• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
बिश्व

प्रिन्सेस डायनाका 'नितान्त व्यक्तिगत' चिट्ठीहरू लिलामीमा

काठमाडौं । प्रिन्सेस डायनाले आफ्नो परिवार बस्ने घरको हेरविचार गरिदिने सहयोगी 'हाउसकीपर'लाई पठाएका "नितान्त व्यक्तिगत" हस्तलिखित पत्र र कार्डहरू लिलामीका निम्ति राखिने भएको छ।

 

ती पत्रहरू भायोलेट कलिसनलाई पठाइएको थियो, जसलाई डायनाले "कोली" भन्ने गर्थिन्। उनी डायनाले बाल्यकालीन वर्षहरू बिताएको स्यान्ड्रिङ्घम इस्टेटस्थित पार्क हाउसमा हाउसकीपर थिइन्। कोली डायनासँग निकट थिइन् र उनले डायनासहित प्रिन्स विलियम र ह्यारीलाई उपहारहरू पठाउने गर्थिन्। ती उपहार पाएपछि डायनाले पनि कोलीलाई धन्यवादसहितका पत्र र क्रिसमस कार्डहरू पठाउँथिन्।

 

आउँदो जुलाई ३० तारिखमा हुन लागेको लिलामीमा ती पत्रहरू हजारौँ पाउन्डमा बिक्री हुने ठानिएको छ। किङ्घम प्यालेसको नोटपेपरमा लेखिएको एउटा पत्र प्रिन्स चार्ल्ससँग डायनाको विवाह हुनु जम्मा तीन साताअघि मात्रै कोलीलाई डायनाले पठाएकी थिइन्। "अन्तिम समयमा सजावटको काममा सबै जना असाध्यै व्यस्त छन्," त्यति बेलाकी लेडी डायना स्पेन्सरले लेखेकी छन्: "विवाह गर्न लागेकी दुलहीचाहिँ शान्त छिन्!"

 

सन् १९८४ को सेप्टेम्बरको अर्को पत्रमा डायनाले आफ्ना पूर्व सहयोगीलाई प्रिन्स ह्यारीका लागि उपहार पठाएकामा धन्यवाद लेखेकी छन्। पत्रमा उनले लेखेकी छन्: "विलियमले आफ्नो भाइलाई असाध्यै माया गर्छ र आफ्नो पूरै समय उसलाई म्वाइँ खाएर र अँगालो मारेर बिताउँछ।"

 

लिलामीकर्ता कम्पनी स्वर्डर्सका निर्देशक ल्यूक मक्डोनल्डले पत्रहरू "नितान्त व्यक्तिगत" भएको बताएका छन्। "शाही परिवारको सानो घेराभित्र मात्रै रहने यी कुराहरू अन्यथा हामीले सम्भवत कहिल्यै थाहा पाउँदैनथ्यौँ," उनले भने। "उन-प्रिन्सेस डायना)ले विशेष धन्यवाद भन्न चाहेको तथ्यले उनी कति दयालु, उदार र ख्याल गर्ने खालको थिइन् भन्ने देखाउँछ।" बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार