• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
मनोरञ्जन

प्रशंसासंगै आलोचना ‘करिम’

काठमाडौं । बादी समुदायका महिला तथा बालिकाले यौन व्यवसायमा सङ्लग्न भएको कथासहितको ‘करिम’ बोलको गीत विवादमा परेको छ । सामाजिक सञ्जालमा करिम गीतले चर्चासँगै आलोचना पनि खेपिरहेको छ । प्रकाश दुतराजको म्यूजिक भिडियो मुख्य विषयवस्तु वादी समुदायका बालिका र युवतीलाई पैसाको लागि जबर्जस्ती यौन कार्यमा लाग्न बाध्य बनाउने पक्ष हो ।

 

सामाजिक सञ्जाल प्रयोगकर्ता सुनिता परियारले करिम भन्ने गीतले नेपाली समाजलाई पुरानै स्थितिमा लिन खोजेको र बादीहरु जति पढेलेखे पनि देहव्यापारी नै हुन भन्ने भाष्यलाई निमार्ण गर्न खोजेको धारणा व्यक्त गरेकी छिन् । गीतले बादी जातिलाई सयौं वर्ष पछाडि धकेल्न खोजिएको आरोप उनको छ । 

 

सुनिता नेपालीले पनि भिडियोमा समावेश केही दृश्य आपत्तिजनक भएकाले हटाउन आग्रह गर्नुभएको छ । उनी लेख्छिन्, “बादी समुदायको वास्तविकता यो होइन । अहिले बादी समुदायका छोरी पनि पढेलेखेका र आफ्नै खुट्टामा उभिएर धेरै राम्रा काम गरेका छन । यस्ता सिर्जनाले गर्दा बादी समुदायका छोरीमा नकारात्मक सामाजिक र मानसिक असर पर्ने भएकाले यो भिडियोको घोर विरोध गर्दछु र केही दृश्यहरु तुरुन्तै हटाउन अनुरोध गर्दछु ।”

 

गायक दूतराजले गीतमा प्रस्तुत गरिएको कथा तथा दृश्य आजभन्दा करिब दुई–तीन सय वर्षअघि भएगरेका घटनामा आधारित कथा र त्यसको दृश्य भएको बताए । उनले करिम गीतको कथा विभिन्न उपन्यास भिडियो, अडियो र इतिहासकारले लेखेका, बोलेका कुरा र प्रत्यक्ष रुपमा कैलाली, चिसापानी लगायत ठाउँमा अध्यन गरेर बनाइएको गीत भएको बताए । गायक दुतराज र गायिका शान्तिश्री परियारको स्वर रहेको १५ मिनेट ११ सेकेण्डको म्यूजिक भिडियो करिम गायक दुतराजकै यूट्यु च्यानलबाट सार्वजनिक भएको हो । 

 

शब्द र सङ्गीत दुतराजकै रहेको गीतमा सङ्गीत संयोजन बिबी अनुरागीले गरेका छन् । भिडियोमा गायक दुतराजसँगै अन्जु चौलागाई, सुस्मिता कुँवर, दिपेश परियार, सन्तोष दुतराज, सर्जुन राई, गौरब गिरी र रोहित देउवाको अभिनय रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार