• मंगलबार ५-३०-२०८३/Tuesday 09-15-2026
अर्थ

म्याक्ससद्धारा विपद् प्रभावितलाई ८० लाख रुपैयाँ बराबरको राहत सहयोग

काठमाडौं । म्याक्सस नेपालले हालैको विपद्बाट प्रभावित समुदायका लागि ८० लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ। एसएआईसी म्याक्सस चीनको सहयोग र हिमालय अर्गनाइजेसनको समन्वयमा कम्पनीले सो राहत उपलब्ध गराएको हो। यसमा प्रत्यक्ष आर्थिक सहयोगसँगै स्वच्छ खानेपानी र आवश्यक राहत सामग्री समावेश छन्।

 

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। उक्त चेक केही दिनअघि नै अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो। बाँकी ३० लाख रुपैयाँ बराबरको रकमबाट त्रिशुली नदी पारिका विपद् प्रभावितलाई प्रत्यक्ष सहयोग गरिएको छ। नुवाकोटका दुई स्थानमा रहेका होल्डिङ सेन्टरमा स्वच्छ खानेपानीका लागि ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ।राहत वितरण कार्यमा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र प्रबन्ध निर्देशक मिलन थापा प्रत्यक्ष संलग्न थिए।

 

विपद् प्रभावितका लागि दुईवटा अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको कम्पनीले जनाएको छ। नुवाकोटको त्रिशुलीस्थित भैरम माध्यमिक विद्यालयमा एउटा प्लान्ट राखिएको छ। त्यहाँ हाल ३ सय परिवारले अस्थायी आश्रय लिइरहेका छन्। यस्तै विदुर नगरपालिकाको त्रिशुली प्राथमिक विद्यालयमा अर्को प्लान्ट जडान गरिएको छ। जहाँ २ सय परिवार अस्थायी रुपमा बसिरहेका छन्।

 

सौर्य ऊर्जाबाट चल्ने यी प्रणालीले प्रतिघण्टा १ हजार लिटर पानी शुद्धीकरण गर्ने क्षमता राख्छन्। यसबाट आश्रयस्थलमा रहेका परिवारले सुरक्षित खानेपानी पाउने छन्। विद्यालय पुनः सञ्चालन भएपछि त्यहाँका विद्यार्थीलाई समेत यसले सहयोग पुग्ने छ।


म्याक्सस नेपालले झन्डै ४ सय जनालाई पुग्ने अत्यावश्यक राहत सामग्री पनि वितरण गरेको छ। राहत सामग्रीमा डसना, सिरानी र तन्ना जस्ता सुत्ने सामान छन्। औषधि, आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न र तरकारी पनि उपलब्ध गराइएको छ। खाना पकाउने भाँडाकुँडा र महिला, पुरुष तथा बालबालिकाका लागि कपडा पनि वितरण गरिएको छ।

 

यस्तै लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ गभर्नर रामराजा थापा र अन्य पदाधिकारी पनि सहभागी थिए। यो राहत कार्यक्रम म्याक्सस नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अर्थात् सीएसआर अन्तर्गत गरेको हो। ‘विपद्को समयमा समुदायलाई सहयोग गर्नु हाम्रो जिम्मेवारी हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार