• बुधबार ८-१९-२०८१/Wednesday 12-04-2024
डबली

प्राज्ञिक लेखन कार्यशाला सम्पन्न

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अनुसन्धान, अभिलेख तथा प्रकाशन विभागद्वारा आयोजित प्राज्ञिक लेखन कार्यशाला बिहीबार सम्पन्न भएको छ । ‘प्राज्ञिक लेखन कार्यशालामा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. बालाकृष्ण अधिकारीले ‘अनुसन्धान लेखको संरचना र प्रक्रिया’ शीर्षकको कार्यपत्रमा अनुसन्धान लेखको परिचय, संरचना, लेखका अङ्गको परिचय, अनुच्छेदको सङ्गठन लगायतका विषयको चर्चा गर्दै शोधलेखनले ज्ञानको व्यवस्थित प्रकाशन र नवीन ज्ञानको खोजी गर्दै अनुसन्धानमा मौलिक पद्धतिको अवलम्बन गर्नुपर्ने विषयमा जोड दिए । साथै उनले कार्यपत्र प्रस्तुति पश्चात् सहभागीहरूबाट उठाइएका विभिन्न प्रश्नहरूको समाधानको उपायसमेत सुनाए । 

 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अन्य विधाका अनुसन्धान र ललितकलाको अनुसन्धानबिचको भिन्नता बुझेर गम्भीर अवलोकनपछि मात्रै ललितकलाको प्राज्ञिक लेखन गर्न सकिने विचार व्यक्त गरे । साथै उनले अग्रज र विशिष्ट योगदान दिएका कलाकारहरूको जीवनीलाई अनुसन्धान गराउँदैै नवप्रतिभालाई उत्प्रेरित गर्ने बताए । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा ललितकला प्रज्ञा जर्नलका कार्यकारी सम्पादक विष्णु ज्ञवालीले कार्यपत्रमाथि टिप्पणी गर्दै अनुसन्धान लेखनलाई जटिलतातर्फ नलगी वस्तुपरकतातर्फ उन्मुख गराउनुपर्ने बताए । 

 

नेपाल संस्कृत विश्वविद्याल अनुसन्धान केन्द्रका पूर्व निर्देशक प्रा. डा. विष्णु दहालले पूर्वीय र पाश्चात्त्य शोध पद्धतिका आधारमा ललितकलाका सबै विधाको अनुसन्धान गर्दै प्राज्ञिक लेखन गर्नुपर्ने विचार व्यक्त गरेका थिए । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तेजविलास अधिकारीले ‘प्राज्ञिक अनुसन्धानले सिर्जनालाई परिचित तुल्याउँदै सम्मानको वातावरण सिर्जना गर्छ, साथै यसले ललितकलाका विविध फाँटमा अनुसन्धानका लागि मार्ग प्रशस्त गर्ने विचार राखे । यस किसिमका कार्यशालाले अनुसन्धातालाई लेखन कार्यमा उत्प्रेरित गर्ने बताए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानका विभिन्न गतिविधिबाट प्राज्ञिक लेखनका निम्ति वातावरण तयार गर्दै अगाडि बढेको विषय उल्लेख गरे । ललितकलाका क्षेत्रमा शोध, अनुसन्धान अपर्याप्त रहको विचार राख्दै त्यसको प्रवर्धनका लागि नियमित रूपमा छलफल चलाइएको बताए  । साथै उहाँले नेपाली कलाको सैद्धान्तिकीकरण र नेपाली कलालाई पाठ्यक्रममा प्राथमिकता दिनुपर्ने विचार राखे । 

 

कार्यपत्र प्रस्तुतिमाथि प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य प्रदिप अधिकारी, प्राज्ञ एससी सुमन, अजय शर्मा, विक्रममणि त्रिपाठी, केशव राज खनाल, जगत् वाशिष्ठलगायतले प्राज्ञिक लेखनका विविध पक्षमा जिज्ञासा राखेका थियो । कार्यशालामा नेपाल ललितलका प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य संगी श्रेष्ठ, केशव सिवलवाल, एनवी गुरुङ, पारस ढकाल, नरबहादुर विसी, घनबहादुर थापा, रेनु अधिकारी मौनता, लोकनाथ भुसाल, देवी मैनाली, सन्तोष राई, सुशील विके, जेनी घले, रेनुका ढकाल, नारायण ढुङ्गाना, हरिराम अधिकारी, राजमान महर्जन, दीपक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार