• बुधबार ७-१२-२०७७/Wednesday 10-28-2020
जीवनको प्रेरणा

‘गुरुदक्षिणा बाँकी छ दाई’

एकपटक जन—आन्दोलनलाई सम्झौं । २०६२–०६३ को जन-आन्दोलन होइन, २०४६ को । निर्दलिय पंचायती शासन पद्धती नेपाली हावा, पानी र माटो सुहाउँदो भएन भनेर लोकतान्त्रिक र वामपन्थी शक्तिले पुरानो सत्तामाथि धावा बोले । साथ दिन संगसंगै जनता पनि घरको ढोका खोलेर सडकमा निस्कन थाले ।

 

म भैरहवामा थिए । २०४६ साल फागुन ०७ गतेको दिन थियो । एसएलसीे परिक्षा दिएर घरमै बसिरहेको थिए । के मुड चल्यो, एकछिन बैंकरोडस्थित साथी ज्योती घिमिरेको चश्मा दोकानतिर लम्किए। दोकान पुग्नै थालेको थिए, जिन्दाबाद, मुर्दावादको नारा सुनियो । पछाडि फर्केर हेरेको छ, सात जना मानिसहरु कालो झण्डा फहराउँदै दौडिरहेको देखें। उनीहरुलाई पुलिसले लखेटिरहेको थियो । कसो कसो त्यो जत्था मैसंग ठोक्किन पुग्यो। त्यतिकैमा पुलिसले घेरा हाल्यो । उनीहरु सबैलाई पक्राउ गर्‍यो । हुलमुलमा म पनि परे। हुलमुलमा ज्यान जोगाउनु भन्थे, त्यस्तो भएन । मलाई पनि पुलिसले च्याप्पै समात्यो । भ्यानमा हाल्यो। नजिकैको थानामा पुर्‍यायो । 

 

पुलिसको पिटाई कस्तो हुन्छ ? त्यो दिन थाहा भयो । डिएसपी थिए, राजेन्द्रबहादुर सिंह । उनले आँखा मार्फत इशारा गर्थे । सिपाहीहरु हामीलाई नराम्ररी पिट्थे । म भर्खर १७ बर्षको लक्का जवान । पुलिसका भुसतिघ्रे सिपाहीहरुको पिटाइले नराम्ररी रन्थनीय ।

 

हामीलाई थुनामा राखियो । थुनामा जति राखिएका थिए, ती सबै राजनीतिक बन्दी थिए । ब्यवस्था विरोधी थिए । कोही कांग्रेस थिए, कोही कम्युनिष्ट । 

 

थुनामा पर्ने मध्य म नै थिए, सबैभन्दा फुच्चे । सबैको माया म माथि । उनीहरु सोध्थे, ‘एसएलसी पास भएपछि के पढ्छौं बाबु ?’

 

म अकमकिन्थे । किन कि एसएलसी पास गर्नु भनेको त्यो बेला चानचुने कुरा थिएन । फलामको ढोका त्यसै भनेको हो र ! म औसत विद्यार्थी । पास हुन्छु भन्ने भरोसा आफैलाई थिएन। यसैले पास भईहाले के पढने मसंग कुनै योजना थिएन । 

 

बन्दीमध्यका एकजना अंकल रहेछन, पेशाले पत्रकार । ‘देशमा प्रजातन्त्र ल्याउनुपर्छ, पंचायत ढाल्नुपर्छ’ भनेर मिशन पत्रकारिता गरिरहेका । उनले मलाई पनि क्रान्तिकारी ठानेछन। ‘बाबुमा पनि राजनीतिक चेत रहेछ’, उनले सुझाए, ‘पत्रकारिता पढेर यो शासन ढाल्ने योद्धा हुनुपर्छ ।’

 

पुलिसको पिटाइले हो वा किन हो मलाई पनि अचानक पंचायतसंग औधी रिस उठ्यो । यसको विरुद्ध जाग्नुपर्छ भनेर मुठ्ठी कस्न मन लाग्यो । मैले तीनलाई सोधें, ‘अंकल पत्रकारिता कहाँ पढ्न पाइन्छ ?’

 

‘रत्नराज्य क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौं’ उनले ठेगाना बताए । 

 

पत्रकारिता पढ्ने, पत्रकार बन्ने अनि पंचायत ढाल्ने भन्ने नयाँ सपनाले मलाई गिजोल्न थाल्यो । थुना परेको १३ दिनपछि देशमा प्रजातन्त्र आयो । हामी थुनामुक्त भयौं । तर म पत्रकार बन्ने चाहनामा कैद भए । 

 

एसएलसीको रिजल्ट आयो । म गान्धी डिभिजनभन्दा माथिल्लो श्रेणी अर्थात दोस्रो श्रेणीमा पास भए । काठमाडौं पढ्ने भए । घरको स्वीकृति पनि पाएँ । भैरहवाबाट मेरो नयाँ मुकाम भयो काठमाडौं ।

 

काठमाडौं आएँ । कुपण्डोलमा मेरो बालसखा शुसिल सिंह आफ्नो बुवासंग बस्थ्यो । उसको मद्घतबाट डेराको ब्यवस्था पनि भयो । 

 

रत्नराज्यमा पत्रकारिताको पढाई शुरु गरें । पढ्ने अनि पत्रकारिता पनि गर्ने । सँगै पढने विराटनगरको साथी शेखर रेग्मीको सिफारिसमा मैले काठमाडौंस्थित संवाददातामा मौखिक नियुक्ति पाएँ । 

 

विराटनगरबाट निस्कन्थ्यो, पुष्पान्जली साप्ताहिक । काठमाडौंबाट समाचारहरु पठाउन थाले । चार महिनाजति समाचार पठाएँ, एक सुको दिएनन प्रकाशक तथा सम्पादकले । बोहनी नै खराब भयो । मौखिक नियुक्ति पाएको जागिरबाट मैले मौखिक राजीनामा दिएँ । 

 

पढाईमा ध्यान दिन थाले । परीक्षा नजिक आउँदैथियो, आईए पहिलो बर्षको । परीक्षा दिइयो । पास पनि भइयो । दोस्रो बर्षको पढाई शुरु भईसकेको थिएन । म भैरहवा घर गएँ । 

 

भैरहवामा मसँगै भानु स्कुलमा पढेको साथी हो, गोपाल रेग्मी । मेरो मिल्ने साथी । उसँग पढाईको कुरा भयो । पत्रकारिताको कुरा भयो । राम्रो पत्रकारसँग बसेर पत्रकारिता सिक्न मन लागेको बताएँ । उसले भन्यो, ‘तँ के चिन्ता गर्छस यार, मेरो मामा नै हुनुहुन्छ नी ।’

 

‘को मामा बे ?’ मैले सोधे ।

 

उसले भन्यो, ‘किशोर नेपाल ।’

 

मैले नाम सुनेको थिए । घरमा बुवा र उहाँका साथीहरुले नाम लिएको सम्झना धमिलो थियो । उहाँलाई चिनेको थिइन । पढेको थिइन ।

 

गोपालको सिफारिसमा किशोर दाईसंग बत्तिसपुतलीस्थित उहाँको घरमा भेट्न पुगे । भेट पाइयो । कुराकानी भयो । 

 

‘ल भोलिदेखि अफिस आइज’ उहाँले भन्नुभयो ।

 

पुतलीसडकस्थित शंकरदेव कलेज सामुन्ने थियो, स्वतन्त्रता साप्ताहिक । त्यहीबाट पत्रकारिताको मेरो औपचारिक प्रारम्भ भयो । किशोर दाईले सिकाउनु भयो, पत्रकारिताको कखरा।  

 

केही समयपछि स्वतन्त्रता बन्द भयो । किशोर दाईले सुवास ढकाल,संजीवन महर्जन,मुकुन्द बोगटी र मलाई कान्तिपुर पब्लिकेसन्स लिएर जानुभयो । मलाई कान्तिपुर दैनिकको लुम्बिनी अंचल संवाददाताको रुपमा भैरहवा खटाउनुभयो । पब्लिकेसन्सले साप्ताहिक निकाल्ने भएपछि काठमाडौं बोलाउनुभयो ।

 

किशोर दाईले त्यसपछि विभिन्न मिडियामा विचरण गर्नुभयो । म भने साप्ताहिकमै रहें । फेरि एकपटक दाईसँग नेपाल साप्ताहिकमा काम गर्ने मौका मिल्यो । यसपटक दाईसंग विशेष गरी राजनीतिक र सामाजिक मुद्घाहरुमा लेख्न सिक्ने प्रयास गरें ।
 

२५ बर्ष भएछ । लेखक, पत्रकार र मेरा गुरु किशोरदाईसँग पत्रकारिताको कलम समात्न सिकेको । 

 

कलम समात्न सिकें दाई । कलम चलाउन पनि सिकें दाई । साच्चिकैं राम्रो लेख्न अझै सकेको छैन । प्रयास जारी छ, दाई । त्यो दिन पनि आउला । म गुरु दक्षिणा चढाउँला ।   

 

(कुराकानीमा आधारित)
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार