‘जनै हराएको मान्छे’को गहकिलो गीत ‘आमा’

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आमा’ गीतमा अर्जुन पोखरेलको शब्दरचना, संगीत र स्वर रहेको छ भने साथमा मनिषा सुनारको पनि आवाज रहेको छ ।
गीतमा विभिन्न आरोह र अबरोह छन् । लयमा रहेको उतारचढावले आइरहेका आम गीतभन्दा केही फरक देखिएको छ । लयमा रहेको भेरिएसनले गीतलाई गहकिलो बनाएको छ ।गीतले सिनेमाको सार बोलेको छ । चलचित्रको मुख्य कलाकारले घर छोड्दादेखि सहरमा गरेको संघर्ष र खाएको हन्डरसम्म छ गीतमा ।
इमोस्नल गीतमा आमाको ऋण तिर्न र आँखाको आँसु पुछ्न काठमाडौं आएको बताउँछ । तर, घर छोडेर हिँड्दा सुरुमा जसरी काठमाडौं सहज र सरल होला भन्ने आम मान्छेले सोचेको हुन्छ, काठमाडौं भने ठिक त्यसको विपरीत रहेको गीतले बताउँछ ।
आमालाई सुख दिन्छु भनेर आएको छोराले जब काठमाडौंमा अनेकन हन्डर ठक्कर खान्छ अनि उसलाई अब बाँचेर घर फर्किन्न कि भन्ने झैँ लाग्ने गरेको गीतले समेटेको छ ।आफूले काठमाडौंमा पैसा कमाउन नसकेपछि समय पनि रोकिदिए हुन्थ्यो भन्ने र बिरामी आमालाई चाँडै नलैजा है भनेर कालसँग बिसाएको बिन्तीले स्रोता तथा दर्शकको मन छुन्छ ।
आमाको आयु बढाउन गरेको आग्रहले मन भावुक बनाउँछ । मान्छे मान्छेजस्ता नरहेको र घर घरजस्ता नरहेको काठमाडौंको यर्थाथ चित्रणले सिनेमाको कथा बोलेको छ ।
प्रतिकृया दिनुहोस