• सोमबार ३-२-२०८२/Monday 06-16-2025
बिश्व

"कसरी बाँचेँ विश्वासै गर्न सक्दिनँ"

काठमाडौं। बिहीवार अहमदाबादमा भएको एअर इन्डियाको विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेकाहरूले उक्त विमानको डिजिटल भिडियो रेकर्डर फेला पारेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

अधिकारीहरूले अझै उक्त विमानको ब्ल्याक बक्सको खोजी गरिरहेको बताएका छन् जुन उपकरणले तिनीहरूलाई विमान दुर्घटना हुनुको खास कारण थाहा पाउन सहयोग पुर्याउन सक्छ।

 

उक्त बोइङ ७८७ ड्रिमलाइनर विमान उडानको केही समयभित्रै दुर्घटनाग्रस्त हुन पुगेको थियो। उक्त विमानमा २४२ जना सवार थिए भने एकजना यात्रु जीवित रहन सफल भएका थिए। परिवारले शारीरिक चिन्हहरूका आधारमा सनाखत गर्न सकेका छ वटा शवहरू उनीहरूलाई हस्तान्तरण गरिएको भारतीय प्रहरीले जनाएको छ।

 

भयानक विमान दुर्घटनामा बाँच्न सफल ब्रिटिश नागरिक विश्वासकुमार रमेशलाई आफू कसरी बच्न सकेँ भनेर 'कुनै पत्तो' नभएको उनका आफन्तहरूले बताएका छन्।

 

यूकेको लेस्टरस्थित उनको घरबाहिर उनका भाइ नयनकुमारले भने: "हामी यो खबर सुनेदेखि नै स्तब्ध थियौँ।" दुर्घटनापश्चात् आफूसँग कुरा गर्दै विश्वासकुमारले भनेको उद्धृत गर्दै उनले भने: "मलाई थाहा छैन म कसरी प्लेनबाहिर आइपुगेँ।"

 

जय नामका अर्का आफन्तका अनुसार दुर्घटनाबाट बचेपछि विश्वासकुमारले उनका पितासँग कुरा गर्दा सोही विमानमा भएको ठानिएका उनका अर्का भाइ अजयको बारेमा सोधेका थिए। जयले भने, "विश्वासकुमारका पिताले बताएअनुसार उनको मुहारमा केही चोटपटक लागेको छ। रगताम्मे थिए – उनले त्यति भने।"

 

नयनकुमारका अनुसार विश्वासकुमारले उनीहरूलाई फोन गर्दा 'अजयलाई खोज, अजयलाई खोज' भनेका थिए। विश्वासकुमार उक्त बोइङ् ७८७ उडानमा ११ए अङ्कको सिटमा थिए। सामाजिक सञ्जालमा राखिएका भिडिओमा रमेश एम्बुलेन्सतर्फ हिँडिरहेको देखिन्छ, पछाडि धुवाँको मुस्लो छ।

 

उनलाई अस्पतालमा पुगेर भारतीय गृहमन्त्री अमित शाहले भेट गरेका छन्। उनलाई उपचार गरिरहेका चिकित्सक डा धवल गामेटीले भने: "उनको शरीरभरि घाउहरू छन्। अलि आफ्नो वरपर के भएको छ भन्ने भेउ नपाएको जस्तो देखिन्छन्। तर खतरामुक्त देखिन्छन्।" भारतमा जन्मिएका उनी यूकेमा सन् २००३ देखि बस्दै आएका थिए। उनको पत्नी र चार वर्षीय एक छोरा छन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार