‘जेनजी’ अर्थात् जेनेरेसन जेड पुस्ता
काठमाडौंं । परिवर्तनको सपना बोकेर सडकमा उत्रिएको नयाँ पुस्ताको आन्दोलनले नेपाली राजनीतिक तथा सामाजिक इतिहासमा एउटा महत्वपूर्ण पाटो हो । आफ्ना अधिकार, सुशासन, र समुन्नत भविष्यको माग गर्दै आवाज उठाउने क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा मनाइने जेनजी सहिद दिवस केवल स्मरणको मात्र होइन, उनीहरूले देखेको परिवर्तनको बाटो पूरा गर्ने संकल्प पनि हो।
‘जेनजी’ अर्थात् जेनेरेसन जेड पुस्ताले पछिल्लो समय सामाजिक सञ्जालदेखि सडकसम्म आफ्नो उपस्थिति प्रभावशाली ढंगले देखाएको छ। पुराना राजनीतिक शैली, भ्रष्टाचार, अवसरको असमानता, बेरोजगारी, राजनीतिक नेतृत्वप्रतिको निराशा र राज्य संयन्त्रमा देखिएको बेथितिप्रति यो पुस्ताले खुलेर प्रश्न उठाउँदै आएको छ।
नयाँ पुस्ताको आन्दोलनमा देखिएको ऊर्जा र सहभागिताले नेपाली समाजमा पुस्तान्तरणको बहसलाई पनि तीव्र बनाएको छ। प्रविधिसँग नजिक रहेको यो पुस्ताले सूचना र विचारलाई तीव्र गतिमा फैलाउन सामाजिक सञ्जाललाई प्रभावकारी माध्यम बनायो। तर आन्दोलन केवल डिजिटल संसारमा सीमित रहेनस सडकमा प्रत्यक्ष सहभागिता र बलिदानसम्म पुग्यो। आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरूका परिवारका लागि सहिद दिवस उत्सवको विषय होइन, पीडा र सम्झनाको दिन हो। परिवारले आफ्ना सन्तान गुमाएका छन् भने समाजले भविष्यका सम्भावना बोकेका युवाहरू गुमाएको छ।
युवाको मृत्युले एउटा गम्भीर प्रश्न पनि खडा गरेको छ, उनीहरूले ज्यान दिएर खोजेको परिवर्तन आखिर कहिले र कसरी संस्थागत हुन्छ ? सहिदको सम्मान फूलमाला र श्रद्धाञ्जलीमा मात्र सीमित हुनु हुँदैन। उनीहरूले उठाएका प्रश्नको जवाफ राज्यका नीति, कानुन, प्रशासनिक व्यवहार र राजनीतिक संस्कारमा देखिनुपर्छ। उनीहरूको बलिदानलाई अर्थपूर्ण बनाउने सबैभन्दा महत्वपूर्ण माध्यम यही हो।
सहिद दिवसको मूल अर्थ विगतलाई सम्झनु मात्र होइन, भविष्यका लागि संकल्प गर्नु हो। ज्यान गुमाएका युवाहरूको तस्वीरमा माला चढाएर मात्र उनीहरूप्रतिको दायित्व पूरा हुँदैन। उनीहरूले खोजेको समाज निर्माण गर्ने प्रतिबद्धता व्यवहारमा देखिनुपर्छ। नयाँ पुस्ताले उठाएको आवाजलाई सुन्ने, असन्तुष्टिको कारण पहिचान गर्ने र लोकतान्त्रिक प्रक्रियाबाट समाधान खोज्ने जिम्मेवारी राज्य, राजनीतिक दल र समाज सबैको हो।





प्रतिकृया दिनुहोस