• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
स्वास्थ्य

'अल्ट्रासाउन्ड ब्रा' लगाउँदा चाँडै स्तन क्यान्सर पत्ता लाग्न सक्छ

काठमाडौं । पहिरिन मिल्ने अल्ट्राउन्ड उपकरण आफ्नो ब्रा कपमाथि जडान गरिएको कल्पना गर्नुहोस्। तपाईँले एक कप कफी पिइरहँदा त्यसले तपाईँको स्तनमा ट्यूमर छ कि छैन जाँच्न सक्छ।टर्कीका वैज्ञानिक डा कानन दाग्देभराइनले म्यासचूसिट्स इन्स्टिट्यूट अफ टेक्नोलजी (एमआईटी) को मिडिया ल्याबका टोलीहरूसँग मिलेर यो प्रविधि विकास गरेकी हुन्। उनले स्तन क्यान्सरका कारण ज्यान गुमाएकी आफ्नो एक आफन्तको सम्मानमा उक्त उपकरण बनाएकी हुन्। उक्त उपकरणले उच्च जोखिम भएका बिरामीहरूलाई म्यामोग्राम गर्ने उपकरणहरूको बीचमा नियमित अनुगमनको मौका दिन्छ।

 

स्तन क्यान्सर महिलाहरूमा देखा पर्ने सबैभन्दा बढी देखिने खालको क्यान्सर हो। सन् २०२० मा २३ लाख महिलामा उक्त क्यान्सर देखिएको थियो र छ लाख ८५ हजार जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ। महिलाहरूको ज्यान लिने दोस्रो प्रमुख कारण स्तन क्यान्सर हो। अमेरिकन क्यान्सर सोसाइटीले स्तन क्यान्सर प्रारम्भिक र प्राथमिक चरणमा नै पहिचान भएको खण्डमा औसत पाँच वर्ष बाँच्ने सम्भावना ९९ प्रतिशत रहेको जनाएको छ। डा दाग्देभराइनले उक्त उपकरणले जीवित रहने प्रतिशत बढाउन सक्ने बताइन्। हाल ढिलो गरी स्तन क्यान्सर पहिचान गरिएका व्यक्ति जीवित रहने सम्भावना २२ प्रतिशत मात्रै छ।

 

अध्ययनहरूले ट्यूमरहरू नियमित म्यामोग्राम गर्दा बीचको अवधिमा पनि विकासित हुन सक्ने देखाएका छन्। स्तन क्यान्सरको हकमा त्यस्तो बीचको अवधिमा विकास भएका क्यान्सर २० देखि ३० प्रतिशत छन्। एमआईटीको टोलीले ती ट्यूमरहरू नियमित परीक्षणको समयमा पहिचान हुनेभन्दा अझ आक्रामक हुने गरेको बताएको छ। यो उपकरण स्तन क्यान्सरको उच्च जोखिम भएका महिलालाई उपलब्ध गराउन सकिने र यसले दुईवटा म्यामोग्राम वा स्वयं गर्ने परीक्षणको अवधिबीचको समयमा पनि ट्यूमर आएको थाहा पाउन सघाउने भनिएको छ। तर अनुसन्धानकर्ताहरूले “कुनै समस्या देखिए, म्यामोग्राम अझ पनि चाहिने” उल्लेख गरेका छन्।

 

अध्ययनहरूले ढिलो गरी स्तन क्यान्सर पहिचान हुने भएकाले र स्वास्थ्य सेवामा पर्याप्त पहुँच नहुने भएकाले विकासशील देशमा स्तन क्यान्सरका कारण धेरै जनाको मृत्यु हुने गरेको देखाएका छन्। डब्ल्यूएचओको तथ्याङ्कले उच्च आय भएका देशमा स्तन क्यान्सरपछिको पाँच वर्ष जीवित रहने सम्भावना ९० प्रतिशतभन्दा बढी देखाउँछ। तर भारतमा त्यो ६६ प्रतिशत र दक्षिण अफ्रिकामा जम्मा ४० प्रतिशत मात्रै छ। यो उपकरणलाई शरीरका अन्य अङ्ग स्क्यान गर्न पनि प्रयोग गर्न सकिन्छ। डा दाग्देभराइनले पोहोर आफू गर्भवती हुँदा बच्चालाई स्क्यान गर्न त्यसको प्रयोग गरेकी थिइन्। “मेरी आन्टी जम्मा ४९ वर्षमै बित्नुभयो। मर्ने कुरा उहाँको मनमा कतै आएको थिएन। उहाँले त्यस्तो ब्रा लगाएको भए कस्तो हुन्थ्यो होला?” उनी भन्छिन्। बीबीसी

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार