त्यो बेलाको पत्रकारिता...
हेलो सर ! हेलो सर ! मेरो फर्म लिनु त भन्दै झ्यालको कापवाट आईए पढ्नको लागि आफ्नो फर्म रत्नराज्य कलेजमा बुझाउंदै थिए । होचो कद भएको कारण त्यो लाईनको भिडमा म हराईरहेको थिए । क्याम्पसको विद्यार्थी भर्नाको काउन्टरमा बसेको व्यक्तिले मेरो फर्म हेरे र भने– ओ भाई तपाईले त ऐच्छिक विषयमा दुईवटा मात्र बिषय लेख्नु भएको रहेछ । अर्को के पढ्ने हो त्यो भर्नु त ? अर्को कुन बिषय टिक लगाउने र के पढ्ने । रनभुल्ल हुँदै सोधे के भरौं त ? त्यहाँ हेर्नु न । अर्को अप्सनमा हिसाव, इतिहास, पत्रकारिता आदी बिषय थियो । अंग्रेजी र पोल्टिकल साईन्स भरिसकेको थिए । हिसाव भन्ने बित्तिकै पिसाव आउने भएर होला यो पहिलो च्वाईसमा कहिल्यै पर्दै परेन, इतिहास ठिकै लागेको थियो यसो सोच्दा सोच्दै उसले पत्रकारितामा टिक लगाउनु न भनिहाल्यो । सुन्दा नौलो बिषय पनि लाग्यो । यसमा के पढ्नु पर्छ भनेर मैले सोधे ? उसले पत्रपत्रिकाको बारेमा पढ्ने हो भने । यसो सोचे यो चाहिँ केही अलि सजिलो छ जस्तो लाग्यो र त्यसैमा चिन्ह लगाउन लगाए ।
फर्म भरेको केही दिनपछि पाईन्टको पछिल्लो गोजीमा एउटा कपिलाई फोल्ड गरेर क्याम्पस पढ्न गइयो । एउटा क्लास पढ्यो अनि अर्को बिषय पढ्न क्लास परिवर्तन गरिरहनु पर्ने । एक किसिमले झण्झटिलो भएपनि नयाँ साथीहरु फेरी फेरी भेटिरहने हुनाले रमाइलो पनि हुन्थ्यो । एवं रितले केही दिन पढेपछि पत्रकारिता भनेको पत्रिका पढ्ने बिषय मात्र होइन रहेछ, यो त पत्रिकामा समाचार लेख्ने भन्ने पो रहेछ भन्ने कुराको भेउ पाउन थाले ।
पत्रकारिता पढेर मात्र हुँदैन यसो पत्रिकातिर पनि लेख्नु पर्यो भन्ने सोचाई आयो । त्यो बेला पत्रिकाहरुको अलग्गै क्रेज थियो । राष्ट्रिय रुपमा प्रकाशन हुने गोरखापत्र त भईहाल्यो । मिसन पत्रकारिताको रुपमा रहेका नयाँ सन्देश, देशान्तर, विमर्श, सुरुची, जन–स्वतन्त्रता, दृष्टि लगायत धेरै पत्रिकाहरुको जनआन्दोलनको समयमा निकै चर्चा हुने गरेको थियो । यी पत्रिकाहरुमा लेखेका समाचारहरुले सत्तापक्षको सातो लिने गथ्र्यो । दैनिक पत्रिकामा कान्तिपुर भर्खर प्रकाशनको तयारीमा थियो ।
पत्रिकामा कसरी जाने भन्ने कुराको बाटो खोज्न थाले । डिल्लीबजारमा घर अगाडी बस्ने एक दाई छापाखानामा काम गर्नुहुन्थ्यो । त्यो बेला पत्रिका भर्खर प्रिन्टिङ प्रेसमा प्रवेश गरेको थियो । जब ती दाई लेटर प्रेसमा काम गर्थे र उनले भुमिगत हुँदै धेरै पत्रिकालाई रातदिन नभनेर काम गरेका थिए । उनको सम्पर्कमा त्यो बेलाका नामूद पत्रकारहरु किशोर नेपाल, शिव अधिकारी, हरिहर विरही, बिश्वबन्धु थापा लगायतको आउजाउ हुने गर्थ्यो । उनकै सम्पर्क मार्फत् म किशोर नेपालले त्यो बेला चलाउनु भएको जन–स्वतन्त्रतामा पुगे ।
पत्रिकामा ती दाईले लगेर चिनाउनु त भयो र चिनेकै दिन किशोर दाईले काम गर्छौ भन्नुभयो । शर्त थियो तिम्रो लेखाई कस्तो छ त्यो हेर्छु । उहाँले त्यो भनेपछि झन आपत् । अब कसरी लेख्ने, के बिषयमा लेख्ने, कसकसलाई भेटेर लेख्ने, कहाँ जाने, कसरी आफ्नो बारेमा बताउने लगायत धेरै प्रश्नहरु डरको रुपमा आयो । यही प्रश्नले सताउँदै लगेपछि एक साता लगाएर एउटा सामान्य फिचर स्टोरी तयार भयो । कागजमा लेखेर लगेको त्यो स्टोरीको शिर्षक हेरेपछि किशोर दाईले यसरी लेख्नु भनेर त्योबेला छापाखानावाट उब्रेको कागज दिँदै पूर्नलेखन गर्न लगाउनु भयो । एवं रितले मेरो पुनः लेखन गर्नु पर्ने समाचारको संख्या कम हुँदै त गयो तर किशोर दाईलाई चित्त बुझ्ने किसिमको लेखन कहिल्यै गर्न सकिन । मानौं म मझौला किसिमको पत्रकार भए ।
बरिष्ठ पत्रकारहरुको मदिरा प्रेम त्यो बेला धेरै हुने गथ्र्यो । कतिपय बरिष्ठ पत्रकारहरु मदिराको हल्का नशामा राम्रो आर्टिकल लेख्ने गर्नुहुन्थ्यो । बिहिवार जन–स्वतन्त्रता बजारमा आउने हुनाले बुधवारको रातभर पत्रिकाको काम हुन्थ्यो । एकतिर टाईप सेटिङ चौधरी कम्प्युटरमा प्रिन्ट, पेस्टरले अफिसमा टाँसेर कालिमाटीमा रहेको प्रेसमा छपाई । एकपटक पत्रिका प्रेसमा पठाउने अन्तिम दिनको राती सबैजना समाचारको तयारी गरिरहेका थिए । त्यत्तिकैमा किशोर नेपाल आउनु भयो । हामी सबै उहाँलाई किशोर दाई भनेर सम्बोधन गर्ने गथ्र्यौ । उहाँ हातमा मदिराको बोतल बोकेर आउनु भएको थियो । ढोका छेउमै म बसेर लेखिरहेको देखेपछि उहाँले भन्न थाल्नु भयो । ए मुकुन्दे के लेख्दैछस् ? मैले स्पोर्टस्को स्टोरी दाई भने । तेरो लेखाई बेजोड भएन बुझिस् । ला यो खाएर लेख्न बस् त कतै तेरो लेखाईमा तिख्खरता आउँछ कि । मैले भने दाई मैले अहिलेसम्म रक्सी खाएको छैन । दाई भन्न थाल्नु भयो– त्यही भएर तेरो लेखाई राम्रो नभएको बुझिस् । लु खा भनेर बोतल अगाडी सार्नु भयो । मैले खान्न भने तर दाईले मेरो मुख खोलेर हल्का हालिदिनु भयो ।
पहिलो पटक रक्सी मुखमा पर्दाको कुरा के गरौं । यसको स्वाद कस्तो हुन्छ । यसलाई कसरी खाने । कसको अगाडी खाने भन्ने मेरो मनमा रहेको सारा द्विभिदालाई किशोर दाईले मुखमा हालिदिनु भएको आधा प्याक बराबरको रक्सीले एकैपटक चिरिदिनु भयो । दाईको कुरा सुनेर बेलाबेलामा रक्सीको नशामा लेख्न कस्सिए पनि किशोर दाई जस्तो हुन भने सकिएन । बरु खाएको सुरमा मिठो मिठो गफहरु भने हान्न सक्ने भईयो ।
पत्रकारितामा मेरो लेखनको विट खेलकुद लगायत सामाजिक विषय नै थियो । त्यो बेलामा खेलकुद विटमा बसेर कलम चलाउने पत्रकारहरुको संख्या निकै कम । खेलकुदमा मात्र कलम चलाएर बाच्न सक्ने वातावरण पत्रकारितामा थिएन । सबै पत्रिकामा खेलकुद लेख्ने त थिए तर शुद्ध रुपमा खेलकुद मात्र लेख्ने भने थिएनन् । यसै क्रममा खेलकुदमा कलम चलाउने म लगायत साथीहरु मुकुन्द दाहाल, सिताराम अग्रहरी, मनोज आचार्य, राजीव, श्रीबिक्रम भण्डारी लगायतका पत्रकारहरु खेलकुद क्षेत्रमा कलम चलाउनेमा पर्थे । नेपाल पत्रकार संघको कार्यालय पुतलीसडकमा थियो भने अधिकांश पत्रिकाहरु पुतलीसडक कै वरिपरि नै थिए । यसै क्रममा हामीले पनि खेलकुद पत्रकारहरुको संघ खोलौ भन्ने कुरा चिया खाँदा आयो । सबैले युवा जोशमा हो हो भन्न थाले । त्यसपछि जन्मियो नेपाल खेलकुद पत्रकार मञ्च । मलाई त्यसमा कोषाध्यक्षमा राखियो, संयोजक बने सिताराम अग्रहरी दाई । अरु साथीहरुले पनि विभिन्न पोष्टमा बसेर काम गर्ने उत्साह निकाले ।
मञ्चको गठन भएपछि के गर्ने गर्ने भन्ने भयो । त्यसपछि हाम्रो समूहले बर्षको सर्वोकृष्ठ पुरुष र महिला खेलाडीलाई नगद सहित सम्मान गर्ने भन्ने निर्णय गर्यो । यो बिषयमा घोषणा सबैले आ–आफ्नो पत्रिकावाट समाचार बनाएर गरे । तर सम्मान गर्ने पैसा भने थिएन । अहिले जस्तो व्यवसायिक सोच नआएको कारण व्यापारीहरुसँग बिज्ञापनको रुपमा लिने भन्दा पनि चन्दा लिने चलन थियो । त्यही क्रममा हामी खेलकुद पत्रकार खेलाडीहरुलाई नगद जम्मा गर्न त्यो बेलामा व्यापारी मोहनगोपाल खेतानको इन्द्रचोकमा रहेको अहिलेको भाषामा भन्दा कर्पारेट अफिसमा गयौं । उहाँ भित्र भएपनि बाहिर घन्टौ कुराउने । बल्ल भेट भयो आज त पैसा छैन भोली आउनु भन्ने । भोली गयो त्यस्तै किसिमले अर्को वहाना बनाउने । एवं रितले एकसाता भन्दा बढी समय गएपछि अति भयो भनेर मागेको भन्दा कम दिने । जति पाए पनि भरथेक होला कि भन्यो अनि अर्को व्यापारी खोज्ने । यस्तै गरेर बर्षको सर्वोकृष्ठ खेलाडीको अवार्डलाई शुरु गरियो ।
अहिले खेलकुद पत्रकार मञ्चमा धेरै सक्रिय खेलकुद पत्रकार भाईहरु आए । व्यापारिक क्षेत्र पनि खेलकुदको क्षेत्रमा आकर्षित हुन थाले । पुरस्कारको विधामा पनि विविधता आउन थाल्यो । पुरस्कृत हुनेले राम्रै पुरस्कार पाउन थाले । जसको कारण अहिले यो नेपाली खेलकुद क्षेत्रको सर्वाधिक सम्मानित पुरस्कार समेत भएको छ ।
प्रतिकृया दिनुहोस