• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
रंगमञ्च

एउटा लेखकको कथा 'कल्पान्तर'

काठमाडौं । नाट्यसम्राट बालकृष्ण समको १२१औँ जन्मजयन्तीको अवसरमा देशैभरि विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाइएको छ । यसै अवसरमा सांस्कृतिक संस्था जमलले विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेर बालकृष्ण समको जन्जमयन्ती मनाएको छ । सांस्कृतिक संस्थानमा विभिन्न विधामा प्रशिक्षण लिएको प्रशिक्षार्थीहरुले आफ्नो आफ्नो विधामा प्रस्तुति दिएका छन् । 

 

अभिनय प्रशिक्षणको ३१औँ ब्याचले पुरु लम्सालको लेखनमा सवनम सिलवाल र रामभजन कामतको निर्देशन रहेको नाटक 'कल्पान्तर' को मञ्चन गरेको छ । नाटकले एउटा लेखकको विषयलाई उठान गरेको छ । एउटा कवि आफ्ना सिर्जनाहरुले चर्चित रहेको अवस्थामा पनि उसको पारिवारिक अवस्था र आर्थिक अवस्था कति कमजोर रहेको छ भन्ने कुरा नाटकमा देखाइएको छ । कवि लेखकका रुपमा देशमा स्थापित धेरै व्यक्तिहरु आज पनि  उपरचारको अभावमा आफ्नो जीवन गुमाइरहेका छन् । राज्यले लेखक कलाकारहरुलाई वेवास्ता गरेको विषय नाटकमा देखाइएको छ ।

 

नाटकमा सिजेन्द्र थापा, भुमिका परियार, जुनिका खड्का, नवीन चौहान, विनोद लोहार, समीर घिमिरे, सुशील गौतम, आशिष  मगर, निणर्य विक्रम डंगोल, सौगात आचार्य, राधा बस्नेत, मोहम्द  समिर आलम, यादव वहादुर बस्नेत, राम कुमार  श्रेष्ठ लगाएतको अभिनय रहेको थियो । 

 

सम जयन्तीकै अवसरमा नीलकण्ठ प्रज्ञाप्रतिष्ठान धादिङले तीन दिवसीय अभिनय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । अभिनय प्रशिक्षण कार्यक्रममा नीलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालय र कलेजका गरेर तीस जना प्रशिक्षर्थीहरुको सहभागीता रहेको प्रतिष्ठानकी सदस्य सृजना अर्याल अधिकारीले जानकारी दिए। प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् वागमती प्रदेश सभासदस्य गोविन्द लम्सालले यस्ता प्रशिक्षण कार्यले ब्यक्तीत्व विकासमा रहयोग पुग्ने बताए । नीलकण्ठ प्रज्ञाप्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दहालले बालकृष्ण समको बारेमा चर्चा गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्राज्ञ पुरु लम्साल प्रशिक्षकका रुपमा सहभागी थिए ।

 

नेपाली नाटक लेखनको इतिहासमा पहिलो मौलिक नाटक लेखकका रुपमा बालकृष्ण समलाई लिइन्छ । लेखन, अभिनय र निर्देशन तीनवटै पाटामा काम गर्नु भएको समको डेढ दर्जन नाटकका पुस्तक प्रकाशित छन् । कवितात्मक वा गद्यात्मक एवम् सुखान्त वा दुखान्त दुवै सिर्जनामा समलाई अब्बल मानिन्छ । बालकृष्ण समलाई आधुनिक नेपाली नाटकका प्रारम्भकर्ता पनि मानिन्छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार