हामी आठौं वर्षमा प्रवेश !
फ्रेसन्यूज नेपालले आफ्नो सातौं बर्ष पुरा गरि आठौं बर्षमा प्रवेश गरेको छ । यो यात्राको थालनी गरेको केहि बर्षमै विश्वलाई नै आक्रान्त पार्न कोरोना भाइरसको महामारी खेप्दै धेरै किसिमका उतारचडावको सामना गर्दै आज यो अबस्थामा आइपुगेका छौं । धेरै सहकर्मी भएको हाम्रो न्यूजरुम अहिले संख्यात्मक हिसावमा सानो आकारको भएको छ, तर हामीले परिकल्पना गरेको सोच र कार्यहरुले बिस्तारै मूर्तरुप पाउनेछ भन्नेमा हामी आशावादी छौं र सोही अनुसार अघि बढ्ने हाम्रो प्रयत्न जारी छ ।
फ्रेसन्यूजले जे सोचेर विभिन्न विटमा समाचार संकलन सहितका सामग्री पस्कने गरेको थियो, सुरुवातका दिनमा आफूलाई जुन रुपमा उभ्याएको थियो अहिले त्यो समयको अनुपातमा संख्यात्मक रुपमा लेख रचना र आलेखहरु कम भए पनि गुणत्मक लेख रचनाहरुलाई स्थान दिने कुरामा सधैं झै कटिबद्ध छौं । हामीसँग स्थलगत समाचार सामग्रीको कमी अहिले पनि खड्केको छ । हामी खुसी छौं हामीले नै प्राथमिकतामा राखेका र धेरैले चासो नदिएको नेपाली रंगमञ्चबारे फ्रेसन्यूजले छुट्टै स्थान दिएर प्राथमिकताका साथ आलेख र सामग्रीहरुलाई स्थान दियौं । अहिले विगतको तुलनामा सामग्रीको संख्या कम भएको होला तर पनि त्यसलाई निरन्तरता दिन भने हामी चुकेका छैनौं । हाम्रो अहिलेको टिमले जे जती प्रयत्न गरेका छौं यो पनि उपलब्धी हो भन्ने लागेको छ । अपेक्षा छ हाम्रो पुरानो न्यूजरुप जस्तै हामी छिटैं अझै सशक्त बन्ने छौं । विश्वव्यापी रुपमै नयाँ नयाँ प्रयोग र सुचना प्रविधीमा आएको उछालले काम गर्न तरिकामा केहि बदलाव आएको पक्कै हो । यो सबै बदलावलाई विश्वले नै स्वागत गरेको छ र हामीले पनि यसलाई आत्मसाथ गरेर अघि बढ्ने प्रयत्नलाई जारी राखेका छौं ।
सरकारले हालै प्रस्तुत गरेको निती तथा कार्यक्रम पनि सुचना प्रविधी, युवा लक्षित र युवामैत्री देखिन्छ । बर्षौ देखि सैद्धान्तिक शिक्षा प्रणाली मात्रै भयो प्रयोगात्मक शिक्षाको अभाव भयो भनेर चौतर्फी आलोचना भइरहेको समयमा सरकारले प्रविधी र अनुसन्धानलाई प्रभावकारी बनाउने भनेको छ भने अर्कोतर्फ युवाहरुले कमाउँदै पढ्ने निती अघि सारेको छ । सातामा २० घण्टा काम गर्न दिने भनिएको छ । जसले बेरोजगारी घटाई युवालाई रोजगारीमा आवद्ध गराउने र जेन–जी पुस्तालाई केन्द्रित गरी स्टार्टप कार्यक्रमलाई बढवा दिएको छ । तीनै तहका सरकारी सेवामा विद्यार्थीलाई इन्टर्नको व्यवस्था गर्न भनेको छ । जसले युवामा आशा जगाएको छ ।
आगामी दिनहरुमा युवा पुस्तालाई केन्द्रमा राखेर थप समाचार सामग्रीहरु प्रस्तुत गर्दै जाने छौं भन्ने पनि यहाँहरुलाई विश्वास दिलाउन चाहन्छौं । पाठक दर्शकहरुको साथ र मायाले हामी उत्साहीत छौं । अझ बढी जिम्मेवारीबोध भएको छ । यहाँहरुले हाम्रो कामलाई सकरात्मक प्रतिक्रिया दिइरहनुभएको छ । आगामी दिनमा पनि हामीलाई साथ र हौसला प्रदान गर्नु हुनेछ भन्ने विश्वास लिएका छौं । यो यात्रामा साथ दिने पाठक, विज्ञापनदाता, व्यावसायिक रुपमा साझेदारी गर्ने संघसस्था प्रति आभारी छौं । यहाँहरुको साथ सहयोग आगमी दिनमा पनि उतिकै आवश्यक छ । प्रभावकारी सुचना दिन हामी सधै सचेत र सजग रहने नै छौं ।हामीलाई यहाँसम्म ल्याउन साथ सहयोग प्रेरणा दिनुहुने लेखक तथा बरिष्ठ पत्रकार किशोर नेपाल, अर्थविद् बिनोद सिजापती, प्रा.डा.माधवी सिंह शाह,कवि विप्लव प्रतीक, लेखक तथा अधिकारकर्मी चट्याङ मास्टर, युवराज गौतम, सुजन तिमल्सीना र आइटेक नेपाललगाएत सबै प्रति हामी आभारी छौं ।





प्रतिकृया दिनुहोस