• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
विचार

चुनौती र सार्थकता

प्रत्येक वर्ष मार्च ८ का दिन अन्तर्राष्ट्रिय नारी दिवस (International Womens Day  WID) विश्वव्यापी रुपमा बिभिन्न कार्यक्रमहरुका साथ मनाइने प्रचलन वर्षौ देखि चलिआएको छ । यसै सन्दर्भमा नेपालमा पनि सभा–सम्मेलन र्‍याली–प्रदर्शन आदी गरि, नारीदिवस मनाइने गरिन्छ । यस दिन संसारभरिनै जुनसुकै मुलुक, परिवेश वा क्षेत्रमा संलग्न, राजनीतिक, आर्थिक, सांस्कृतिक तथा जात–जाती अथवा भेषभुषामा आवद्ध, विविध भाषा–भाषी, शिक्षित वा शिक्षाबाट बन्चित सबै महिलाहरुलाई एक सुत्रमा बाध्ने गर्छ । खासगरेर, यस दिनले, महिला बिरुद्ध भएका हिंसाको प्रतिकार गर्दै उनीहरुले समाज र राष्ट्रमा पुर्‍याएको योगदान चिनाउने र गौरवान्वित हुने मौका दिने उदेश्य लिएको छ । 

 

यसरी विश्वभरिका, नारीहरुलाई आफु बिरुद्ध हुने बिविध प्रकारका हिंसा, भेदभाव, शोषणका विरुद्ध एकजुट भई आवाज उठाउदै, समाज, राष्ट्र र सिंगो विश्वमा नै, प्रत्येक क्षेत्रमा आफ्नो योगदान र बराबरीको हकदावी गर्न सचेत सुदृढ हुने प्रक्रियाको, प्रारम्भिक चरणहरुको कुरा गर्दा हामी झन्डै ११५, १६ वर्ष पछाडी तथा इस्वी सन् १९०८ तिर पुग्छौ ।

 

इस्वी सन् १९०८ मा अमेरिकाको न्युयोर्क शहरमा एउटा गार्मेन्ट कारखानामा, महिला कामदारहरुले, काम गर्ने वातावरण जटिल, प्रदुषित र प्रतिकुल रहेको भन्दै, प्रतिकारमा उत्रेका थिए । यसरी, त्यस कारखानाबाट शुरु भएको बिरोध हड्तालमा, अन्य क्षेत्रमा काम गर्ने महिला कामदारहरुले पनि समर्थन जनाउदै, त्यसमा शामेल हुनपुगेका थिए । यसै सन्दर्भमा, १९०९ फेब्रुअरी २८ तारिखका दिनलाई, नेशनल वोमन डे (National Women’s  Day) भनेर सबै महिला कामदारहरुले, आ-आफ्नो एक वद्धव्ता जाहेर गरेका थिए । यसको लहर अमेरिकाबाट शुरु भएर युरोपका विभिन्न मुलुकहरुलाई प्रभावित पार्दै, कतिपय क्षेत्रमा कार्यरत महिला कामदारहरुको दृढ समर्थन र सामुहिक साझेदारीमा अघि बढ्दै गयो।

 

यसै परिप्रेक्षमा महिला अधिकारको वकालतमा समर्पित तथा महिलाहरुका सामाजिक–स्वतन्त्रताका लागि स्थापित कार्यालयकी नेत्री,  जर्मनीकी  क्लाराजेटकिन (Clara Zetkin)   सक्रिय रुपमा यस मुद्दामा, पूर्णरुपले लागि पर्नु भयो । उहाँले २६ अगस्ट, १९१० मा डेनमार्कको कोपेन्हेगेंनमा भैरहेको महिलाहरुको एउटा अन्तराष्ट्रिय सभामा (International Conference) विश्वका बिभिन्न देश,परिवेश र क्षेत्रमा, सामाजिक, आर्थिक, राजनीतिक संघर्ष गरिरहेका तथा उत्पीडन सहन वाध्य भएका महिलाहरुको दुख बिसाउने, अनि त्यसको समाधान तर्फ उन्मुख गर्ने, साथै उनीहरुका योगदानलाई सह्राना गर्ने साझा माध्यमको खाँचो रहेको तथ्य अघि सार्नु भएको थियो । यहि अन्तर्गत, अन्तराष्ट्रिय महिला दिवसको अवधारणा बिकसित हुँदै गएको देखिन्छ । त्यसैले पनि, क्लारा जेटकिनलाइ अन्तराष्ट्रिय नारी दिन वा दिवसको सस्थापक (Founder of International Day) भनेर उल्लेख गरिएको छ ।

 

त्यसपछिका वर्षहरुमा, अमेरिका र युरोपका कतिपय मुलुकहरुमा यो विषयवस्तु एउटा महिलावादी र फेमिनिष्ट  (Feminist Movement ) आन्दोलन तथा सामाजिक अभियानको रुपमा बराबर उठ्दै आएको पाइन्छ  ईस्वी सन् १९६७ र ६८ तीर यो मुद्दा, उत्तरी अमेरिका र युरोपमा,  विषयगत रुपमानै  प्रत्यक क्षेत्र र तप्कामा तथा सिंगो नागरिक समाजकै, जल्दो वल्दो सरोकारको विषय हुनपुग्यो ।  प्रत्येक क्षेत्रमा, पुरुष र नारीको बराबरीको हक दाबि गर्दै समान आर्थिक अवसर, समान ज्याला,समान कानुनी अधिकार र महिला बिरुद्ध हुने सबै प्रकारका हिंशाको अन्त्यको जोडदार मांग सहित बृहत अभियान र आन्दोलनमा परिणत हुनपुग्यो ।

 

यसरी यो सरोकार र अभियानको लहर शक्तिशाली रुपमा अघि बढ्दै जाँदा राष्ट्रसंघ र युनाइटेड नेसन्स  (General Assembly) पनि यसतर्फ आफ्नो सजगता, र संवेदनशिलताको प्रदर्शन गर्दै,इस्वी सन्   १९७५ लाई नारीवर्षको रुपमा स्थापित गर्ने निर्णय गर्‍यो । त्यसपछि, इस्वीसन् १९७७ मा  युनाईटेड नेसन्स साधारण सभा (United Nations) ले विश्व भरिका  नारीहरुको हकहीत बोध हुने गरि प्रत्यक वर्ष मार्च ८ लाइ विशेष रुपमा अन्तराष्ट्रिय नारी दिन दिवस भनि निर्धारित गर्दै, एउटा घोषणा सहित आफ्नो प्रतिवद्धता (Resolutions) पारित गर्‍यो ।

 

यस दिनले संसारका प्राय सबै जसो मुलुकहरुमा, महिलाहरुलाई, समानताको हक तथा अधिकारका लागि संयुक्त आवाज उठाउने, महिला विरुद्ध सबै प्रकारका  हिंसा, थिचो–मीचो बिरुद्ध डटेर प्रतिकारमा अघि बढ्ने प्रेरणा प्रदान गर्ने उदेश्य लिएको छ । साथै, पारिवारीक–सामाजिक, आर्थिक,राजनैतिक सबै क्षेत्रमानै महिलाको सक्रिय भूमिका तथा योगदान माथि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्न तथा सचेतना जगाउन, बिभिन्न प्रकारको कार्यक्रम सभा, सम्मेलन, र्‍याली–छलफल, भाषण आदि कार्यहरु सरकारी, गैर सरकारी संघ–सस्था, नागरिक समाज, जन साधारण महिला–पुरुष तथा सम्बन्धित निकायहरुबाट सम्पन्न गरिदै आउने क्रमले, बिगतका वर्षहरुमा विश्वका प्रायजसो मुलुकहरुमा निरन्तरता पाइनै रहेको छ ।

 

यसरी प्रत्येक वर्ष मनाइने अन्तराष्ट्रिय नारी दिवसका लागि, सान्दर्भिक विषय (Theme) तोकिने क्रममा यस वर्षका (International Womens Day 2024) लागि (Invest in Women Accelerate Progress ) ‘महिलामा लगानी बढाउनाले नै प्रगतिमा तिब्रता आउँछ’ भन्ने रहेको छ ।

वास्तवमा यसले समावेशीतर्फ उत्प्रेरित (Inspire  Inclusion) गर्छ । महिलालाई सबै क्षेत्रमा संलग्न हुने अथवा काम वा योगदान गर्ने मौका उपलव्ध गर्न गराउन सकेमात्र सामाजिक आर्थिक प्रगति सम्भव हुने कुरा निर्विवाद जस्तै देखिन्छ । समाजमा भेदभाव रहित भएर , प्रत्येक क्षेत्रमा महिलाहरुको सहभागिता बढाउन सके, पक्कै पनि अझ राम्रो समाज र संसारको ( Better world ) परिकल्पना गर्न, गराउन सकिन्छ । त्यसैगरी, महिलाहरुले पनि आफ्नो सहभागिता सबै क्षेत्रमा बराबरी स्तरको मौका पाएमा, निश्चित रुपमा उनीहरुलाई पनि सशक्तिकरणको (Empowerment) अनुभूति हुनसक्छ । 

 

अन्त्यमा, यस दिन मार्च ८ ले, कुनै पनि समाज चाहे त्यो पितृसतात्मक होस वा अन्य, जे भएता पनि, महिलाहरुले भोग्दै आएका उत्पीडन र भेदभावलाई अन्त्य गरि, प्रत्यक क्षेत्रमा समानताको बोध गराउँदै भेदभाव रहित नागरिक समाज, राष्ट्र र विश्वको परिकल्पना गरेको देखिन्छ ।  तर यथार्थमा,  हाम्रा स–साना बालिका, हाम्रा छात्रा, युवा तथा विविध प्रकारका दुरव्यवहार र शोषणमा परेका महिलाहरुको उत्पीडनको गाथा र व्यथा अझै किन घर–परिवार, काम गर्ने ठाउँ, स्कूल, बाटो–घाटो सर्वत्र व्याप्त छ ? त्यसैले, के यो परिकल्पना मै अझ वर्षौ सिमित रहन्छ ? यसले, महिला  हिंसा र शोषण–रहित, समता–मुलक मानव–समाज स्थापितको लक्ष्य कहिले सम्ममा प्राप्त गर्न सक्ला ? यस्ता प्रश्नहरुको वोइरोले कुनै पनि संवेदनशील मान्छेको हृदयलाइ ठुलो पीडा बोधका साथै आन्दोलित हुन वाध्य बनाउँछ । 


यसरी, गम्भीर रुपमा प्रत्येक सचेत नागरिक–समाज राष्ट्र तथा सिंगो विश्वलाई नै चुनौती दिरहेको स्थितीमा,महिला बिरुद्ध भईरहेका जघन्य अपराधलाइ जरै देखि उखेल्नका लागि,सरकारी–गैरसरकारी निकायहरु मात्र नभएर सम्पूर्ण नागरिक समाज, प्रत्यक व्यक्तिको संवेदनशीलता र भूमिका, अनिवार्य हुन्छ भन्ने कुरा अविस्मरणीय छ । त्यसमाथि, सम्बन्धित निकायहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय विधी बिधान, एन कानून सबै सरोकारका संयन्त्रहरु यस्ता अपराधका विरुद्ध प्रभावकारी रुपमा प्रयोग हुनुपर्ने आजको आवश्यकता देखिन्छ । त्यसकारण, बालिका तथा महिलाहरु बिरुद्ध घटित अपराध नियन्त्रण गर्दै  सबैको एकवद्ध्ता र प्रतिकारका साथै अपराधीलाई कानूनको दायरामा ल्याएर दण्डित गर्नु तथा यस्ता अपराधलाइ निर्मुल गर्नसके मात्र, नारीहरु र नारी दिवसका उदेश्य प्रति, सम्मान गर्ने माध्यम हुनसक्छ कि ? 


नारी–दिवसको अन्तरनिहीत उदेश्य र सन्देशको सारतत्व, वर्षैभरि, सधैभरि, भय रहित शोषण रहित, समानताको अधिकार प्राप्त सम्पूर्ण नारीहरुका लागि सम्मान–मुलक समाज र विश्व तर्फ दिशा निर्दिष्ट गरेको तथ्य यहाँ स्पष्ट र स्मरणीय  हुन आउँछ । तर,  यस उदेश्य र सन्देशको सार्थकताका नजिक, त्यतिबेला मात्र पुग्न सकिन्छ जब महिलाहरुका विपरीत हुने कुनै पनि प्रकारको हिंसा वा अपराध समाजमा पूर्णरुपले नियन्त्रण हुनपुग्छ । उनीहरुका लागि, शोषण रहित,समता मुलक समाज पूर्णरुपले स्थापित भएको अनुभूति सर्वव्यापी हुनपुग्छ । शान्ति स्थापित नभई बिकास सम्भव नहुने यथार्थ जस्तै महिला बिरुद्ध हुने हिंसा निर्मुल नभएसम्म, महिला सशक्तिकरण सम्भव हुँदैन ।

 

नारी बिरुद्ध हुने अपराध मानव समाजबाट उखेलेर फाल्न नसेकसम्म नारी–दिवसको सार्थकता र उपलव्धिको औचित्य कम हुनजाने स्वयात अनुभूति हुन्छ । महिला बिरुद्ध हुने हिंसाको रोक–थामका लागि आवाज उठाएर,प्रतिकारमा उत्रेको शताव्दी बितिसक्दा पनि, मानवसमाज यस्ता हिंसाबाट पूर्ण रुपले उन्मुक्ति पाउन नसक्नु चिन्ताको विषय हो । समग्रमा, प्रत्येक बर्ष मार्च ८ मा संसारभर मनाईने नारीदिवसले महिलाहरुमा, शोषण र हिंसा बिरुद्ध आवाज बुलन्द गर्ने शक्ति तथा आफ्नो सार्मथ्यको पहिचान गर्ने जोस जाँगर र उर्जा प्रदान गर्ने गर्छ भन्दा अतिसयोक्ति नहोला । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार