अमेरिकामा दशैँ कुन दिन मान्ने भन्ने विवाद कायमै

काठमाडौं। अमेरिका कुन दिन चाड पर्व मनाउने भन्ने विवाद छ। अमेरिकाकै तिथि अनुसार जाने कि नेपालमा मनाएको बेलालाई मान्ने भन्ने बहस छ। यस वर्ष पनि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले अमेरिकाको टेक्ससमा अक्टोबर १का दिन ११ बजेर ३३ मिनेटमा टिकाको साइत निकालेको छ।
अमेरिका भित्रै पनि तीन वटा समय हुन्छ। त्यसैले विभिन्न राज्य अनुसार टिका साइत फरक फरक छ। नेपालमा टिकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेट जाँदा छ। यस अनुसार पचाङ्ग समितिले निकालेको टिकाका साइत नेपालमा भन्दा अमेरिकामा एक दिन अघि छ। अमेरिकामा रात हुँदा नेपालमा दिन हुने भएकाले पनि कुन समयमा टिकाको साइत छोप्ने भन्ने समस्या छ। नेपालमा परेको टिकाको साइतका बेला अमेरिकामा रात हुन्छ। व्यावहारिकता हेर्दै कयौँले नेपालमा टिकाको कार्य सम्पन्न भइसकेपछि अमेरिकामा बिहान टिका लगाउँछन्।
नेपालमा टिका नलगाई यहाँ टिका लगाउने कि नलगाउने भन्ने विवाद मुख्य हो। कतिपयले नेपालमा मान्यवर भएकाले त्यहाँ लगाएपछि मात्र यहाँको आफ्नो उपयुक्त समयमा टिका लगाउने गर्छन्। टिका पौडेल भन्छन्, "मेरो क्षेत्रको स्कुलमा केही विद्यार्थी अघिल्लो दिन केही विद्यार्थी भोलिपल्ट स्कुल नगएपछि तिम्रो दशैँ कुन दिन हो भनेर सोधेको अनुभव सुनाए। सकेसम्म एकै दिन गर्दा राम्रो हुन्छ," उनले भने।
कुन दिन चाडबाड मनाउने भन्नेबारे टेक्सस ड्यालसको नेपाली मन्दिरमा यसबारेमा केही साता अघि बृहत् बहस भएको थियो। समुदायका कैयौँ अगुवाहरूले मन्दिरमा भेला भई आफ्नो मत राखेका थिए। बहुमत नेपालभन्दा पछि यहाँ चाड पर्व मान्ने पक्षमा गयो। यसबारेमा मतसर्वेक्षण पनि भएको थियो। सर्वेक्षणमा पनि व्यवहारिकता मिलाएर नेपालमा भएपछि भोलिपल्ट चाड पर्व मनाउने भन्ने पक्षमा धेरै भए। त्यसैले पञ्चाङ्ग समितिले तोकेको साइतभन्दा पनि व्यावहारिकतालाई हेरेर भोलिपल्ट बिहान परिवारमा बसेर मान्यवरसँग टिका थाप्ने बढी प्रचलन छ।
पुर्वराज गुरु शेखर पण्डित भन्छन्, "चाड पर्व कुन बेला मनाउने भन्ने आ आफ्नै तर्क होलान् तर, अब एक दिन मनाउने भन्ने पक्षमा धेरै सहमत छन्। मेरो पनि धारणा श्राद्ध र जन्मलाई तिथिका आधारमा हेरिनुपर्ने, गरिनुपर्ने भए पनि चाडबाड भने तिथि नै गणना गरेर मनाउनै पर्छ भन्ने छैन भन्ने हो। यो समाजको आवश्यकता अनुसार मिलाएर गर्न सकिन्छ।"
दशैँमा नेपाल जाने र अमेरिका आउने क्रम पनि बढ्दो छ। कतिपयले दशैँकै बेला पारेर अमेरिकामै बुवा आमालाई ल्याउने गरेका छन्। अमेरिकामा घर र परिवार भएकाले आफ्नो व्यस्तताका कारण पनि नेपाल जान नसक्ने हुँदा बा आमालाई यता डाक्ने गर्छन्। अमेरिकामा ट्राभल सेवा दिँदै आएका केशव लामिछाने भन्छन्, दशैँका बेला नेपाल जाने टिकटको माग बढ्छ। अमेरिकाबाट दोहा, दुबइ, हङकङ लगायतका सहरसम्म पुग्ने टिकट पाउन कठिन नहुने भए पनि दशैँका बेला काठमाण्डूसम्म पुग्ने टिकट पाउन केही कठिन र महँगो पर्ने हुन्छ," उनले भने।
बा आमा यहाँ ल्याउनेहरूको तर्क रहने गरेको छ, दशैँमा टिका लगाउन पनि पाइयो, बा आमालाई घुमाउन/देखाउन पनि सकियो। दशैँ मनाउन नेपाल जानेहरू पनि छन्। बा आमा वा अन्य मान्यवर यता आउन नसक्नेहरू दशैँमा नेपाल जान्छन्। मान्यवरहरू अमेरिका आउँदा आफन्तहरू पनि दशैँकै मौकामा जोडिने गरेको देखिन्छ। बीबीसी
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस