• सोमबार १-१७-२०८१/Monday 04-29-2024
बिश्व

इरानले प्रहार गरेका सबै ड्रोन र क्षेप्यास्त्र नष्ट गरिएको इजरेलको दाबी

इजरेलले आफूमाथि इरानले प्रहार गरेको तीनसयभन्दा बढी क्षेप्यास्त्र र ड्रोनहरूमध्ये ९९ प्रतिशतलाई आकाशमै नष्ट गरिएको दाबी गरेको छ।त्यो इरानले इजरेलमाथि गरेको सबैभन्दा पहिलो प्रत्यक्ष हमला थियो।केही हमला इराक र यमनबाट समेत भएको इजरेली सेनाका प्रवक्ताले जनाएका छन्।

 

त्यस्तो हमलालाई निस्तेज पार्न इजरेललाई कतिपय अन्य देशहरूको सहयोग प्राप्त भएको बताइएको छ। अमेरिकी रक्षामन्त्री लोएड अस्टिनले दर्जनौँ क्षेप्यास्त्र र ड्रोनलाई अमेरिकी सेनाले नष्ट गरिदिएको बताएका छन्।

 

ब्रिटिश लडाकू जेटहरू पनि इजरेलमाथिको इरानी हमला निष्फल पार्न संम्लग्न रहेको र फ्रान्सले पनि इजरेली हवाई क्षेत्रमा निगरानी गर्न सघाउ पुर्‍याएको इजरेली सेनाका एकजना प्रवक्ताले बताएका छन्।

 

इरानको रिभोल्युशनरी गार्डस्‌ले एक विज्ञप्तिमार्फत ती हमलालाई "इजरेली अपराध"को जबाफ बताएको छ।जसमा उसले एप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ।

 

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलले दिने जबाफबारे छलफल गर्न आइतवार 'वार क्याबिनेट'को बैठक राखेका थिए। उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन्। यसअघि इजरेल डिफेन्स फोर्सेस आईडिएफले तेहरानले "अवस्थालाई थप चर्काउन खोजेकाले नतिजा" झेल्नुपर्ने चेतावनी दिएको थियो।बीबीसी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार