‘गजल, सङ्गीत र ललितकला उत्सव २०८२’ सम्पन्न

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा अनाममण्डली, अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियसनको आयोजनामा १६० औँ मोतीजयन्तीका अवसरमा शनिवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा ‘गजल, सङ्गीत र ललितकला उत्सव २०८२’ कार्यक्रम सम्पन्न भएको छ ।
अनाममण्डलीका अध्यक्ष रुपक अलङ्कारको सभाध्यक्षमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझा, अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारसँगै कोशी प्रदेशका रश्मि असफल, मधेस प्रदेशका विवश पौडेल, बागमती प्रदेशका राधा कणेल, गण्डकी प्रदेशका देवेन्द्र केसी ‘देवु’, लुम्बिनी प्रदेशका सन्तोष श्रेष्ठ, कर्णाली प्रदेशका कुशलनाथ योगी, सुदूरपश्चिम प्रदेशका भुवन बोहरा ‘निस्तेज’ले गजललाई सन्तोष श्रेष्ठले गाएका थिए ।
गजलकारहरूका गजलअनुसार प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा लोककला प्रमुख प्रदीप अधिकारी, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा र शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले तयार गर्नुभएको कलाकृतिको प्रदर्शनीसमेत गरिएको थियो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सिर्जनाको आफ्नै वैचारिकता हुने बताए । साथै उहाँले ललितकलाको सौन्दर्यमा सङ्गीत एवं गजल जोडिनु सकारात्मक रहेको बताए । हाम्रा सङ्गीत, गीत, गजल, चित्रकलाको जग माटो हुनुपर्ने बताउँदै उनले शब्द, चित्र र गायनमा सामञ्जस्य हुनुपर्ने बताउनुभयो । साथै हाम्रा ललितकला, साहित्य र सङ्गीतलाई राष्ट्रिय भावधारा, सामाजिक, सांस्कृतिक सौहार्दका साथ पुस्तान्तरणमा जोड्न सबै निकाय लाग्नुपर्ने बताए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा पहिलोपल्ट भएको गजल, सङ्गीत र ललितकलाको उत्सवको त्रिवेणीले साहित्य, सङ्गीत र ललितकलालाई जोड्ने बताए । किसिमको कार्यक्रमले अन्तर्वस्तुको प्रकटीकरणमा विधागत भिन्नतालाई समेत उजागर गर्ने बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ले साहित्य, संगीत र ललितकलाको संयोजन गरी गरिएको कार्यक्रम ऐतिहासिक भएको विचार व्यक्त गरे । उनले नेपालीपनलाई समेटेर गजल तयार पारिएको र त्यसमा संगीत र चित्रकलाको संयोजनले राम्रो सन्देश दिएको बताए ।
साहित्यकार, समालोचक प्रा. डा. देवी नेपालले शब्द, सङ्गीत र चित्र (ललितकला) लाई जोडेर कार्यक्रम गरिनु अत्यन्तै महत्त्वपूर्ण रहेको बताए । उनले मोतीराम भट्टका सङ्क्षिप्त साहित्यिक योगदानका साथै अनाममण्डलीका कार्यका बारेमा समेत चर्चा गर्नुभएको थियो । कार्यक्रमका सभाध्यक्ष एवं अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारले केन्द्रका तीनवटै प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा भएको यस कार्यक्रममा राष्ट्रप्रेमका भाव ओतप्रोत भएका गजल गायन गरिएको र गजललाई चित्रमा समेत प्रत्यक्ष अवलोकन गर्न पाएको बताए । मोती जयन्तीका सन्दर्भमा भएको यस कार्यक्रमले सङ्गीत, गजल र ललितकलाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले कार्यक्रमको औचित्य प्रस्ट पार्दै केन्द्रका तीनवटै प्रतिष्ठानको सहकार्यमा सङ्गीत, गजल र ललितकलालाई एकै मञ्च प्रस्तुत गरिएको बताए । उनले देशका सातै प्रदेशका गजलकारका देशप्रेमको भाव मुखरित भएको गजललाई गायन गरिएको र त्यस गजलमाथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरुले चित्र सिर्जना गरेको बताए ।
सङ्गीत, गजल र ललितकलालाई जोडेर देशका सातै प्रदेशमा यस किसिमका कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने बताए । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, अनाममण्डली, अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियसनका पदाधिकारी तथा विभिन्न क्षेत्रका साहित्यिक कलानुरागीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस