• आइतबार २-६-२०८१/Sunday 05-19-2024
डबली

बस्ताकोटीलाई शारदा–गोविन्दमान व्यङ्ग्यचित्र पुरस्कार

काठमाडौं । कार्टुनिस्ट महेश बस्ताकोटीलाई शारदा–गोविन्दमान व्यङ्ग्यचित्र प्रतिभा पुरस्कार–२०८१ प्रदान गरिएको छ । १० हजार रुपियाँ राशिको सो पुरस्कार विश्व कार्टुनिस्ट दिवस–२०८१ को अवसरमा आयोजित कार्यक्रममा आइतबार प्रदान गरिएको हो ।

 

कार्टुनिस्ट क्लब नेपालद्वारा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा आयोजित कार्यक्रममा पुराना कार्टुनिस्ट तथा पूर्वमन्त्री रमेशनाथ पाण्डेले सो पुरस्कार प्रदान गरेक्ँ ह्ुन् । कार्यक्रममा उनले पत्रकारितामा कार्टुनको विशेष स्थान हुने भएकाले कार्टुनिस्टको पनि विशेष दायित्व र महत्व हुने बताए ।

 

उनले  नेपाली कार्टुन विदेशीले नबुझ्ने गरेको आफ्नो अनुभव सुनाउँदै कार्टुन विधाले जतिसुकै कठिन विषयलाई सरल र सबैले बुझ्ने शैलीमा प्रस्तुत गर्नुपर्ने कठिन कार्य भएको  जनाए। त्यस्तै कार्टुनिस्ट रामकुमार पाण्डेले कार्टुनको अनुसन्धान हुनुपर्ने, बुलेटिन प्रकाशित गरी पुराना कृति सङ्ग्रह गर्नुपर्ने तथा अग्रज कार्टुनिस्टको अनुभव आदानप्रदान गर्नुपर्ने सुझाए ।

 

कार्टुनिस्ट क्लबका पूर्वअध्यक्ष अविन श्रेष्ठले तीन दशकभन्दा बढी कार्टुन बनाइसकेपछि आफ्नो मात्रै प्रगतिभन्दा नयाँ प्रतिभालाई हौसला प्रदान गर्नुपर्ने बताए । उनका अनुसार एउटा कार्टुनिस्टले अर्को कार्टुनिस्टलाई कार्टुनकै बारेमा पुरस्कार दिन उचित ठानेर कार्टुनिस्टलाई दिने गरी पुरस्कार स्थापना गरेको  हो ।  

 

कार्टुनिस्ट राजेश केसीले नेपाली कार्टुनको इतिहासमा अविन श्रेष्ठको योगदान अतुलनीय रहेको चर्चा गर्दै बाबुआमाको नाममा पुरस्कार स्थापना गरेर कार्टुनको विकासमा थप योगदान पुर्‍याएको बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार