तपाईँ छुट्नु भयो ! नलुदाइ
भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले धेरैका घरबार मात्र बगाएन, मेरा जीवनका पनि केही महत्त्वपूर्ण हिस्साहरू सधैँका लागि खोसेर लग्यो । त्यो दिनदेखि यताको समय एउटा कठिन यथार्थसँग जुध्दै बितिरहेको छ । यही बाढीले हाम्रा आफ्ना धेरै मान्छेहरूलाई हामीबाट टाढा बनायो, घरबारविहीन बनायो । त्यही शोकको भेलबीच, मेरो मानसपटलमा बारम्बार आइरहने एउटा नाम हो, नलु दाइ अर्थात् नलप्रसाद तिमल्सिना ।
बालुवामा टेकेका पाइला मेटिँदै गएझैँ, जीवनको यात्रामा यहाँसम्म आइपुग्दा बिस्तारै धेरै कुराहरू छुट्दै जाने रहेछन् । जस्तो, बाल्यकाल छुट्दो रहेछ, गाउँमा गोठालो जाँदाका कलिला दिनहरू र आँगनको माटोमा खेल्दै बिताएका अनगिन्ती क्षणहरू धमिलिँदै जाँदारहेछन् । बाल्यकाल मात्र कहाँ हो र, सपना र रहरहरूले भरिएको किशोरवय पनि छुट्दो रहेछ । आँखा अगाडिकै पर्दाबाट हटेझैँ गाउँकै माटोमा हुर्किएका सुनौला दिनहरू पनि स्मृतिका पानामा सीमित हुँदारहेछन् । यी सबैसँगै गाउँ छुट्दो रहेछ । गोठको गोबर सोहोरेको, उकालो-ओरालो गरेको, चौतारो र मझेरीको याद बोकेको पुरानो माटोको घर छुट्दो रहेछ । खेत, बारी, पाखा, पखेरा, वन, जङ्गलहरू, जहाँ गाईवस्तु चराउँदै र घाँस-दाउरा गर्दै पाइला नटेकेको कुनै ठाउँ थिएन, ती सबै बिस्तारै छुट्दा रहेछन् । देब्रेतिर कल्छे खोला र दाहिनेतिर चोगते खोलाका बीचमा लमतन्न परेको डाँडो, जसको माथिल्लो भागलाई बेलडाँडा र तल्लो भागलाई अचाने भनिन्छ । हाम्रो घर हाल सूर्यगढी गाउँपालिका वडा नं ४ (साविक हल्देकलिका गाविस, वडा नं ९) को बेलडाँडामा पर्छ भने हाम्रो घरभन्दा अलिकति तल अचानेमा थियो नलु दाइको घर । गाउँभरिमै तिमल्सिनाहरूको एउटै घर मात्रै थियो, ठाकुर ठूलोबाका दुई छोराहरू, जेठो अच्युत दाइ र कान्छो नलु दाइ ।
हुन त अपनत्व महसुस गर्न एउटै आमाको सन्तान हुनुपर्दैन रहेछ, यो कुरा मैले नलु दाइसँगको सम्बन्धमा गहिरो गरी महसुस गरेको छु । हाम्रो घरभन्दा तल उहाँको घर भए पनि, मन र आत्मीयतामा भने हामी सधैँ नजिक थियौँ । त्यो बेला बेलडाँडामा स्कुल थिएन । ढाँडेस्थित जनजागृत प्राथमिक विद्यालयमा कक्षा १ पढ्न जाँदा घरबाट करिब ३० मिनेटको बाटो हिँड्नुपर्थ्यो र बीचमा कल्छे खोला तर्न पर्थ्यो । बेलडाँडाबाट ढाँडे जाने दुईवटा बाटा थिए, माथिल्लो बाटो झाडी र भिरको कारण बाघको डर हुने हुनाले हमी प्रायः तल्लो बाटो अचाने झरेर कल्छे तर्दै ढाँडे पुग्थ्यौँ ।
पाँच वर्षको हुँदा दाइहरू हरिशरण लम्साल र केशव लम्सालले मलाई बोकेर ढाँडे स्कुल पुर्यायउनुभयो र कक्षा एकमा नाम लेखाइदिनुभयो । पाँच वर्षको उमेर, आधा घण्टाको बाटो, त्यसमाथि भिर र पखेरा ! कहिले कहाँ लडेर कोतरिन्थ्यो त कहिले कता घाउ लाग्थ्यो । नलु दाइ पनि ढाँडे नै पढ्नुहुन्थ्यो, मलाई धेरै पटक बोकेर कल्छे तार्नुभएको र स्कुलबाट बोकेर ल्याउनुभएको सम्झना अझै ताजा छ । तपाईँसँग जोडिएका बाल्यकालका सम्झनाहरू अनगिन्ती छन् । ढाँडे स्कुलबाट फर्कँदा अम्बा टिपेर खुवाउने, इमली वा पाकेको बेल फुटाएर खुवाउने गर्नुहुन्थ्यो। तपाईँको घरमा कन्तरको बोट थियो, रुखकटर र भुइँकटहर फल्थ्यो मान्छेहरूलाई बाँडेर खाए पुण्य हुन्छू भन्ने मानवीय सोच थियो परिवारमा । गाउँमा साबुनको खासै चलन नभएको बेला हामी नुहाउन र कपडा धुन रिठ्ठा नै प्रयोग गर्दथ्यौँ । नलु दाइको घरपछाडि रिठ्ठाको बोट थियो, त्यहाँ धेरै पटक रिठ्ठा फुटाएर नुहाएका छौँ र गुच्चा खेलेका छौँ ।
बाल्यकालका ती गोरेटोहरू मात्र होइन, गाउँको माटोमा पसिना बगाएका उहाँका कर्महरू पनि मेरा लागि अमूल्य स्मृति हुन् । तादी खोलाबाट बालुवा बोकेर चोगते खोलाको हिरामणी टारमा सिँचाइ लैजाने कुलो बनाउनलाई बालुवा बेच्ने बेलाका घटनाहरू अझै मनमा ताजै छन् । स्कुलबाट घर फर्कँदा खाजा खाएको त्यो दिनको याद उत्तिकै छ । रातमाटेको स्कुलबाट उकालो हिँड्दा थाकेर पुग्दा होस् वा बन्चरे खेतबाट असारे धानको पराल बिसाउने चौतारीमा पानी वा मही खाने घर पनि उहाँकै थियो।
उहाँहरूले कल्छे खोलाको भुत्यारहमा मुहान बनाएर निजी कुलो खनेर पखेराबारीलाई खेत मात्रै बनाउनु भएन, तरकारी खेती गरेर गाउँमै कृषिको नयाँ आधार बसाउनुभयो । आज उत्पादनका कुरा गर्नेहरूले गर्ने गफ उहाँले ३० वर्ष पहिल्यै व्यावहारिक रूपमा गरेर देखाउनु भएको थियो । त्यतिबेला गाउँमा आलु रोप्ने चलन थिएन। आलु लिन दसैँमा रसुवाको यार्सा घाङमार जाने गाउँका मान्छेहरूलाई आफ्नै गाउँमा आलु, काउली, बन्दा फलाएर देखाउनु उत्पादन मात्र होइन, ठूलो प्रेरणा पनि थियो।
समयसँगै हामी हुर्कियौँ । बाल्यकालका गोरेटोहरू पछाडि छुटे, तर नलु दाइ र मबीचको सम्बन्धमा कहिल्यै परिवर्तन आएन । अच्युत दाइ गाउँ छोडेर बेसी झर्नुभयो भने नलु दाइ अचानेभन्दा अलिक तल खारे झर्नुभएको थियो, बाटैमै घर थियो । आवतजावत गर्दा खेततिर काम गरिरहेको भए पनि उहाँ बोलाउनु हुन्थ्यो र पानी मात्रै भए पनि खुवाएर पठाउनु हुन्थ्यो । २०७२ सालमा आएको भूकम्पले हाम्रा घरहरू भत्काइदियो । त्यो सङ्कटको घडीमा नलु दाइ र अच्युत दाइसँग भएको 'आइचर' गाडी नै लिएर, भतिज नकुलसहित राहत लिन धेरै ठाउँमा पुगेका थियौँ हामी । यस्ता अनेकौँ सुख-दुःखका पलहरूमा उहाँको साथ र आत्मीयता सधैँ हामीसँगै रह्यो ।
जनैपूर्णिमाका लागि गोसाइँकुण्ड मेलामा जान रसुवा र नुवाकोटबाट मात्रै होइन, पछिल्लो समय देशभरबाट तीर्थयात्रीहरू आउनुहुन्छ । नलुदाइहरू पनि भदौ १० गते गोसाइँकुण्ड जान लाग्नुभएको रहेछ । त्यही बिहान विनाशकारी बाढी आयो ।बाढी आएको केही समयपछि नै सामाजिक सञ्जालमा उहाँलगायत गाउँका मान्छेहरू पनि सम्पर्कविहीन भएको खबर पाएपछि मैले तुरुन्तै सम्पर्क गर्ने कोसिस गरेँ । उहाँहरू चढेको गाडी त्रिशूली-बेत्रावती खण्ड काटेको थिएन भन्ने जानकारी पाएँ। बाढीले बिजुलीका पोलहरू ढले र फोन सम्पर्क टुट्यो । बाढीले बस्ती र मान्छेहरू मात्रै बगाएन, खोलामा बनाएका पुलहरू पनि बगायो।
उहाँहरू गाडीबाट हामफालेर ज्यान बचाउनुभयो होला भन्ने झिनो आशा मात्रै बाँकी थियो । मनले त्यही कुरालाई समातेर केही आस राख्यो । तर, 'बेपत्ता' भनिएका दिनहरू बित्दै गए, उहाँहरू फर्केर आउनु भएन । जसलाई हिजोसम्म जिउँदो देखेको थिएँ, उहाँ अब हुनुहुन्न भन्ने सत्यलाई आत्मसात् गर्न समय लाग्दो रहेछ । हिजो मलाई स्कुल जाँदा आफ्नो काँधमा बोकेर खोला तार्नुभएको थियो नलुदाइ, तर आज तपाईँ नफर्किने यात्रामा जाँदै गर्दा तपाईँलाई काँध दिन सकिनँ ।
समय आफ्नै गतिमा बग्छ । जीवनका विभिन्न मोडमा साथ दिएका मान्छेहरूको सम्झना र उहाँले दिनुभएको अपनत्व मात्र अब मानसपटलमा बाँकी छन् । बाढीले तपाईँलाई खोस्यो । तपाईँसँग जोडिएका अनगिन्ती स्मृतिहरू मात्र अब बाँकी रहे । र, यी सबै भौतिक र भावनात्मक कुराहरू छुट्नुको पीडा त छँदै छ, त्योभन्दा हजार गुणा बढी पीडा तब हुँदो रहेछ जब आफ्ना मान्छेहरू सधैँका लागि छुट्दा रहेछन्, जसरी तपाईँ छुट्नु भयो ! नलुदाइ !
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस