• बुधबार १-१९-२०८१/Wednesday 05-01-2024
डबली

सुन्दर बिहानीको प्रतीक्षामा

बन्दुकको निशाना लाग्दा लाग्दा

रक्ताम्मे भएको मन

अब नदुख्ने भइसकेको छ

त्यसैले चारैतिरबाट निशाना दागिरहेका

तिनका हातहरू थरथर काम्न थालेका छन्

जब एउटा फूलमा

पहिलो पटक परेको सूर्यको किरण

त्यसको तरेलीमा

टपक्क परेको शीतको दानासँग चिप्लेटी खेल्छ

त्यहाँ कोटी सूर्यको उज्यालो

दिव्यमान भएको हुन्छ

त्यसैले त एउटा शीतको थोपासँग

अजङ्गका बन्दुक बोकेका हातहरू

काम्न थालेका छन्।

त्यो थोपा

कुनैपनि क्षण विलय हुनसक्छ

आफ्नै धारासँग

यहीँको बगरमा,यहीँको पाटामा

तर त्यो दिव्य किरण

उषाको लालिमा बनेर

एउटा सुन्दर बिहानीको प्रतीक्षामा छ 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार