भारतीय महिलाको पेटबाट निकालियो १३ वटा पेन
काठमाडौं । भारतमा एक महिलाको पेटमा १३ वटा डटपेन, पाँचवटा काठका चम्चा र एउटा मैनबत्ती भएको पत्ता लागेपछि शल्यक्रिया गरेर बाहिर निकालिएको चिकित्सकहरूले बताएका छन्। पेटबाट निकालिएका वस्तुमध्ये एउटा डटपेन २५ सेन्टिमिटर लामो थियो। कुनै अखाद्य पदार्थ निलियो भने सामान्यतया पेट निकै दुख्ने, बान्ता हुने वा पखाला लाग्ने गर्छ।
तर पेटमा कडा वस्तुहरू हुँदा ती महिलालाई कस्तो खालको समस्या भयो? अनि ती वस्तु कसरी बाहिर निकालियो? यसबारे शल्यक्रिया गर्ने चिकित्सकले बीबीसीलाई जानकारी दिएका छन्। चिकित्सकहरूका अनुसार ती महिला आन्ध्र प्रदेशको पालनाडु जिल्लाकी निवासी हुन्। उनी ३३ वर्षकी भइन् र विवाहिता हुन्। छातीमा देब्रेपट्टि निकै दुख्न थालेपछि परिवारले उनलाई एउटा निजी अस्पतालमा लगे। त्यहाँ उनलाई भर्ना गरियो।
चिकित्सकहरूले तुरुन्तै उनको ईसीजी र एन्डोस्कोपी गरे। माताश्री प्राइभेट हस्पिटलका डा रामचन्द्र रेड्डीले बीबीसीलाई बताए अनुसार ईसीजीमा सबै कुरा सामान्य देखियो तर एन्डोस्कपीका क्रममा उनको पेटमा डटपेन, चम्चा र मैनबत्तीजस्ता अखाद्य वस्तुहरू भएको देखियो।
डा रेड्डीका अनुसार तुरुन्तै सीटी स्क्यान गरेर त्यो कुराको पुष्टि गरेपछि एन्डोस्कपी र ल्यापरोस्कपी विधिबाट शल्यक्रिया गर्ने निर्णय गरियो। त्यसपछि ती सबै वस्तु बाहिर निकालियो। चिकित्सकहरूका अनुसार बालबालिकाले प्रयोग गर्ने २५ सेन्टिमिटर लामो एउटा पेनले ती महिलाको पेटमा प्वाल पारिसकेको थियो। त्यसैले 'न्यूमोमेडिआस्टिनम' भनिने अवस्था सिर्जना भएको थियो।
डा रेड्डीले अहिले ती महिलाको अवस्था स्थिर रहेको जानकारी दिए। ती महिलाले एक वर्षअघि पनि यसै गरी चारवटा पेन निलेको बताएकी थिइन्। त्यतिबेला पनि शल्यक्रिया गरेर ती वस्तु बाहिर निकालिएको थियो।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस