• आइतबार ६-१२-२०८२/Sunday 09-28-2025
डबली

पलेँटीमा घन्किए दुवालका सृजना

काठमाडौं । नेपालयको 'आर' सालामा सङ्गीतकार रामकृष्ण दुवालको पलेँटी सम्पन्न भएको छ । झण्डै २ घण्टासम्म चलेको पलेँटीमा दुवालले सङ्गीत भरेका एक दर्जनभन्दा धेरै गीतहरू घन्किएका थिए । नेपाली पहिरनमा सजिएका रामकृष्ण दुवालले दाफा गायनबाट आफ्नो कार्यक्रमको थालनी गरेका थिए । कार्यक्रमको थालनी 'श्याम सुन्दर बसन्त बेला'बोलको नेवारी अथवा नेपालभाषाको परम्परागत बसन्त गीतबाट भएको थियो । यस गीतमा उनले प्रदर्शन गरेको नृत्य मुद्राको धेरै दर्शकले खुलेर प्रशंसा गरेका थिए । दुवालका रचनालाई नयाँ पुस्ताका दुईजना कण्ठशिल्पी अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीले स्वर दिएका थिए ।

 

कार्यक्रमलाई चार भागमा विभाजन गरेर प्रस्तुत भएको जानकारी पलेँटी संचालकले दिएका थिए । दोस्रो प्रस्तुतिमा कवि तथा गीतकार मञ्जुलको पहिलो गीतिसँग्रह 'साइली मोरीलाई' मा रहेको गीत थियो । जसलाई दुवालले गीतकार मञ्जुललाई भेट्नु पहिले नै धुन भरेको जानकारी दिएका थिए । यसगीतलाई अभिज्ञाले गाएकी थिइन्। 'सुनैको काँइयो सुनैको थाक्रो, सुनौली मेरो केश' बोलको गीत सुन्दै गरेकी एकजना दर्शक लगातार आँशु पुछिरहेकी देखिन्थिन् । पलेँटी संचालक आभास भन्दै गरेका हुन्छन्- ‘तीजको माहोल अझै सकिएको छैन कि जस्तो छ ?’  

 

कार्यक्रमको तेस्रो प्रस्तुतिमा युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य 'मङ्गलमान' को छोटो अंश रहेको थियो । जुन खण्डकाव्यलाई रामकृष्ण दुवालले धुन भरेर युगकवि समक्ष नै सुनाएको जानकारी गराएका थिए । मङ्गलमानु युगकवि सिद्धिचरण श्रेष्ठले आफू जेलमा बस्दा भेटेका विद्रोही पात्र हुन् । जसको आधारमा कविले खण्डकाव्य नै सृजना गरेका छन् । विद्रोही मङ्गलमानको चरित्रबाटै 'ब्याक टु मङ्गलमान' भन्ने उक्ति प्रचलित रहेको हो । अहिले नकारात्मक रुपमा प्रयोग हुने गरे पनि खासमा 'ब्याक टु मङ्गलमान' भन्ने उक्तीले- सँधै विद्रोही बनिरहनु,भन्ने भाव बोकेको छ । यो गीत बेनुपको स्वरमा गुञ्जेको थियो । 

 

सङ्गीतकार दुवालको सम्पूर्ण साङ्गीतिक व्यक्तित्वलाई समेट्ने ध्येयले आयोजना भएको पलेँटीमा उनले गरेका सबै खाले सृजनाहरू समावेस भएको भान पर्थ्यो । नेपालभाषाको (नेवारीको) सुरुवाती टेली चलचित्र 'चिप: निप : प्रयोग भएको गीत 'जाकी निगचा फोनेति बजय्' लाई नेपाली भाषामा अनुवाद गरेर प्रस्तुत गरिएको थियो । यसपछि कार्यक्रमले अर्को मोड लिएको थियो । यो चरणमा सङ्गीतकार रामकृष्ण दुवालले सृजना गरेका र धुन भरेका बालगीत प्रस्तुत भएका थिए । जसमा गीतका रचना(गर्भबारे दुवाल र कार्यक्रम संचालकबीच रोचक वार्ता भएको थियो ।

 

स्कुलमा गीत, सङ्गीत र नृत्य सिकाउँदाको विगत सम्झँदै गर्दा सङ्गीतकार रामकृष्ण दुवाल अतीतमै डुबे झैँ देखिन्थे । यसक्रममा 'बाँसुरीको धुनसँगै गाउन हामी थाल्छौ' ‘पढ्नु भनेको के हो नानी; ‘नेपालका हामी साना बालबालिकाु बोलका गीत प्रस्तुत हुँदा गीतकार रामबाबु सुवेदी र दुर्गालाल श्रेष्ठसँग सम्बन्धित प्रसङ्गहरू पनि निक्लिएका थिए । बालगीतकै क्रममा कवि दुर्गालालको शब्दमा रहेको नेपाल भाषाको बालगीत 'इमु छम ल्येँ दु' लाई नेपालीमा 'एउटा कमिला माटोमा' बनाई सुनाइएको थियो ।

 

छन्द कवितालाई समेत आत्मसात् गर्दै कार्यक्रमलाई अघि बढाइरहेका रामकृष्ण दुवालले सामाजिक उत्तरदायित्वका गीत पनि प्रस्तुत गरेका थिए । गीतकार श्याम तमोटले रचेको 'हेर आज नेपाली बसाइँ हिंडेको' गीतले विगतको नेपाललाई चित्रण गरेको थियो । तर त्यो सुन्दा वर्तमानकै यथार्थ हो कि जस्तो भान हुन्थ्यो । कार्यक्रम सञ्चालक भनिरहेका हुन्छन्, 'देशमा राजनैतिक परिवर्तन भए पनि सत्ताको मानसिकतामा पुरानै प्रवृत्ति कायम रहेपछि कवि-कलाकारहरू विद्रोही बनिरहन्छन् र आफ्ना सृजनाले समाजलाई झकझकाइरहन्छन् । 'एक जुगमा एकदिन एकचोटी आउँछु गोपाल प्रसाद रिमालको सदाबाहर विद्रोही गीत हो।'

 

नेपाल भाषाको दाफा गायनबाट सुरू भएको पलेँटीको अन्तिम खण्डमा फेरि नेपाल भाषाकै गीत प्रस्तुत भएका थिए । यस चरणमा निक्कै वर्षदेखि लोकप्रिय रहँदै आएको 'सिर्साया हेकू' बोलको लोकगीत प्रस्तुत भएको थियो। अभिज्ञा घिमिरेले केही दिनको अभ्यासमा आफूलाई बोल्नै नआउने भाषाको गीत गाइरहेकी थिइन्। 'सिर्साया हेकू' गीत टुङ्गिनासाथ दर्शकदिर्घाबाट तालिको गडगडाहटसँगै 'वान्समोर' को आग्रह ओइरिएको थियो ।

 

कार्यक्रमको अन्तिम चरणमा नेपाल भाषाका दुईवटा रचनाहरू प्रस्तुत भएका थिए । 'हे मन मेले वने छाय' बोलको गीत प्रस्तुतिपछि रामकृष्ण दुवालले एउटा ऐतिहासिक रचना सुनाएका थिए । भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लले आफू काशीबास जानु पहिले यो गीत रचेको भनाइ रहेको छ । काशी निर्वासित हुँदैगर्दा चन्द्रागिरीको उचाइमा बसेर रणजीतले सो गीत सृजना गरेको र त्यसको धुनलाई आफूसँगै रहेका कुनै मानन्धरलाई सिकाएको भनाइ रहेको छ । धुन सिकाइसकेपछि रणजितले तिनै मानन्धरलाई उपत्यकामा फर्केर गीतको प्रचार गर्न अह्राएको सन्दर्भ उल्लेख गरिएको थियो । यसपालीको पलेँटीमा वाद्यवादनतर्फ तबलामा मिलेश तण्डुकार, बाँसुरीमा मिलन घिमिरे, प्रकशनमा पारशमणि सुबेदी, गिटारमा प्रविण पुलामी मगर, बेस गिटारमा कृपेश लोहनी, कीबोर्डमा सुनिल सिंहको साथ रहेको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार