• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
विचार

विश्व इतिहासका क्रान्ति र नेपालको अनवरत जनसंघर्ष

विश्व इतिहासलाई फर्केर हेर्दा फ्रान्सेली क्रान्ति (१७८९-१७९९), रुसी क्रान्ति (१९१७),अमेरिकी स्वतन्त्रता संग्राम (१७७५-१७८३) र बेलायतको गौरवमय क्रान्ति (१६८८) जस्ता महत्त्वपूर्ण क्रान्तीहरुले ती देशहरूको सामाजिक, राजनीतिक र आर्थिक रूपमा आमूल परिवर्तन ल्याउन सफल भई सम्बन्धित राष्ट्रहरूलाई नयाँ दिशा दिँदै स्थितता, विकास र समृद्धिको पथमा अग्रसर गराए। तर, नेपालको सन्दर्भमा हेर्ने हो भने २००७ सालको राणा शासन विरुद्धको प्रजातन्त्रिक आन्दोलन, २०४६ सालको पञ्चायती व्यवस्था विरुद्धको जनआन्दोलनले बहुदलिय व्यवस्थाको स्थापना र २०६२-६३ को राजतन्त्र विरुद्धको जनआन्दोलनले पटक पटक व्यवस्था परिवर्तन गर्न सफल भएपनि देशले राजनीतिक स्थिरता प्राप्त गर्न सकेन । देशमा भ्रष्टाचार मौलाउँदै गएको छ र सामाजिक न्याय तथा सुशाशन अभावमा 'जेनजी आन्दोलन' जस्ता नयाँ लहरहरू देखा पर्न थालेका छन्।

 

१.विश्व इतिहासका क्रान्तिहरू: परिवर्तनको मानक

अमेरिकी स्वतन्त्रता संग्राम (१७७५-१७८३) बेलायती उप-निवेशवादबाट मुक्ति पाउनका लागि शुरु एक महत्त्वपूर्ण क्रान्ती थियो, जसको मुख्य नारा 'प्रतिनिधित्व बिना कर छैन थियो।' यस संग्रामले केवल राजनीतिक स्वतन्त्रता मात्र प्राप्त गरेन, बरु यसले प्रजातन्त्र, स्वतन्त्रता र संविधानवाद जस्ता आधुनिक सिद्धान्तहरूको जग पनि बसाल्यो। स्वतन्त्रताको घोषणापत्रले सार्वभौमिक मानव अधिकारको अवधारणा स्थापित गर्‍यो भने, युद्धपछि बनेको संविधानले शक्ति पृथकीकरणको सिद्धान्त लागू गरी निरंकुशता रोक्न मद्दत गर्‍यो। यसरी, यो क्रान्तिले बेलायतको साम्राज्यवादी व्यवस्थालाई चुनौती दिँदै प्रजातान्त्रिक राष्ट्र निर्माणको सफल उदाहरण प्रस्तुत गर्‍यो र विश्वका अन्य राष्ट्रहरूलाई पनि प्रेरणाको स्रोत बन्यो । 

 

फ्रान्सेली राज्य क्रान्ति ९१८९-१७९० कुनै सामान्य विद्रोह मात्र थिएन, बरु यसले युरोपको राजनीतिक र सामाजिक संरचनामा नै आमूल परिवर्तन ल्यायो। यस क्रान्तिको मुख्य उद्देश्य निरंकुश राजतन्त्रको अन्त्य गर्नु थियो, जुन सफल पनि भयो । क्रान्तिले केवल राजतन्त्रलाई मात्र होइन, बरु सामन्ती व्यवस्था, जसमा समाजलाई विशेषाधिकार प्राप्त पादरी र कुलीन वर्गमा विभाजन गरिएको थियो, त्यसको जरासमेत उखेलिदियो। यसको मूल नारा 'स्वतन्त्रता, समानता र भ्रातृत्व' थियो । जसले विश्वभरका जनतालाई आफ्नो अधिकार र स्वतन्त्रताका लागि लड्न प्रेरित गर्‍यो। फ्रान्सेली क्रान्तिले नागरिक अधिकारको अवधारणालाई अगाडि बढाउँदै मानिसहरूको नैसर्गिक हक र अधिकारको महत्त्व स्थापित गर्‍यो। यसले आधुनिक राष्ट्र-राज्यको अवधारणालाई बलियो बनायो र गणतन्त्रको जग बसाल्यो। यसरी, यो क्रान्तिले फ्रान्सलाई मात्र होइन, सम्पूर्ण विश्वलाई नै राजनीतिक र सामाजिक परिवर्तनको नयाँ दिशा प्रदान गर्‍यो ।

 

रुसी क्रान्ति (१९१७) कुनै सामान्य सत्ता परिवर्तन मात्र थिएन, बरु यसले विश्वको राजनीतिक इतिहासमा नै एउटा नयाँ अध्यायको सुरुवात गर्‍यो। यो क्रान्तिले सदियौँदेखि निरंकुश शासन चलाउँदै आएको जारशाहीको अन्त्य गर्दै गरिब किसान र मजदुरहरूको प्रतिनिधित्व गर्ने सर्वहारा वर्गको अधिनायकत्व र साम्यवादी व्यवस्थाको जग बसाल्यो। यस क्रान्तिका नेता लेनिनले कार्ल मार्क्सको समाजवादी सिद्धान्तलाई व्यवहारमा उतार्दै पूँजीवाद र सामन्ती व्यवस्था विरुद्ध एउटा शक्तिशाली विकल्प प्रस्तुत गरे। रुसी क्रान्तिको सफलताले विश्वभरका अन्य राष्ट्रहरूमा पनि समाजवादी आन्दोलनहरूलाई व्यापक रूपमा फैलायो र अन्तर्राष्ट्रिय राजनीतिमा समाजवादी विचारधाराको प्रभावलाई ठूलो रूपमास्थापित गर्‍यो। यसले विश्वलाई दुई ध्रुवीय शक्ति (साम्यवादी र पूँजीवादी) मा विभाजन गर्ने मार्ग प्रशस्त गर्‍यो, जसको प्रभाव २०औं शताब्दीभरि देखियो।

 

बेलायतको गौरवमय क्रान्ति (१६८८) इतिहासको एक अनौठो र महत्त्वपूर्ण परिघटना हो, किनकि यो कुनै ठूलो रक्तपातबिना नै सफल भएको थियो। तत्कालीन राजा जेम्स द्वितीयको निरंकुश शासन र क्याथोलिक धर्मलाई बढावा दिने प्रयासले असन्तुष्ट बनेका बेलायतीहरूले राजालाई देशनिकाला गरी उनकी छोरी मेरी तथा ज्वाइँ विलियमलाई शासन गर्न आमन्त्रण गरे। यस क्रान्तिको सबैभन्दा महत्त्वपूर्ण परिणाम संसदीय सर्वोच्चता स्थापित भयो, जहाँ राजाको अधिकारलाई सीमित गरी संसदको अधिकारलाई माथि राखियो। सन् १६८९ मा पारित भएको अधिकारको विधेयक (बिल्स अफ राइट्स) ले यसलाई कानुनी रूप दियो र संवैधानिक राजतन्त्रको जग बसाल्यो। यस क्रान्तिले सीमित सरकार र विधिको शासनको अवधारणालाई बलियो बनाउँदै शान्तिपूर्ण राजनीतिक परिवर्तनको सफल उदाहरण प्रस्तुत गर्‍यो ।

 

यी सबै क्रान्तिहरूको साझा विशेषता भनेको एउटा स्पष्ट लक्ष्य, विचारधारा र क्रान्तिपश्चात् देशलाई स्थिरतातर्फ डोर्‍याउने एउटा संस्थागत मार्गचित्र  थियो।

 

२.नेपालमा भएका राजनीतिक आन्दोलन : परिवर्तनको यात्रा

नेपालमा भएका मुख्य तीन ठूला राजनीतिक आन्दोलनहरूले राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्य गरे। यी प्रत्येक आन्दोलनले प्रजातन्त्र, संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था, लोकतन्त्र र गणतन्त्रको स्थापनाको लागि मार्ग प्रशस्त गरे।प्रजातन्त्रिक आन्दोलन (२००७) यसले १०४ वर्षे राणा शासनको अन्त्य गरी प्रजातन्त्रको उदय गरायो। तर, यसपछिको राजनीतिक अस्थिरता, खिचातानी र वैदेशिक हस्तक्षेपले प्रजातन्त्रले लामो सास फेर्न पाएन।

 

नेपालको जन-आन्दोलन (२०४६) : पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात भयो । तर, यसपछिको १० वर्षे माओवादी जनयुद्ध, दरबार हत्याकाण्ड, भ्रष्टाचार र कमजोर शासन प्रणालीले देशलाई थप अस्थिरतातर्फ धकेल्यो ।

 

नेपालको जनआन्दोलन २०६२/६३ नेपालको दुई सय सैतिंस वर्षे पुरानो राजतन्त्र ढालेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। समावेशी संविधान जारी भयो, तर यसपछिको संक्रमणकालीन न्यायको अभाव, राजनीतिक ध्रुवीकरण, सरकारको अस्थिरता र संस्थागत भ्रष्टाचारले देश गिजोलेको छ द्रुत विकासमा बाधा पुर्‍याइरहेको छ।

 

३.राजनीतिक अस्थिरता, भ्रष्टाचार र जेनजी आन्दोलन

नेपालमा क्रान्तिपछिका परिवर्तनहरूले सैद्धान्तिक रूपमा जनतालाई अधिकार सम्पन्न बनाए पनि व्यवहारमा राजनीतिक स्थिरता कायम हुन सकेन। यसका प्रमुख कारणहरू :

 

कमजोर संस्थागत विकास : राजनीतिक दलहरू आन्तरिक रूपमा लोकतान्त्रिक नहुनु, व्यक्ति केन्द्रित राजनीतिर विधिको शासन भन्दा शक्ति केन्द्रित निर्णय प्रक्रिया हावी हुनु।

 

संक्रमणकालीन न्यायको अभाव : माओवादी जनयुद्धका पीडितहरूले अझै न्याय पाउन नसक्दा समाजमा आक्रोश र असन्तुष्टि कायमै छ।

 

भ्रष्टाचारको जालो : राजनीतिक नेतृत्वदेखि कर्मचारीतन्त्रसम्म भ्रष्टाचार मौलाएको छ। ठूला नीतिगत भ्रष्टाचारदेखि सामान्य दैनिक काममा समेत भ्रष्टाचार हावी हुँदा सुशासनको अभाव खड्किएको छ। यसले जनतामा निराशा बढाएको छ।

 

जवाफ देहिताको कमी : राजनीतिक दल र नेताहरू जनताप्रति जवाफदेही नहुनु, चुनावी घोषणापत्रका प्रतिबद्धताहरू पूरा नहुनु।

 

युवाको बहिर्गमन : रोजगारीको अवसर नहुनु, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभाव, र राजनीतिक बेथितिबाट वाक्क भएर ठूलो संख्यामा युवाहरू विदेश पलायन भइरहेका छन्।

 

यिनै पृष्ठभूमिमा नेपालमा पछिल्लो समय (जेनजी आन्दोलन) को उदय भएको छ। यो आन्दोलन परम्परागत राजनीतिक दल वा नेताहरूबाट निर्देशित नभई सामाजिक सञ्जालको प्रयोग गरी युवाहरूद्वारा सञ्चालित यो आन्दोलनले भ्रष्टाचार अन्त्य, सामाजिक न्याय, सुशासन र राजनीतिक स्थिरताको माग गरेको छ। कुनै नेतृत्व बिना नै सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको यो अभियानले राजनीतिक दलहरूलाई खबरदारी गर्दै युवा आक्रोशलाई प्रतिनिधित्व गरेको छ। यो आन्दोलनले नयाँ पुस्ताको सशक्त आवाजलाई उजागर गरेको छ, जसले विद्यमान प्रणालीमा सुधारको माग गर्दछ।

 

४. निष्कर्ष

विश्व इतिहासका क्रान्तिहरूले नयाँ प्रणालीको स्थापनासँगै देशलाई स्थायित्व र समृद्धिको दिशामा अग्रसर गराएका छन्। तर, नेपालका प्रजातन्त्रिक तथा जन आन्दोलनहरुले राजनीतिक परिवर्तन ल्याए पनि त्यसलाई संस्थागत गर्न र त्यसको फल राम्रोसँग जनतासम्म पुर्‍याउन सकेका छैनन्। राजनीतिक अस्थिरता, भ्रष्टाचार र सामाजिक न्यायको अभाव र भविश्य प्रतिको अन्योलताले गर्दा युवा पुस्तामा चरम निराशा र असन्तुष्‍टि छाएको छ, जसको प्रतिविम्ब 'जेनजी आन्दोलन' मा देखिएको छ।

 

नेपालले अब विगतका गल्तीहरूबाट पाठ सिक्दै, सुशासन स्थापना गर्दै, भ्रष्टाचारको अन्त्‍य र युवा पुस्तामा देखिएको निराशालाई विकास तथा उत्पादनमा समर्पित गर्नप्रेणा, उत्साहमा परिणत गर्दै देश विकासमा समाहित गर्दै अगाडि बढ्नुपर्छ। मुलतः राजनीतिक नेतृत्वले जन-अपेक्षा अनुसार काम गर्न नसक्ने हो भने यस प्रकारका आन्दोलनहरू अझ सशक्त बन्दै जान सक्छन् र यसले देशको भविष्यमाथि थप प्रश्नहरू खडा गर्नेछ। अबको आवश्यकता केवल राजनीतिक परिवर्तन मात्र नभई सामाजिक, साँस्कृतिक र आर्थिक रूपान्तरणको माध्यमबाट दिगो शान्ति र समृद्धिको स्थापना गर्नु हो ।
 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार