• सोमबार ६-२७-२०७६/Monday 10-14-2019
रंगमञ्च

‘आफनो काम गर्ने हो, अरुको चासो गर्ने फुर्सद छैन’

रंगमञ्चमा प्रवेश गर्नुभएको कति भयो ? 
म २०४५ सालबाट यो क्षेत्रमा लागेको हुँ । त्यसभन्दा अघि म खेलाडी थिए । त्यो समयमा म देशको राम्रो खेलाडीमा गनिन्थे । म ह्रयाण्ड बलको राष्ट्रिय खेलाडी हुँ । मैले नेपालको तर्फबाट प्रतिनिधित्व गरेर एसियन च्याम्पियनसम्म खेलिसकेको थिए । त्यसभन्दा अघि भलिबलमा पनि सहभागिता जनाएको थिए । भलिबलमा कोशी अञ्चलबाट प्रतिनिधित्व गरेर राष्ट्रियस्तरसम्म खेलेको छु । मैले देशको प्रतिनिधित्व गरेर धेरै अन्तराष्ट्रिय खेलहरुमा आफनो सहभागिता जनाएको छु । खेलकुद या खेलाडी  भनेको एउटा निश्चित उमेरसम्मको लागि मात्र हुँदोरहेछ । मान्छेको उमेर बढ्दै गएपछि उसको शरीरमा ताकतको मात्रा कम हुँदै जान्छ । त्यसपछि मान्छे खेलकुदबाट रिटायर्ड हुन्छ । तर कलाकारिता, रंगमञ्चबाट भने मान्छे हत्तपत्त रिटायर्ड हुँदैन । फेरी म बिराटनगरमा बस्ने । त्यतिबेला माहोल कस्तो थियो भने, बिराटनगरमा रंगशाला र सभागृह नजिकै थियो । खेलाडी र कलाकारहरुले चिया खाजा खाने पसल एकदुईवटा मात्र थियो । सबैजना त्यहि चिया खाजाखान आउने हुँदा सबैसंग राम्रो चिनजान र सम्बन्ध थियो । बसन्त भट्ट, बिशाल पोखरेल, भैरव क्षेत्री उहाँहरुकै सल्लाह सुझावले २०४५ साल देखि रंगमञ्चमा लागेको हुँ । मैले पहिलो अभिनय गरेको नाटक ‘यहाँको माटो बोट बिरुवा र मालीहरु’ हो जसमा मलाई मुख्य भुमिका दिइएको थियो । त्यहाँबाट मेरो रंगमञ्चको यात्रा शुरु भएको हो । 

 

त्यसपछि काठमाडौंको एकेडेमीमा राष्ट्रिय नाटक महोत्सव हुँदै थियो । त्यसमा नाटकमा भाग लिनका लागी भनेर आरोहण बिराटनगरबाट ‘कफ्र्यु’ भन्ने नाटक हामीले लिएर आएका थियौं । काठमाडौंमा सुनिल पोखरेल लगाएत अरु नाट्यकर्मीहरुसँग मेरो भेट भयो । उहाँहरुसँग मेराने चिनजान पहिला पनि थियो तर कफ्र्यु नाटक यहाँ गरिसकेपछि उहाँहरुसँगको मेरो चिनजान अझ धेरै गाडा हुँदै गयो । 

 

मैले नाटक नगरेको पनि निकै वर्ष भयो । करिब १२ वर्षको अन्तराल पछि मैले ‘महाभोज’ नाटक गरेको हुँ । मैले अन्तिम गरेको नाटक भनेको ‘पुतलीका घर’ हो । म रंगमञ्चबाट अलिकति टाडा पनि भए । त्यसमा मेरा आफना केही वाध्यताहरु र जिविकापार्जनका कुराहरु थिए । 
 

 

त्यतिबेलाको रंगमञ्च माहोल कस्तो थियो ? 
त्योबेला रंगमञ्चको माहोल र अहिलेको माहोलमा धेरै फरक भईसकेको छ । त्यतिबेला सुनिल पोखरेल एक्लैले हिम्मत गरेर आरोहण गुरुकुल शुरु गरेका हुन । आरोहण भनेको पहिला देखि नै थियो । गुरुकुल भनेको चाहि नाटक पढाउने स्कुल हुनुपर्छ भन्ने उदेश्यले खोलिएको थियो । गुरुकुलले बिद्यार्थीहरुलाई पढाएर रंगमञ्च सम्बन्धी ज्ञान दिने काम गर्यो । आरोहण भनेको नाटक गर्ने ठाउँ हो र रंगकर्मीहरुको जमात हो । 

 

त्यसपछि मैले ‘पुतलीको घर’ भन्ने नाटक करिब दुईसय शो गरे होला । नाटक नेपालबाट बिदेशमा हुने  अन्तराष्ट्रिय नाटक महोत्सवहरुमा पनि देखाइयो । त्यसभन्दा अघि भारतसम्म ‘अग्निको कथा’ गएको थियो । तर पछि पुतलीको घर नर्वे इस्टर्न फेस्टिवलमा भाग लिन गयो । त्यहाँ नाटकले राम्रो प्रतिक्रिया पाएको थियो । 

 


तपाई लामो समय रंगमञ्चबाट टाडा हुनुको कारण के थियो ?  
त्यतिबेला नाटकमा अभिनय गरेर खासै पैसा कमाउने बाटो थिएन । परिवारलाई पाल्नु पर्यो । त्यसैले  मैले आफनै व्यवसाय शुरु गरे । मैले कुरियरको व्यवसाय शुरु गरेको थिए र त्यो राम्रो नै चलेको थियो ।  रंगमञ्चबाट केही समय टाडा नै भए । मैले अरु व्यवसाय गरे पनि मेरो मन फेरी रंगमञ्चमा नै घुमिरहेको हुनथ्यो । अहिले मलाई के लाग्दैछ भने अब उमेर पनि बित्यो । मैले के पनि सोचे भने काम भनेको आफनो अन्तरआत्माले जे गर भन्छ त्यही गर्नुपर्छ । अब रंगमञ्च पहिलाको जस्तो पनि छैन र आफनो चाहना भएको क्षेत्र पनि यही हो भनेर फेरी म रंगमञ्चमा नै फर्किए । मलाई यो नाटक महाभोजमा ल्याउनुमा अनुप बराल, राजन खतिवडाको ठुलो हात छ । म उहाँहरुलाई बिशेष धन्यवाद दिन्छु । 

 

म जहिले पनि आफनो काम प्रति बफादार भएर काम गर्ने मान्छे । मैले आफुलाई कहिले प्रचार गर्ने तिर सोचिन । यो किनभने हामीले राम्रो काम गर्यो भने त्यसको प्रचार आफै हुन्छ । तर अहिले यो मेरो सोचले मात्र काम गर्दैन रहेछ । मेरो क्षमता कति छ भन्ने कुरा अरुलाई थाहा दिनका लागी अरुलाई भन्नु पर्ने अवस्था पनि आउँदो रहेछ । 
 

 

तपाई त गुरुकुलबाट आउनुभएको, कस्तो देख्नुहुन्छ गुरुकुलको भविष्य ? 
मलाई यही कुरा यो भन्दा अगाडि एकजना साथीले पनि सोध्नुभएको थियो । मैले के भनेको थिए भने गुरुकुल बन्द भयो तर गुरुकुलले आफनो कामहरु त बन्द गरेन नी । तर गुरुकुल बन्द भयो जस्तो मलाई लाग्दैन गुरुकुल त झन बिस्तारै बिस्तारै फैलिँदै छ । किनभने आज हामी मण्डला, शिल्पी र अन्य नाटकघरहरु देख्छौं । त्यहि नाटक चलाउनेहरुले नाट्यकर्म कहाँ सिके भन्दा त्यहि गुरुकुबाट नै हो । रंगकर्मी सुनिल पोखरेलले कमसेकम केही भाईहरुलाई त तयार गर्नुभयो नी । गुरुकुल बन्द भयो भन्दा पनि त्यहाँ गरिने कार्यहरु बन्द भए होलान तर आरोहण बन्द भएको छैन । अहिले कलाकारहरुले आफनै मेहिनतले काम गरेको भन्नु ठिक हो तर उनीहरुलाई यहाँसम्म ल्याउने काम त गुरुकुलले गरेको हो । गुरुकुलबाट रंगमञ्चको बारेमा पाएको शिक्षाले नै उनीहरु आज यहाँसम्म पुगेका हुन । यो कुरालाई उनीहरुले बिर्सनु हुँदैन । 
 

 

अहिले रंगमञ्चको भविष्य कस्तो देख्नुहुन्छ ? 
अहिले रंगमञ्च धेरै राम्रो भएको छ । रंगकर्मीहरुको एउटा फरक जमात तयार भएको छ । हाम्रो पालामा रंगमञ्चमा पढेर आउने मान्छे अलि कमै थिए । सुनिल पोखेरल, अनुप बराल पढेर आउनुभयो र उहाँहरुले पढेको ज्ञान अरुलाई बाड्नु भएको छ । अहिले नेपाल कोही यही बसेर रंगमञ्च पढिरहेका छन् कोही बिदेशबाट पढेर आएका छन् । रंगकर्मी साथीभाईहरुले गुरुकुल बन्द भएपछि बिदेश गएर आफनो तरिकाले अरु त्यो भन्दा बढि ज्ञान लिएर आउनुभयो । त्यो राम्रो काम गर्नुभयो । नाटकमा मात्रै पुराना लगनशील भएका मान्छेहरु आफनो दक्षता अनुसार यो क्षेत्रमा लागे भने यो क्षेत्रले सफलता हासिल गर्छ । अहिले नाटकमा म यी सब कुराहरु देखिरहेको छु । धेरै मान्छेहरु यसैलाई आफनो भविष्य मानेर लागिरहनु भएको छ जुन एकदमै राम्रो पनि हो । 
 

 

गुरुकुल बन्द हुनुको कारण के थिए ? 
गुरुकुल बन्द हुनु अघि नै म गुरुकुलबाट टाडा भइसकेको थिए । त्यसैले पनि मलाई यसबारे धेरै कुराहरु थाह छैन । जग्गाको अवधी सकिएको हुनाले गुरुकुल बन्द भएको भन्ने मैले सुनेको हो । अब त्यस भित्र पनि अन्य कारणहरु रहेछन् भने त्यो मलाई थाहा भएन । 
 

 

तपाई भनेपछि १२ वर्षको लामो अन्तरपछि रंगमञ्चमा जम्ने तरखरमा हुनुहुन्छ, होइन ? 
अब यसमा साथीभाइको साथ हौसलाले के भन्छ त्यहि हुने हो । मेरो एकजना दाई हुनुहुन्थ्यो, कलाकार बिष्णुभक्त फुयाल । उहाँ नाटक गर्दा गर्दै बित्नु भयो । उहाँ जहिले के भन्ने गर्नुहुन्थ्यो भने, शेखर भाई मलाई केही चाहिँदैन, नाटक गर्दा गर्दै यो प्राण जाओस् । मेरो अन्तिम इच्छा त्यहि छ । भगवानले पनि उहाँको कुरा सुनेछन् क्यारे, उहाँले जस्तो सोच्नु भएको थियो त्यहि नै भयो । म त्यसरी त भन्दिन तर अब मेरो इच्छा भनेको आफनो कामलाई निरन्तरता दिने । 

 

प्रस्तुति : सुकृत नेपाल


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार