• मंगलबार २-१५-२०८१/Tuesday 05-28-2024
डबली

रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु

काठमाडौं । वर्षा र सहकालका देवता रूपमा परिचित रातो मत्स्येन्द्रनाथको रथ शनिबार बाजागाजासहित ललितपुरको पुल्चोकबाट गाःबहालसम्म पु¥याइएको छ । मत्स्येन्द्रनाथसँगै मीननाथको रथ पनि तानिएको छ । मीननाथ मत्स्येन्द्रनाथका बाबु हुन् । यो रथ अलि होचो हुन्छ । मत्स्येन्द्रनाथलाई रथमा विराजमान गराएपछि परम्परागत पूजा गरि मध्याह्नपछि मात्रै शुभ साइतअनुसार रथयात्रा आरम्भ गरिएको हो ।

 

ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पु¥याएर भोटो देखाइन्छ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलिमा नवनागलाई आसन बनाए ।

 

काठमाडौं उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रही आएको छ । करुणमयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मच्छिन्द्रनाथको रथ ८०० सालमा नरेन्द्रदेवको छोरा राजा वरदेवले बनाउने चलन चलाएका थिए । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने प्रचलन रहेको छ । सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् ।

 

वि.सं. ५४६ देखि जात्रा सुरु भएको किंवदन्ती छ । जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले मनाउँने गरिन्छ । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालिन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ । वैशाख शुक्ल प्रतिपदामा रथ तानेर सुरु गरिने जात्राको अन्त्य असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत सम्पन्न गरिन्छ । भोटो देखाउने परम्परामा विभिन्न किंवदन्ती तथा लोकगाथाहरू रहेका छन् । त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार