• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
बिश्व

बाङ्ग्लादेशमा युनुसको नेतृत्वमा सेना समर्थित अन्तरिम सरकार गठन

बाङ्ग्लादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि आन्दोलनकारी विद्यार्थीहरूको मागबमोजिम ८४ वर्षीय प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको थियो। उनले देशका राष्ट्रपतिबाट बिहीवार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन्।

 

उनको मन्त्रिपरिषद्‌मा १६ जना सदस्यहरू हुनेछन्। त्यसमध्ये ढाकाबाहिर रहेका बाहेकको शपथग्रहण गराइएको थियो। सेनाको समर्थनमा अस्थायी रूपमा सत्ताको नेतृत्व गर्ने जिम्मेवारी पाएका उनको काँधमा देशमा स्थिरता कायम गर्ने चुनौती छ।

 

ग्रामीण लघुकर्जामार्फत् गरिबहरूको जीवनस्तर उकास्न भूमिका खेलेकोमा संसारले प्रशंसा गरेका यी अर्थशास्त्रीलाई विगतको निरङ्कुश सरकारले राजनीतिक शत्रु करार गरेको थियो।

 

युनुस बिहीवार नै स्वदेश फर्किएका थिए र लगत्तै उनले "गर्नुपर्ने काम धेरै भएको" टिप्पणी गरेका थिए। "जनताहरू उत्साहित छन्," फ्रान्सबाट ढाका पुगेको केही क्षणपछि युनुसले बीबीसीसँग भनेका थिए।

 

यसैबीच बाङ्ग्लादेशको सेनाले एउटा सर्कुलरमार्फत आफ्नो सहयोगमा देशभरका सबै प्रहरी चौकीका गतिविधिहरू आगामी २४ घण्टामा सुरु हुने बताएको छ।सेनाका प्रमुखसहित नवनियुक्त प्रहरी महानिरीक्षक र अन्य सुरक्षा अधिकारीहरूको बैठकपछि अराजकता, आगजनी, ध्वंस र विध्वंसात्मक गतिविधि नियन्त्रण गर्न कडा कदम चालिने निर्णय भएको जनाइएको छ।

 

सरकारी जागिरमा आरक्षण प्रणालीविरुद्ध सुरु भएको विद्यार्थीहरूको असन्तुष्टिले हिंसक आन्दोलनको रूप लिएपछि निरन्तर १५ वर्ष सत्तामा बसेकी हसिना पदत्याग गर्दै विदेश पलायन भइन्।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार