उकालो अनलाइनका सागर बुढाथोकीले पाए यस वर्षको ‘नेपाल एएमआर मिडिया अवार्ड’
काठमाडौं । एएमआरसम्बन्धी विषयमा उत्कृष्ट लेखन तथा पत्रकारितामार्फत योगदान पुर्याउने पत्रकारलाई सम्मान तथा अवार्ड प्रदान गरिएको छ ।
यस वर्षको ‘एक्सीलेन्स इन एएमआर रिपोर्टिङ अवार्ड’ उकालो अनलाइनमा कार्यरत पत्रकार सागर बुढाथोकीले प्राप्त गरे। उनले १५ हजार नगदसहित अवार्ड पाएका हुन् ।
यसैगरी स्पेशन मेन्सन अवार्ड पाउनेहरुमा गोरखापत्र दैनिकका सरोज ढुंगेल, नेपालखबरकी प्रज्ञा तिम्सिना, थाहाखबरकी सबिना खनाल, जुनखबर डटकमकी जुनु भट्टराई र अनलाइनखबरकी मनिषा थापा रहेका छन। उक्त अवार्ड ग्लोबल एएमआर मिडिया अलायन्स नेपाल च्याप्टरले प्रदान गरेको हो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालकी एएमआर फोकल पर्सन डा पल्पसा कंसाकार, एफएओ का लाइभस्टक एण्ड वान हेल्थ एड्भाइजर डा सुरेन्द्र कार्की स्वास्थ्य मन्त्रालयबाट शिवानी खड्गी तथा गामा नेपालबाट कल्पना आचार्यले आ-आफनो प्रस्तुती दिएका थिए ।
एन्टीमाइक्रोबियल औषधीहरुले पहिला मार्ने जीवाणु वा किटाणुलाई मार्न नसक्ने अवस्था सृजना हुनुलाई प्रतिजैविक प्रतिरोध अर्थात एन्टीमाइक्रोबियल रेसिस्टेन्स भनिन्छ । यो समस्या मानव स्वास्थ्यमा मात्र सीमित नरहेर पशु स्वास्थ्य, कृषि, वातावरण तथा खाद्यसँग पनि सम्बन्धित छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ब्याक्टेरियाजन्य एन्टीमाइक्रोबियल रेजिस्टेन्सकै कारण विश्वभर प्रत्येक वर्ष ४७ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। यसको नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम नचालिए सन् २०५० सम्ममा एएमआरका कारण यो संख्या बढेर ३ करोड ९० लाखसम्म मानिसको मृत्यु हुन सक्ने अनुमान छ।
साथै,यसले विश्व अर्थतन्त्रमा वार्षिक अरबौं अमेरिकी डलर आर्थिक क्षति पुर्याउन सक्ने देखिएको छ। यसको प्रभाव विशेषगरी न्यून तथा मध्यम आय भएका देशहरूमा अझ बढी पर्ने जोखिम रहेको पनि देखिएको छ।स्मरण रहोस् हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्व एन्टीमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह मनाउने गरिन्छ । यस वर्षका नारा ‘एक स्वास्थ्य एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ रहेको छ ।





प्रतिकृया दिनुहोस