• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
बिश्व

ताइवानको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली भूकम्प, उद्धारकार्य जारी

ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा धनजनको क्षति भएको विवरण आएको छ। प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।अहिलेसम्म कम्तीमा नौजनाको मृत्यु भएको छ भने आठ सयभन्दा बढी मानिस घाइते भएका छन्।

 

 

क्षतिग्रस्त तटीय क्षेत्रमा पर्ने पहाडी क्षेत्रका सुरुङहरू भत्कँदा त्यहाँ झण्डै १२७ जना मानिसहरू फसिरहेको बताइएको छ।तटीय सुहुआ राजमार्गमा पर्ने एउटा सुरुङभित्र मात्र साठी जना मानिसहरू फसेको ठानिएको छ जसमध्ये होटलका कर्मचारीहरूले भरिएका चार मिनिबस समेत छन्।

 

एक पर्वतीय ह्वालिएन क्षेत्रमा दर्जनौँको सङ्ख्यामा खानीका कामदारहरू समेत सम्पर्कविहीन भएको बताइएको छ।ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ।

 

ह्वालिएन सहरमा धेरै भवन भत्किएका छन्। त्यहाँ उद्धारकार्य जारी छ।सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो।

 

ताइवानको केन्द्रीय आपत्कालीन केन्द्रले स्थानीय समयानुसार दिउँसो ३ बजेसम्म १०१ वटा परकम्प मापन गरिएको जनाएको छ। ताइवानकी राष्ट्रपतिले उद्धारकार्यमा सेना परिचालन गरिने बताएकी छन्।जापान र चीनले ताइवानलाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेका छन्।बीबीसी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार