• बिहीबार ८-२०-२०८१/Thursday 12-05-2024
खेलकुद

सुदूरपश्चिम रोयल्स र चितवन राइनोजको जीत

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुवात गरेको छ ।त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा सुदूरपश्चिमले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरपश्चिमको यो पहिलो जित हो । एक सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगरले १६।१ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन मात्र बनाउन सक्यो । 

 

विराटनगरका लागि बसिर अहमदले २४ र राजेश पुलामीले १५ रन जोड्दै उकास्ने प्रयास गरे । त्यसपछि अनिल खरेलले अविजित १० रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न नसक्दा विराटनगर सस्तैमा समेटियो । 

 

बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिन र अविनाश बोहराले तीन तीन विकेट लिनुभयो । ब्रान्डन म्याकमुलेन, ईशान पाण्डे र सेफ जईवले एक एक विकेट लिनुभयो।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८२ रन बनाएको थियो । 


यस्तै आज भएको  दोस्रो खेलमा पोखरा एभेन्जर्स ७४ रनमा अल आउट भएको छ । चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनमा पराजित गरेको हो । चितवनले दिएको १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पोखरा ७४ रन बनाउँदै १३.२ ओभरमा अल आउट भएको हो ।

 

पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । नारायण १३औं ओभरको पाँचौ बलमा आउट भए । म्याट क्रिचलीले १६ बलमा १७ रन बनाए । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।चितवनका लागि सोहेल तन्भिर, रिजन ढकाल र ल्युक बेनकेनस्टेनले समान ३ तथा दीपक बोहोराले १ विकेट लिए ।

 

त्यसअघि  टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन बनाए । बोपारले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । १६औ ओभरको अन्मि बलमा रेमन रेइफरको बलमा आउट भए । कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८ रन बनाए । कुशल सागर ढकालको बलमा आउट भए ।

 

ल्युक बेनकेनस्टेनले १३ बलमा १६ रन बनाए । उनी बास डि लिडेको बलमा कप्तान कुशल भुर्तेलद्वारा क्याच आउट भए । ओपनर हसन इसाखिलले १० बलमा १४ रन जोडे । पोखराका लागि विपिन खत्री, बास डि लिडे र रेमन रेइफरले समान २ तथा सागर ढकालले १ विकेट लिए । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार