• बिहीबार ११-१-२०८१/Thursday 02-13-2025
डबली

‘ललितकलाको सार्वजनिक महत्व र सङ्ग्रहालय’ विषयक अन्तरक्रिया

सुष्मा पौडेल,

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र आइकम नेपालको आयोजनामा ‘ललितकलाको सार्वजनिक महत्त्व र सङ्ग्रहालय’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

 

कार्यक्रममा प्राज्ञ प्रदीप शाक्य र मीना लामाले ‘ललितकलाको सार्वजनिक महत्त्व र सङ्ग्रहालय’ विषयमा पावरप्वाइन्ट मार्फत आफ्नो प्रस्तुति राखेका थिए । उनीहरूको प्रस्तुतिमा सङ्ग्रहालय, वस्तुहरूको सङ्कलन, सङ्ग्रह, सङ्ग्रहालयमा कलाको महत्व, सङ्ग्रहालयका प्रकार, वर्तमान स्थिति, गर्नुपर्ने कार्यहरू, ऐन, कानुन, सहकार्य, आर्थिक÷सामाजिक÷ऐतिहासिक पक्ष, समन्वय लगायतका विविध पक्षहरूको चर्चा गरिएको थियो ।

 

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानले ऐतिहासिक, पुरातात्त्विक र समसामयिक कलाकृति समेत समेटेर बनाउन लागेको एसिया स्तरको सङ्ग्रहालयलाई व्यवस्थित रूपमा अघि बढाउन विज्ञहरूको सल्लाह, सुझाव लिन यस कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । 

 

सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले कला, संस्कृतिसँग जोडिएको सम्पदासँगै मौखिक इतिहाससँग सम्बन्धित सङ्ग्रहालय पनि बनाउन आवश्यक रहेको धारणा राखे ।

 

संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले सङ्ग्रहालयका सम्बन्धमा ललित कलाका विविध विषय तथा क्षेत्रको खोज, अध्ययन, अनुसन्धान हुन जरुरी रहेको बताए । समारोहमा प्रतिष्ठानका पदाधिकारी, प्राज्ञसभा सदस्य, कलाकारसँगै विभिन्न सङ्घ–संस्थातथा क्षेत्रलाई प्रतिनिधित्वगर्ने व्यक्तिहरूको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार