• मंगलबार ५-३०-२०८३/Tuesday 09-15-2026
रंगमञ्च

अवस्थी निर्देशित नाटक ‘लौरो’ मञ्चन

काठमाडौं । नाटक ‘लौरो’ को मञ्चन सुरु भएको छ । ललितपुर-१५, सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थी अभिनीत नाटक बुधबारदेखि कुञ्ज थिएटरमा मञ्चन सुरु भएको हो । हजुरबुवा र नातिनीको सम्बन्धमा आधारित नाटकले देशको वर्तमान अवस्थासँगै युवा विदेश पलायन र त्यसका कारण गाउँमा युवाको संख्या घट्दै गएको विषयलाई उजागर गर्छ । गाउँमा युवाको अभाव, वृद्ध बुवा-आमाको एक्लोपन र बढ्दो पारिवारिक दूरीलाई नाटकको कथावस्तुमा समेटिएको छ ।

 

युवाहरु आफ्नो र आफ्ना सन्तानहरुको उज्जवल भविष्य भन्दै विदेशिने र त्यसले निम्त्याएको समस्या जस्तै गाउँमा युवाहरूको अभाव,बुवा आमाको एक्लोपन, पारिवारिक दुरी नाटकमा दर्शाउन खोजिएको निर्देशक पुष्पराज अवस्थीले बताए । नातिनी आफ्नो बुवा आमा भेट्ने पर्खाईमा छिन् भने हजुरबुवा र हजुरआमा छोरा बुहारी भेट्ने पर्खाईमा । यसरी हजुरबाले नातिनीको र नातिनीले हजुरबुवाको लौरोको काम गरिरहेका छन् । यो नै नाटक लौरो को कथा हो । 

 

संरक्षण मिश्र, रिमुन दाहाल, सुशना सञ्जेल, अग्रता अधिकारी, आरोग्य श्रेष्ठ, अभिमान श्रेष्ठ, अभिमन्यु भट्ट, लगाएतको अभिनय रहेको नाटकको मञ्च व्यवस्थापन प्रसिज घिमिरेले, प्रप्स व्यवस्थापन रेश्मी राईले, प्रकाश परिकल्पना प्रकाश दाहालले गरेका छन्  । रुबिन सुनार सहायक निर्देशकको रुपमा देखिएका नाटकको लेखन  निर्देशक  अवस्थीले नै गरेका हुन् । नाटक मञ्चनले विधार्थीलाई अभिनयको सीप मात्र नभई संवादकला, अभिव्यक्ति क्षमता, समूहमा काम गर्ने संस्कार, समय व्यवस्थापन र आत्मविश्वास विकास गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विधालयका प्रशासण प्रमुख रामरमण हुमागाईले बताए । नाटक शनिवारसम्म दैनिक तीन सो मञ्चन हुनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार