• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
विचार

जनतालाई अलपत्र नबनाउँ सरकार

विश्व अहिले कोरोनाको त्रासमा छ । आम मानिसहरुको दैनिकीमा फेरवदल आएको छ । सबै संघसंस्थाहरु बन्द छन । परिक्षाहरु प्रभावित भए । अध्ययन र कामको सिलसिलामा काठमाडौं रहेका लाखौं नागरिक आ– आफ्ना घर लागे । परिस्थीतिले सबैलाई फेरी मेशिनबाट मानव बन्न सिकाएको छ । १८० बढी देशहरुमा फैलिएको कोरोनाले सबैको व्यवहार र समय तालिकालाई फेरबदल गर्दिएको छ । ३ लाख बढीमा सक्रमण फैलिएको छ । १४ हजार बढीको मृत्यु भइसकेको छ । कोरोनाको संक्रमण बढ्न सक्ने अनुमानले आम मानिस माथी त्रास थपेको छ ।


सरकारले सम्यमता अपनाउन अनुरोध गरिरहेको छ । हाम्रा स्वास्थ्य सस्थाहरुको वर्तमान अवस्था र प्रयाप्त उपकरणहरु छैनन् भन्ने समाचारहरुले आम मानिसहरु संक्रमण भईहाले के होला भन्ने त्रासमा बाचेका छन ।  सरसफाईमा ध्यान दिनु र भिडभाडमा नजानु नै सबैभन्दा प्रभावकारी उपाय हो भन्ने सचेतनाका सामग्रीहरु त प्रसस्त छन् तर कतिपय आधारभुत सामग्रीहरु पनि जुटाउन नसक्ने समुदाय पनि छ यहाँ । नाकामा हजारौ नेपालीहरु अल्पत्र अवस्थामा छन । झडप समेत  हुन पुग्यो । ५ दिन अघि देखी स्वदेश फर्कन हिडेका उनीहरु आफ्ना घर पुग्न त पाएन्न । सुरक्षित स्थानमा बस्न पनि पाएका छैनन । कतिपयका साना बालबच्चाहरु भोक-भोकै छन । तिनीहरुलाई सरकार भएको अनुभूति गराउ  । तिनीहरुको बारेमा पनि सोच सरकार । हुने खानेहरुले जसरी पनि आफ्नो व्यवस्था गर्न सक्छन तर हुँदा खाने वर्ग पनि ठूलो छ । उनीहरुलाई राहत हुने काम होस । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस विश्वभर यस्तो अवस्थामा पुग्ला भनेर सायदै कसैले कल्पना गरेको थियो । 

 

यदी चीन सरकार कठोर नबनेको भए कोरोनाको भयावह रुप कस्तो हुन्थ्यो त्यो कल्पना नै गर्ने नसकिने छ । युरोपले गम्भीरतापूर्वक नलिँदा आज इटली कति डरलाग्दो अवस्थामा छ त्यो जगजाहेर छ । अरुलाई परेको कठिन परिस्थीतिबाट नेपालले पनि पाठ सिक्न जरुरी छ । अहिलेसम्म नेपालमा २ जनालाई कोरोना देखिएको र एक जना निको भइसकेको भनिएको छ भने हिजोमात्रै एक युवतीमा कोरोना संक्रमण पुष्टी भएको र उनको टेकुमा उपचार भइरहेको छ । अहिलेसम्म जुन रुपमा कोरोेना भाइरस संक्रमण नेपालमा देखिएको छ । संख्याको रुपमा हेर्दा यो उच्च नहुन सक्ला तर जोखिमका दृष्टीले हामी धेरैं जोखिममा छौं । नेपाल जोखिममा छ यो आम नागरिकले पनि हेक्का राख्नुपर्छ र सरकारले पनि सोहि अनुसार कदम चाल्नुपर्छ ।


सार्वजनिक स्थान, भिडभाड, भेटघाट सबैलाई बन्द गर्न व्यक्तिले पनि साथ र सहयोग गर्नुपर्छ । म एकजना हिड्दैंमा के होला भनेर लापरवाही गर्दा इटलीको जस्तो अवस्था आउन सक्छ त्यसैले बेलैमा सचेत र चनाखो हुनु सबैको लागि हितकर हुन्छ । अमेरिकी सरकारले आफ्ना नागरिकको जीवनमा कठिनाई नहोस भनेर तत्कालका लागि एक खर्ब डलर वितरण गर्न भनेको छ । हामी भने सार्क स्तरमा तदरुकता देखाउने चर्चा मात्रैमा सिमीत हुनु भएन । राष्ट्रिय विपद जोखिम नियन्त्रण समितीलाई सक्रिय बनाउ ।

 

विशाल जनसंख्या भएको भारतमा दैनिक हजारौँ मानिसको परीक्षण गरेर सङ्क्रमित मानिस छुट्याउन भारतलाई सकस परिरहेको छ । छिटो सङ्क्रमित पहिचान गर्नु र समुदायमा रोग फैलिनबाट रोक्न छिमेकी देश भारतलाई निकै कठिन भईरहेको छ । चीनले कठोर बनेर कोरोना संक्रमणलाई न्यून बनाइसक्यो । उनीहरुको दैनिकी बिस्तारै सामान्यतर्फ फर्केने क्रममा छ भने नेपाल, भारत, पाकिस्तानजस्ता देशहरुमा बिस्तारै यो फैलिदै गएको प्रक्षेपण गरेको छ, विश्व स्वास्थ्य संगठनले ।

 

सरकारले अत्यावश्यक बाहेकका सेवा चैत २१ सम्मका लागि बन्द गरेको छ । यसले दैनिकी चलाईरहेका मानिसहरुको दैनिकीमा असहजता ल्याएको छ । केहि मनकारीहरुले आफ्ना घरमा भाडामा बस्दै आएकाहरुलाई घर भाडा नलिने भनेका छन । यस्तो जटिल परिस्थीतिमा यस्ता मनकारीहरुको संख्या बढेको खण्डमा जेनतेन गुजारा चलाउने परिवारमा चुलो बल्न सहज हुने थियो । राहत कोषलाई सरकारले प्रभावकारी बनाउन ध्यान दिन जरुरी छ । यस्तै दु.ख पर्दा हो सरकारले आम–जनताको समस्यामा साथ दिने यसतर्फ सरकारको ध्यान पुगोस । 

 

व्यवसाय गर्नेहरुको लगानी पनि क्वारेन्टाइनमा छ । कतिपय उद्यमीहरुले व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेको बताउँदै आएका छन । ऋणको किस्ता कसरी तिर्ने यसमा पनि सरकारको ध्यान जान जरुरी छ । सरकार भनेको अभिवावक हो । सिथील अर्थतन्त्रलाई कसरी बौरिने बनाउने व्यवसायीको चिन्ता थपिएको छ । यातायात, पर्यटनले अझ धेरैं क्षति बेहोरेको छ । यसतर्फ पनि सरकारले बिस्तारै केहि नयाँ व्यवस्था गरोस । 

 

लगानीकर्ताहरुको कुरा पनि सरकारले सुनोस् । बिस्तारै माथी उठ्दै गरेको देशको अर्थतन्त्रमा कोरोनाको प्रभाव डरलाग्दो रुपमा चुलिएको छ । राष्ट्र बैंकले सरकारसँग छलफल गरेरै सहयोगका लागि अघि बढ्नेमा कतिपय आशावादी छन । कोरोनाको प्रभाव विश्वकै अर्थतन्त्रमा परेको छ । जसरी सरकारले कालोबजारी गर्नेहरु माथी कडा रुपमा उभिएको छ त्यसरी नै आम–जनताको दैनिकीसँग जोडिएका सवालमा खरो रुपमा प्रस्तुत हुनुपर्छ । 

 

केहि जिल्लाहरुमा बिरामीलाई भर्ना नै नलिएको भन्ने समाचारहरु बाहिर आईरहेका छन । नवलपरासी, रुपन्देहीमा रहेका केहि अस्पतालहरुले भर्ना लिन नमानेपछि मुख्यमन्त्रीको निर्देशन पछि अस्पतालले भर्ना लिएको भन्ने सुनिदैंछ, यदि त्यस्तो हो भने सरकारले तुरुन्तै कारवाही गरोस ।

 

कोरोनाले विश्व आतंकीत छ । नेपालमा पनि यसको असर देखिएको छ । के कोरोना उपचारका लागि सरकारी अस्पतालमा मात्रै आम बिरामी भर पर्नु पर्ने हो ? निजी अस्पतालहरुलाई पनि उपचारका लागि कृयाशिल बनाउनुपर्छ । संक्रमणको दर बढ्न थाल्यो भने के सरकारी अस्पतालहरुले मात्रै यसको भार थाम्न सक्लान ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार