• बुधबार ८-१९-२०८१/Wednesday 12-04-2024
खेलकुद

विराटनगरविरुद्ध जनकपुरको सहज जीत

तस्बिरः प्रदीपराज वन्त

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको जीत हात पारेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु भएको खेलमा  विराटनगरको १२८ रनको लक्ष्यलाई जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर सहजै पुरा गरेको थियो । १५.३ ओभरमा १२७–२ को स्थिति हुँदा थाकेरले चौका प्रहार गर्दै जनकपुरको जित पक्का गरेका थिए । लहिरु मिलान्था र हर्ष थाकेरको शतकीय साझेदारीले जीत हात पार्न अझ सजिलो भएको थियो । 

 

मिलान्थाले अविजित ७५ रन बनाएका थिए ।   ५३ बलमा नौ चौका र तीन छक्का प्रहार गरेका थिए । मिलान्थासँगै अविजित रहेका थाकेरले ३३ बलमा दुई चौकासहित २९ रन बनाए । ओपनर आसिफ शेख शून्य र कप्तान अनिल साह पाँच रनले आउट भएका थिए । आसिफलाई  क्रिस सोलले बोल्ड गरेका थिए भने अनिल प्रतिश जिसीबाट बोल्ड नै भएका थिए । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एक विकेट लिए ।

 

यस्तै विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका ओपनर गप्टिलले ५५ रन बनाए । गप्टिलले ४३ बलमा सात चौका र एक छक्का प्रहार गरे भने अकिब इल्सासले १५ रन थपेका थिए । विराटनगरका निकोलस किर्टोनले नौ, बसिर अहमेद, कप्तान सन्दीप लामिछाने र अनिल खरेल समान सात रन बनाए। क्रिस सोलले चार, प्रतिश जिसीले दुई, राजेश पुलामी एक रनमै आउट भएका थिए ।

 

जनकपुरका लागि ललितनारायण राजवंशीले तीन विकेट लिए ।  किशोर महतो र हर्ष थाकेरले समान दुई विकेट लिए । मोहमद मोहसिन र बेन माइकको एक  विकेट लिएका थिए । सोमबार  दुई खेल हुनेछन् । पहिलो खेल काठमाडौं गुर्खाज र चितवन राइनोजबीच  हुनेछ भने  दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार