किसोरकिसोरी बिचको प्रेम, बयस्कहरू बिचको स्नेह र सदभाव अनि पाका मानिसहरूलाई गरिने आदरयुक्त मानमनितो सबैका प्रकार विविध अभिव्यक्तिमा पाईन्छन् । प्राय माया अनुसारनै व्यवहारमा पनि लागु भईरहेको पाईन्छ भने जीम्बेवारी लिनुपर्नेले ससाना केटाकेटीलाई बाहेक अरुसँगको सम्बन्ध अलि फितलो देखिन्छ । त्यस्ता सम्बन्धमा देखापर्ने भनाई र गराईमा सामान्य कारणले पनि फरकपरेको भेटिन्छ । त्यस्ता कुरा  व्यवहारको कसीमा हेर्ने हो भने पाका मान्छेको सन्दर्भमा बढि नकारात्मक भेटिएका छन् ।
परम्परागत रुपमा भनिएको चाहीँ पाका मान्छेलाई आदर गर्नुपर्छ, मान गर्नुपर्छ भन्ने हो । राम्ररी सोचौँ, पाका मान्छेलाई जुनसुकै अवस्था भएपनि मानगरेर मात्र पुग्ला त ? मान र आदर भनेको ‘शव्दले बोलीमा’ मात्र हो र ? उहाँहरूको अवस्था हेरेर सहयोगगर्न तम्सिनु र उहाँहरूको ईच्छाअनुसार गरिदिनु पनि हो नि ! बोलीचालीमा ‘ज्येष्ठ नागरिक’को पगरी गुथाईदियो अनि सकियो, हो र ? के जीविका नचल्ने अलिकती आर्थिक भत्ता दिँदैमा जीवननै धानेको गुड्डीहाँक्न सुहाउँछ र ? त्यस्तै, सोमतले ‘एकसरो लाउन दिएकै छ, भएको खान दिएकै छ, भन्या ठाउँ बस्ने, दिन काटने’ भनेर पाका मान्छेलाई ठूलो गुन लगाएझैँ कुरागर्न होला त ? अरु उमेरसमुहलाई जस्तै चलेको खाना, नाना र ओढने–ओच्छ्याउने दिएर ‘खाईस्योस्, लायीस्योस्’ भनेर काम गर्ला त ?

 

उमेरिदा शरीरका जैविक प्रणालीहरू थाकेका, कमजोर वा रोगीभएका हुन सक्छन् । सदाबर्ते भान्छा पाका मान्छेलाई अपाच्य हुनसक्छ, ‘जाडोमा मकैभटमास राम्रो’ भनि हल्लिएका दाँत वा गीजा बाँकीरहेकालाई खानु भन्दा के होला ? मधुमेहले सरिर गलेकालाई फूस्रा रोटी खान दिँदा ‘भुटुवा तरकारीसँग खाईस्योस्’ भन्दा पाचनमा के असर होला ? हरेक खानेकुरा मतापले ‘हाँप र झाप नगरी’ मुख हल्लाईहल्लाई खाएकालाई, ‘कति मिठो पकाएर दिए पनि ङ्याचाङ्गङ्याच्याङ्ग गरेर उग्राईरहने’ भनि टिप्पणीगर्नु कति मनासिब होला ? धेरैबेर मुख चलाएर मनग्ये ¥याल निकालेर मिठो मानेर चाटीचुटी खानु त स्वास्थ्यकोलागि राम्रै होला नि होईन र ? फेरी खाने बान्कीमा आआफ्नै तरिका पनि होलान, पाका भएकालाई सिकाउनु पर्ला र ?

 

मुख्य कुरा मान गर्ने नाममा पाका मान्छेको फाप र अफापमा ध्यान नदिई खानेकुरा र मौसमी फलफुल ‘बेलाको चिज हजुरलाई नटक्र्याई कसरी खानु’ भनि करगर्नु मनासिब होला र ? ‘भिटामिन सि ले हाड बलियो बनाउँछ र रुघाखोकी लाग्दैन’ भन्दै ज्यान कमजोर भएका पाका मान्छेलाई भोगटे साँधेर खानदिनु र खानामा ज्यामिर निचोरीदिनु कति मान होला ? बयस्कले दौडधुप र कामको पेलाईले पचाउनसक्ने चिल्लोपिरो पाका मान्छेलाई अपच हुने र झाडापखाला चल्ने हुनसक्छ । ‘भुटेको र कवाफ लगाएर मरमसला बेस्सरी हालेको ज्युनार गराउने गरेको’ धाक लगाउनु पनि मान नहोला कि ? उमेरिएकाहरूको स्वास्थ्यमा बडो ख्यालराख्ने नाममा सँधे फरकफरक तरकारी बनाईदिएको छ भनी ‘बिहान आलुप्याज, बेलुका प्याजआलु अनि बिहान दालभात बेलुका भातदाल’ पनि ठिक होईन् । त्यस्तै, ‘रोगलाई ध्यानदिएर सुखा रोटी ख्वाउने गरेको छ वा जाउलो बनाउने’ भनि मानगरेको नाममा रसिला तरकारी बिनाका रोटी र सँधै एकै दालको जाउलो पनि ठिक होईन ।

 

‘फोहोरले रोग थपिन्छ, सफा बस्नु पर्छ, हामी सफा गरिदिन्छौँ हजुरको कोठा’ भन्ने नाममा कोठामै बसिरहेको बेला र ओछ्यानमै पल्टिरहेका बेला पाका मान्छेलाई ठाउँ नसारी क्रियाकलाप गर्नुले कति आदर गरेको ठहरिएला ? ‘जमाना अनुसार लुगाफाटो लाईस्योस, हाम्रो पनि ईज्जत रहोस्’ भनि मानगर्ने नाममा सरिरमा कस्सिने, भुवा निस्केर खारलाग्ने, लगाउन सहजै नसकिएर टाँक, तुनामा अल्झिनु पर्ने लुगाफाटो, पाका मान्छेलाई काल बन्न सक्छन् । बाक्लो, चाक्लो राम्रो नाममा गरुङ्गो सिरक र धेरै लच्कीने डसना पनि पाका मान्छेलाई बेफाईदा पु¥याउने साधन हुन् । ‘बालिष्ट दिया छ नि बुढाबुढी भनेर’ भनि ईष्टमित्रका अघि आदर देखाउनु पाका मान्छेलाई पेच हान्नु जस्तै हो । ओढदाखेरी स्वासप्रस्वास सहज नहुने सिरक र अतिनरम भएर ढाड लच्किने डसना मान होईन धेरै प्रयोगमा थप समस्याबो कारक बन्नसक्छ । 

 

आन्तरिक उर्जा उत्पादनगर्न पुरानीएका अङ्गले कमीभएर जाडो महिनामा दुईटा सिरक खाप्दा पनि ‘जाडो कताबाट पस्छ हँ ?’ भनि सोध्ने पाका मान्छेलाई चिसो बढी अनुभव हुन्छ । जाडो महिनाको त कुरै छाडौँ, अरु महिनामा पनि स्याँठ चल्दा वा मुसल्धारे पानी पर्दा पाका मान्छेले अलि बाक्ला लुगा खोजेको कुरामा गिल्लागर्न मिल्ला ? टेक्न, छेक्न र ओढन हुने भनि घाम चर्कने र झरीलाग्ने महिनामा डण्डीवाल छातालिई हिँडने पाका मान्छेलाई ‘भाँच्ने छाता नबोकेको’ भनि नाक खुम्च्याउनु कत्तिको ठिक होला ? सरिरको शुरक्षाकालागि बाक्लोचाक्लो रोजेर एक छिमल घाम, पानी र चिसो बतास रोक्ने पहिरनलाई ‘म्यादगुज्रेका पुरानीयाँ’ भनि होच्च्याउन मिल्ला र ?

 

शारिरिक रुपले अलि कमजोर भईसकेका पाका मान्छेलाई कसैको बाधा बिघ्न र घच्चा नहोस् भन्दै बुईगल वा दुईतिन भ¥याङ चढेर माथि जानुपर्ने कोठातिर ‘घाम, हावा प्रसस्त, कसैको बाधा पर्दैन’ भनी थच्च्याउनु पनि मानगरेको हुँदैन । उस्तैपर्दा तलमाथि हिँडन त गाहारो हुन्छ भने आफ्ना मनपरेका सामान लिई हिँडन त प्रलय भईहाल्छ नि । बोकेको सामानले नै कता अल्झेर खुटकिलामा लरबरीएर वर्लङ्गभई ‘घुँडो खुस्काउने हो कि ढाड मर्काउने हो !’ के ठेगान ? अनि परिवारमा परेको थप आर्थिक भारमा ‘के को लर¥याङलुरुङ गरिरहेको होला ? नसक्ने एकै अजकको ठाउँमा बसिस्योस् न, रकम पाए हामीनै ल्याई दिउँला’ भनि मान गरेको देखाउनु कति जायज होला ? उमेरिदा दिसाशौँच गर्ने असहज भौतिक सम्रचनाले धेरैलाई दुख दिएको हुन्छ । सफाई पानी, हातमुख धुने सावन, पुछपाछ गर्ने रुमाल र आवस्यक्तामा फेरफारगर्ने लुगाफाटो सहज पहुँचमा छ कि छैन ? ‘त्यहीँ राख्द्यात छ नि, अलिअलि आफैँले तन्याकतुनुक जीउ चलाएर लिईस्योस’ भन्दै कोठामा धेरै माथि वा निहुरी मुण्टो लाएर खोज्नुपर्ने ठाउँ कति सुविधा दिएको र मानगरेको भन्ने ?

 

घरमै राखेर मानगरी सुबिधा दिएको नाममा ‘टिभी खोलेर घरैमा बसे भईहाल्यो नि’ भनेर हिँडडुलमा खतरा होला भन्ने बहानामा सरिर कुँज्याउनु पाका मान्छेलाई राम्रो होईन । बाहिर जाने झञ्झट मानेर पाका मान्छे पनि कुनै निम्तानाम्तीमा ‘म गएर के काम ? तिमीहरू गए खानपिन पनि होला, भेटघाट पनि हुन्छ, बरु टिभी खोल्देर जाओ’ भनि डल्लिन खोज्छन् । हार्वाडका बिज्ञानका पत्रकार डा. एण्ड्रयु बुडसन र बेलायती बायोबैँक सँस्थाले बिभिन्न उमेरसमुहका पाँचलाख मानिसमा गरिएको अध्ययनअनुसार धेरै टिभीमा बसिरहने मानिसमा स्नायु सम्बन्धि बिभिन्न रोगहरू देखिएका छन् । दैनिक एकदुई घण्टाभन्दा बढि एकोहोरो टिभी हेरीरहनेमा बाटोघाटो बिर्सने, बाहिरफेर जाँदा दृष्टिभ्रम हुने, समस्या परेमा समाधानभन्दा अल्झिने र सामान्य जानीरहेका गणितका अङ्कसमेत बिर्सने हुन थालेको पाईयो । नियमित लामो समय टिभी हेरिरहने पाका डेढलाख भन्दा बढिमा सन २०२२को अध्ययनले एकतिहाईमा अल्ज्हाईमर सुरुभएको देखाएको छ ।

 

अन्त्यमा,
अहिलेको परिस्थितिमा सामाजिक बनावट, रुपियाँ पैसाको तरलता, सस्ता र कम खपालु भएपनि विभिन्न भौतिक सुविधाको पउलता छ । हिजोआज मानिसमा सञ्चारका कारण जानकारी पनि धेरै छ र तथाकथित आधुनिकता गाउँगाउँ पुगेका छन् । पाका मान्छेका आफ्नै सञ्चिती पनि होला नभए परिवारको आयस्ता पनि दैनिक गुजारागर्न दुखमसुखम सजिलो होला ! बिभिन्न अप्राकृतिक बस्तुका कारण अन्य उमेरसमुह अनुकुलनमा भएपनि फरक वातावरणमा हुर्केका अहिलेका पाका मान्छेलाई बाँकी जीवन चलाउन गाहारो परेको हुनसक्छ । त्यस अवस्थामा परिवारका सदस्यहरू र हेरालुले आदरभावका साथमा पाका मान्छेको अवस्था हेरी माया गर्नुपर्छ । त्यस्तो माया भनेको उहाँहरूको आवस्यक्ता र ईच्छाहरूलाई स्विकारी भौतिक–मानसिकरुपमा सहयोगीको भूमिका खेल्नु हो । पाका मान्छेका अवस्थामा कसरी अग्रसरता लिने भन्ने कुरा हरेक उमेरसमुहमा उत्सुकता रहे ससाना बालबालिकादेखि वयस्क सम्म हरेकले उहाँहरूका आकाङ्क्षामा भागलिने छन् । पाका मान्छे निश्चिन्त र हाँसीखुसी रहेको त्यस्तो परिवार र सँस्था समाजको नमुना हुनेछ भने उमेरिदै आउने त्यसै परिवारकोलागि आफ्नो भविष्य सुनिश्चित र सुखमय बनाउने पाठशाला दरिने छ ।


परम्परागत रुपमा भनिएको पाका मान्छेलाई मान र आदरगर्नु ठिक हो । उमेरिए पछि भोगीने मानसिक र शारीरिक अनमेल र तनावपूर्ण अवस्था अरु उमेरसमुहको कल्पना बाहिरका कुरा हुन । उमेरिदा पाका मान्छेमा देखिने मनोबिज्ञान, सरिरले प्रतिक्रिया दिने लक्षण र जीवनप्रतिको उहाँहरूको सोचाई अरु उमेरसमुहकालागि कल्पनै गर्न नसकिने यथार्थ हुन् । हरेकले आफैँ पाको र अतिपाको नभएसम्म स्विकार्न कठिन लाग्छ । अहिलेका पाका बाहेकका उमेरसमुहले आफ्नो कष्टकर पाको अवस्था आउन नदिन त्यस्तो हुनु अघि आफ्ना पाका मान्छेबाट सिक्ने र समस्या आत्मसाथगरी मायागर्न थाल्नु पर्छ । भोलीको कष्टकर जीवन नहुने समयमै निश्चिन्तगर्न राम्रो व्यवहारिक गुरु आफ्नो पाका मान्छेलाई मायाले दिर्घायुसम्म जोगाऔँ ।


घरमा रहेका पाका मान्छेलाई मानमाथि मायागर्ने बानी बसालौँ, पुगअपुग, सकअसक र बाहिरी र भित्री ईच्छा बुझौँ । उहाँहरू बदलिने समय अब रहेन, धेरै पाका मान्छे आफ्ना बसेका बानीव्यहोरा फेर्न र नयाँ कुरामा अनुकुलनगर्न सकिरहेका हुन्नन् । जीवनको पछिल्लो उमेरमा रहेकाले परिवारका सदस्य र हेरालुले अतिनोक्सान हुने कुराबाहेक उहाँहरूका सबै कुरा साहानुभूतिपूर्वक मानिदिँदा नराम्रो हुन्न । उहाँहरूमा हौसला थपिएर झन निरोगीतातिर उन्मुख हुने, परिवारको प्रशँसामा दिन कटाउने र सहयोगी पनि बन्दै जानुहुनेछ । पाका मान्छेलाई खुसी र सुखी पार्न कत्ति गाहारो छैन, ससानो प्रेमपूर्ण आज्ञाकारिताले पुग्छ । उहाँहरूलाई त केवल अरु उमेरसमुहको आदरयुक्त बचनकासाथ सा¥होगा¥होमा माया चाहिएको छ, बस् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार