• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
स्वास्थ्य

के चकलेट खाँदा डन्डीफोर आउँछ?

काठमाडौं। लामो समयदेखि चकलेटका कारण वा अन्य गुलियो खानेकुराले (याक्नी) डन्डीफोर आउने बताइँदै आएको छ। तर त्यो नहुन सक्छ। छालामा विविरा वा दाग आउनमा चकलेट कारक भएको भन्ने दोष लगाइन्छ। के त्यसमा सत्यता छ? वा आमाबुवाले आफ्ना सन्तानलाई चकलेट नदिनका लागि मात्रै भन्ने गरेको कुरा हो त्यो? सन् १९६० मा, थुप्रै अध्ययनहरूले चकलेट र डन्डीफोरको सम्बन्धबारे विश्लेषण गरेका छन्।

 

सबैभन्दा ठूलो अध्ययनमा ६५ जना सहभागी थिए र उनीहरूले चकलेट र डन्डीफोरमा कुनै सम्बन्ध भेटेनन्। तर त्यो अध्ययनमा थुप्रै कमजोरी रहेको भन्दै आलोचना पनि भएका छन्। हालैका अध्ययनहरूले खासमा हाम्रो खानपान र डन्डीफोरबीच सम्बन्ध हुन सक्ने सुझाएका छन्। खासगरी प्रशोधित फ्याट, चिनी र दूग्ध सामग्री धेरै हुने पश्चिमा खानेकुराको सम्बन्ध हुने सुझाइएको छ।

 

डन्डीफोर भनेको छालाको त्यस्तो अवस्था हो जहाँ मसिना कपाल उम्रिने 'हेयर फोलिकल्स' तेल र मृत कोषका कारण बन्द हुन हुन्छ र त्यसले दाग बनाउँछ। किशोर वा वयस्क अवस्थामा अलि गम्भीर वा लामो समय देखिने डन्डीफोर भने आनुवंशिक कारणले हुने लन्डनस्थित किङ्स कलेजका छालारोग विज्ञ र क्लिनिकल लेक्चरर बेबे डु-हारपरले बताएकी छन्। तेल उत्पादन गर्ने छालाको सेबासियस ग्ल्यान्ड्स कत्रो हुने भन्ने आनुवंशिक कारणले तय गर्ने उनले बताइन्।

 

पछिल्ला वर्षहरूमा खासगरी वयस्क अवस्थामा महिलामा डन्डीफोर धेरै देखिने गरे पनि त्यसको कुनै एउटै कारण नभएको डु-हारपर बताउँछिन्। तर हाम्रो दैनिक जीवनमा हुने कुनै वातावरणीय कारणले पनि डन्डीफोर आएको हुन सक्ने उनले बताइन्।

 

चकलेटका कारण डन्डीफोर आएको भनेर दोष लगाइएको ६० वर्षपछि पनि मानिसहरू अझै चकलेटकै कारण आएको हो कि भन्ठान्छन्। लफ्ताहले हेरेका १० बिरामीमध्ये करिब ९ जनालाई आफ्नो क्लिनिकमा डन्डीफोर नआओस् भन्नका लागि खानामा के सुधार गरेको छ भनेर सोध्दा धेरैले चकलेट खान छोडेको बताउँछन्।"केही गलत धारणा छन् र थोरै सत्यता पनि छ," उनी भन्छिन्।

 

लफ्ताहका अनुसार मुख्य कारण जेनेटिक भए पनि खानेकुराले पनि सुजन गराउँछ। केही मानिसहरूमा दूधबाट बन्ने सामग्री खाँदा त्यसले पनि डन्डीफोर आउँछ। तर त्यो विरलै हुन्छ वा त्यो खाना नपचेको हुन सक्छ।

 

केही अनुसन्धानकर्ताहरूले चकलेटमा हुने फरक फरक सामग्रीले कस्तो असर गर्छ भनेर पनि अनुसन्धान गर्न कोसिस गरे तर अध्ययनहरू तुलनात्मक रूपमा कम छन् र त्यसकै आधारमा निष्कर्ष निकाल्न गाह्रो हुन्छ। सन् २०११ मा गरिएको एउटा अध्ययनले डार्क चकलेटले गर्ने असरबारे परीक्षण गरेको थियो। उनीहरूले त्यस्तो चिनी कम भएको चकलेट खाँदा पनि डन्डीफोर आएको पाए। तर त्यो अध्ययनमा जम्मा १० जना मात्रै सहभागी थिए।

 

डन्डीफोर र आहार बीचको सम्बन्धको एउटा कारण भनेको खानेकुराको ग्लाइसेमिक इन्डेक्स हो जसले खानेकुराले रगतमा चिनीको मात्रा कति बढाउन सक्छ भन्ने सङ्केत गर्छ।

 

ग्लाइसेमिक इन्डेक्स धेरै हुने फलफूल, पाउरोटी र पास्ता तथा डन्डीफोरका लक्षणहरूबीच सम्बन्ध रहेको थुप्रै अध्ययनहरूले पत्ता लगाएका छन्।  लफ्ताहका अनुसार ग्लाइसेमिक इन्डेक्स धेरै भएको खानेकुराले डन्डीफोरलाई बल्झाउन सक्नुको कारण त्यसले शरीरमा इन्सुलिनको मात्रा ह्वात्तै बढाउनु हो। त्यसले सुजन गराउँछ र छालामा एक प्रकारको पदार्थ उत्पादन गर्छ। त्यस्तो पदार्थले छालाका साना प्वालहरूलाई बन्द गरिदिन्छ र साना बिमिराजस्ता डन्डीफोर छालामा देखापर्छ।

 

थुप्रै जनसङ्ख्या अध्ययनहरूले पनि डन्डीफोर र धेरै चिनी, फ्याट, भएको खानेकुराबीच सम्बन्ध भएको देखाएको छ। यस्तो खालको सबैभन्दा ठूलो अध्ययन सन् २०२० मा प्रकाशित भएको थियो। उक्त अध्ययनमा २४,००० भन्दा धेरै मानिसहरूमा डन्डीफोर आफैँ आएको हो वा खानपानका कारण भनेर तुलना गरिएको थियो। अनुसन्धानकर्ताहरूले पश्चिमा आहारले नै डन्डीफोर आउन भूमिका खेलेको बताए।

 

जनसङ्ख्यासम्बन्धी एउटा अध्ययनले पपुवा न्यू गिनीका किटाभान तटमा बस्ने मानिसहरूमा डन्डीफोर नआएको पत्ता लगायो। अनुसन्धानकर्ताहरूले उनीहरूले खाने खानेकुरामा ग्लाइसेमिक इन्डेक्स कम भएकाले त्यसो भएको हुनसक्ने बताए।

 

"डन्डीफोर छालाको मेटाबोलिक सिन्ड्रोम अर्थात् थुप्रै स्वास्थ्य समस्या एउटै अवस्थामा हुने स्थिति हो," जर्मनीको युनिभर्सिटी अफ अज्नब्रुकका वरिष्ठ अध्यापक बोडो मेल्निकले भने। "मधुमेह र मोटोपनाजस्ता रोगहरू र डन्डीफोरबीच थुप्रै सम्बन्धहरू छन्।"

 

सन् २०१५ को अध्ययनमा वरिष्ठ अध्यापक बोडो मेल्निकले ग्लाइसेमिक इन्डेक्स धेरै हुने प्रशोधित कार्बोहाइड्रेट, दूध, प्रशोधित र ट्रान्स फ्याटले डन्डीफोर निम्ताउने बताएका छन्। धेरै ग्लाइसेमिक इन्डेक्स भएको खानेकुराले सेबासियस फोलिकल्समा " खतरनाक प्रतिक्रिया" जनाउने र त्यसले सिबम धेरै उत्पादन गर्ने बताए।

 

"हाम्रो जीवनशैली मानव शरीरका लागि राम्रो होइन, र शायद डन्डीफोरले आउनुले त्यही दर्शाउँछ," उनले भनिन्। एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले आधुनिक जीवनशैली र धेरै चिनी तथा चिल्लो पदार्थ (फ्याट) हुने पश्चिमा खानेकुराका कारण पनि डन्डीफोर आउने तर्क गर्छन्। तर त्यसमा स्वास्थ्य, प्रतिरोधी क्षमता, खानपान, सुजन, तनाव र वातावरणको अवस्था लगायतको भूमिकाको पनि थप अनुसन्धान आवश्यक रहेको बताइएको छ।

 

त्यसमा तनाव, सङ्क्रमणसँग लड्ने क्षमता, महिनावारी अगाडि हुने होर्मोनल परिवर्तनले पनि हुनसक्ने लन्डनस्थित गाइज एन्ड सेन्ट टोमस अस्पतालका छालारोग विज्ञ जाइनब लफ्ताह बताउँछिन्। उनी ब्रिटिश स्किट फाउन्डेसनकी प्रवक्ता पनि हुन्।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार