सेतो पर्दा
पर्दाको भुईँ सेतो थियो । त्यसमाथि प्रष्ट छुटिने पहेँला धर्साहरु थिए । पर्दा माथि ठूलो ट्युुबलाइट बलिरेको थियो । कोठा बाहिर रातले कालो रङ्ग बिच्छ्याईसकेको थियो । कौसिको गमलामा रोपेको सयपत्री पहेँलपूर भएर फुलेको थियो तर रातले अँध्यारो छर्किएर त्यसलाई ढाकिदिएको थियो । त्यसैले गमला र सयपत्री दुबै कालो अदृश्य रङ्गमा परिवर्तित भएका थिए ।
ओच्छ्यानमा पल्टिरहेको बेला कमल सोच्दै थियो , “भोलि हुन्छ अनि हिँडौँला ।” तर हिँड्ने कहाँ ? सबै कुरा अनिश्चित थियो । घर त छोड्ने तर कहाँ जाने होला ? पर्समा जम्मा गरेर राखेको केही ‘हजार ’ ले जिवन कतिदिन धान्ला ? रोजगारी पाइएला ? वा मृत्युको बाटो रोज्ने ? कहालिलाग्दो रातले उसका विचारलाई अनियन्त्रित गरिरहेको थियो ।
उसले ठूलो झोलामा सुटुक्क कपडा पट्याएर राखेको थियो । चिउराको सानो पोको प्लाष्टिकको झोलामा थियो । त्यसलाई पनि कपडा राखेको भिर्ने झोलामा राख्यो । पानीको बोत्तल बेलुकै ठिक पारेको थियो । रातीनै हिँड्यो भने मान्छेहरुले ‘चोर’ भन्लान । बिहानै उठ्यो भने घरका मान्छेले थाहा पाउने भए ।
मन दोधारमा थियो । “ओहो साँढेतीन भएछ । अब त हिँड्नुपर्छ ”, कमलले आफैंँसँग भन्यो । केही दिन अगाडि पनि उसले घर छोड्न प्रयास गरेको थियो । आमा ऊ भन्दा अगाडि उठिन् र उसको प्लान फेल खाएको थियो । अर्थात यो उसको दोश्रोपटकको घर छोड्ने प्रयास थियो । यसपटक त सुटुक्क घर छोड्ने योजना सफल हुन्छ – हुन्छ, भन्ने कुरामा विश्वस्त थियो ।
ब्याग भिर्यो । बोत्तल समात्यो बिस्तारै ढोका खोल्यो । ढोकामा एउटा कागज अल्झाईदियो । जसमा लेखेको थियो ,
म काम खोज्न हिँडेको छु आमा । दुई वर्ष पछि मात्र फर्किन्छु ।
(कमल )
बाहिरी गेटको साँचो बिस्तारै खोल्यो र साँचो ताल्चामै झुण्डाइदियो । यी सबै कुरा ‘बिरालो ’ को चालझैं सुस्त गतिले भएका थिए । धन्न यसपटक कोही अरु ब्युँझिएन ।
बिहानै गाडी चलिसकेको थिएन । त्यसैले ऊ लुखुर लुखुर हिँड्न थाल्यो । बाटोमा कुकुर भुक्थे तर पनि उसले हिँड्न छोडेन । एक वर्ष अघि उसले आत्महत्या गर्ने योजना बनाएको थियो । यो योजना उसले सुटुक्क काकी आमालाई भन्यो । काकीले झपार्छिन भन्ने सोचेको थियो तर उनले गाली गरिनन् । सम्झाइन् । रोगले मृत्युको नजिक पुगेकाहरु र जीवनका लागि इश्वरसँग याचना गरिरहेका थुप्रै मानिसहरुको उदाहरण दिइन् ।
“ बाबु ! मानव जूनी फेरी पाइँदैन”, उनले भनिन् । काकी आमाको कुरा धेरै बेर सुनिसकेपछि उसलाई जिवनको माया लागेर आयो । उसले हिसाब निकाल्यो, किड्नीको चार लाख, कलेजोका तीन लाख, आँखाको दुई लाख मटुको पाँच लाख । हात गोडा, मस्तिष्क सबै गर्दा जिवन ‘अमूल्य’ । पैसा तिरेर पनि पाइँदैन । त्यसदिन नै उसले आत्महत्या गर्ने योजना त्यागिदियो । तर पटक पटक उसको मस्तिष्कमा यस्ता कू– विचार नआएका होइनन् । तैपनि उसले त्यस्ता विचारलाई अरुनै कुराले ढाकिदिन खोज्यो ।
उमेर पुगेको छोरो, कमाएर खाओस् भन्ने बाबुआमाको सोचाई थियो ।
ब्याचलर पास गरेपछि बाबु आमाले ‘ जागिर ’ खोज भन्न थाले । बहिनीले प्लस टु सकेपछि पढाउन थालिन् । उसले काम खोज्यो आफ्नो योग्यता अनुसारको । स्कुल स्कुलमा लगेर बायोडाटा दियो । जताजता भ्याकेन्सी खुलाउँछ उतै कुद्थ्यो । हात लाग्यो सुन्य ।
ब्यापार ब्यबसाय गर्न लगानी गर्नसक्ने क्षमता थिएन । ऋण झिक्न धितो राख्नुपर्ने । सोचे अनुसारको जागिर भेटिएन । त्यसमाथि बाबु आमाको करकर छँदै थियो । उसलाई आफू केही गर्न नसक्ने ‘नालायक ’ झैं लाग्यो । साथीभाइ धमाधम जागिरतिर अल्झिन थाले । त्यसपछि त उसले कमाउने सोच बनायो ।
सुटुक्क घर छोडेर भाग्ने । कसैले नचिन्ने ठाउँमा जाने । सानातिना काम भएपनि गर्ने । एक दुई लाख जति जम्मा गरेपछि आफ्नै ब्यबसाय सुरु गर्छु भन्ने सोच्यो । ऊ गाडि चढ्यो । फेरी सोच्यो , यतिखेर बाबुआमा उठीसके होलान् । उसले कागजमा लेखेर राखेको खबर पढे होलान् । मोबाईल डायल गरेहोलान् । मोबाईलको घण्टी घरकै कोठामा बझ्यो होला।
त्यसपछि खै के भयो ।
अबको दुई वर्ष ऊ परिवार सामू बेखबर हुनेछ । गाडी चढ्यो ।
अर्को एक रात गाडीमै बितायो । अनि ओर्लियो । त्यस ठाउँको लागि ऊ नौलो थियो । गाडीहरु आवत जावत गरिरहेका थिए । मान्छेहरुको भिड थियो । बस बिसौनी भन्दा केही पर गएर उसले झोला खोल्योे । चिउराको पोको झिक्यो र चबाउन थाल्यो ।
त्यसपछि होटल अगाडि गएर सोध्यो , “दिदी यहाँ काम पाइन्छ ? ”
होटलकी साहुनीले भनिन् , “अहिले त छैन भाइ । मान्छे चाहिए खबर गरौंला नि ! नम्बर छोडी राख्नू नी !”, साहुनीले औपचारिकता पूरा गरेझैं गरेर भनिन् ।
“नम्बर त छैन । बरु बेलाबेलामा आउँदै गरौंला नि । ”
उसले अर्को होटलमा गएर सोध्यो , “काम पाइएला की ? ”
“अहिले त थुपै्र केटाहरु छन् । खाली छैन । ”
उसले दिक्क मान्यो । त्यसपछि बाटोमा हिँडिरहेको मानिसलाई ‘दाजु’ भनेर बोलायो । र फेरी भन्यो , “दाजु काम खोजिदिनुस् न ।” अपरिचित मानिस अलमल्लमा पर्यो र दुईसय रुपैयाँ ऊ भएतिर मिल्काइदियो र आफ्नो बाटो लाग्यो । उसलाई पैसा हैन, पैसा आर्जन गर्न काम चाहिएको थियो । त्यसैले त्यस अपरिचित ब्यक्तिको पैसा फिर्ता गर्न खोज्यो । तर त्यो मानिस मतलबै नगरी आफ्नो बाटो लागिसकेको थियो ।
त्यसपछि कमलको मनमा एउटा विचार आयो । नजिकैको ठूलो पसलबाट दुई थान जुत्ताको पालिस किन्यो । दुईवटा जुत्ताको ब्रस अनि टाँस्ने कुरा किन्यो ।
झोलाबाट खाली कागज निकाल्योे र ठूलो अक्षरमा लेख्यो “यहाँ जुत्ता पालिस गरिन्छ ”
दिउँसभरीमा उसले चारसय रुपैयाँ जम्मा गरिसकेको थियो ।
उसले बास बस्न होटल खोज्यो । बेलुकी बास बसेको होटलमा सेतो पर्दा थियो । त्यसमा उज्याला रङ्गका फूलका बुट्टाहरु थिए । उसले सोच्यो ‘आत्महत्या ’ गरेको भए उसको आत्मा कहाँ पुगिसक्थ्यो ? शरीर खरानी भइसक्थ्यो । मान्छे विकल्प खोज्दैन जिवन देखि नै तर्सिन्छ । साँच्ची संघर्ष पछिको जिवनको उज्यालो कति सुन्दर हुँदो रहेछ ।
sabinasindhu@gmail.com
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस