• सोमबार १-१७-२०८१/Monday 04-29-2024
डबली

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ। गत साता निमोनियाका कारण ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार डिस्चार्ज गरी निवास कालिकास्थान ल्याइएको थियो । 

 

निवासमा शौचालय जाँदा उनी  बेहोस भएका थिए । त्यसपछि उनलाई पुतलीसडकस्थित हिमाल अस्पतालमा लगिएको थियो । हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

 

विसं १९७९ फागुन ६ मा काठमाडौंको गौरीधारामा जन्मिएका दीक्षितको ‘माधवी’ उपन्यास चर्चित मानिन्छ। माधवी उपन्यासकै लागि उनलाई २०३९ सालमा मदन पुरस्कार समेत प्रदान गरिएको थियो।

 

दीक्षितका ‘माधवी’, ‘ऋग्वेदः केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्, मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ, कसले जित्यो कसले हार्‍यो ? (कथासंग्रह), दशलाख हिरोसिमातिर लगायत ४६ कृति छन् ।

 

उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कार लेखनाथ साहित्य पुरस्कार, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान लगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।

 

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार