• बिहीबार ११-१-२०८१/Thursday 02-13-2025
डबली

दिवंगत प्रस्तोतालाई सम्झँदै 'पलेँटी'को पुनरागमन

काठमाडौं । कुनै समय आफ्नो मञ्चमा उपस्थित भई आधुनिक नेपाली संगीतको पुनर्जागरण गराएका दिवंगत स्रष्टा एवं कलाकारहरूको सम्झना गर्दै सांगीतिक कार्यक्रम ‘पलेँटी’ फेरि सुरु भएको छ । बितेको २० वर्षदेखि नेपाल, भारत र भुटानमा फैलिएका नेपाली संगीतकर्मीहरूको साझा थलोका रूपमा चिनिँदै आएको यो कार्यक्रम कोभिडको महामारी कालयता बन्द भएको थियो । नेपालयको प्रस्तुतिका रूपमा यसलाई कवि एवं संगीतज्ञ आभासले संयोजन गर्दैआएका छन् ।

 

पलेँटीले आफ्नो पुनरोदयको पहिलो प्रस्तुति कालिकास्थानस्थित नेपालयको ‘आरशाला’मा शुक्रबार र शनिबार दिएको थियो जसमा ११ जना स्रष्टाका सिर्जना एवं गायनहरू समेटिएका थिए । त्यसमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, अम्बर गुरुङ, रत्नशम्शेर, प्रेमध्वज, फत्तेमान, राममान ‘तृषित’, भीम विराग, योगेश वैद्य, कुमार सुब्बा, विनोद स्याङ्देन र मीरा थापाका प्रस्तुति थिए । पलेँटीसँग आबद्ध कुल ५६ जना प्रस्तोतामध्ये उल्लिखित स्रष्टा एवं कलाकारको केही समययता निधन भइसकेको छ ।

 

‘कार्यक्रम तयार पार्नका निम्ति यी सबैले आफ्नो गीतमा प्रकट गरेका कुनै साझा विम्बको खोजी गरेका थियौं,’ आयोजक संस्था नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘उनीहरू सबैले फूललाई कुनै न कुनै रूपमा उल्लेख गरेको पाएपछि श्रद्धाञ्जलि स्वरूप सबैमा फूलै अर्पित गर्दै यो कार्यक्रमको खाका उभ्याइयो ।’

 

गीति–नाटक, गीति–कथा हामीले हेर्दै र सुन्दै आए पनि कार्यक्रमलाई नौलो विधा ‘गीति–निबन्ध’ नामकरण गरिएको थियो, जसमा प्रस्तोता आभासले क्रमैसँग दिवंगत स्रष्टा एवं कलाकारहरूको सम्झना गर्दै उनीहरूका रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा गीत गाउने काम भने महिला स्वरमा पलेँटीभन्दा पनि कान्छो उमेरकी अभिज्ञा घिमिरे र पुरुष स्वरमा बेनुप छेत्रीले गरेका थिए ।

 

पुनरागमनका निम्ति नयाँ पुस्ताबाट पुनर्गठित पलेँटी टोलीमा बेनुप र अभिज्ञाबाहेक गितारमा कृपेश लोहनी, बाँसुरीमा मिलन घिमिरे, पर्कसनमा पारसमणि सुवेदी, तबलामा लक्ष्मीप्रसाद डंगोल र किबोर्डमा दिनेश रेग्मीको उपस्थिति देखिन्थ्यो । यो टोलीले सबैभन्दा पहिले रत्नशम्शेरलाई सम्झेर ‘फूलै फूलको मौसम तिमीलाई’ प्रस्तुत गरेको थियो भने अन्तिममा राममान तृषितको ‘एक फूल झरेर के भो’ सुनाइएको थियो ।

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार