• बिहीबार ७-२९-२०८१/Thursday 11-14-2024
बिश्व

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन

काठमाडौं । डोनल्ड ट्रम्पले फेरि निर्वाचन जितेर देखाइदिएका छन्। आठ वर्षअघि हिलरी क्लिन्टनलाई अनपेक्षित रूपमा पराजित गरेको र चार वर्षअघि उनलाई जो बाइडनले विस्थापित गरेकोमा पूर्वराष्ट्रपति ट्रम्प पुनः ह्वाइट हाउसमा फर्किने निश्चित भएको छ।

 

'ब्याटलग्राउन्ड स्टेट्स' भनिने महत्त्वपूर्ण राज्यहरूमा प्राप्त ठूलो विजय र लगभग अमेरिकाभरि नै पहिलेको दाँजोमा उनलाई प्राप्त सुधारिएको मत सङ्ख्याको आडमा उनले आफूलाई शासन गर्नका लागि “अभूतपूर्व र बलियो म्यान्डेट” प्राप्त भएको बताएका छन्।

 

फ्लोरिडाको वेस्ट पाम बीचमा आयोजित एउटा र्‍यालीलाई सम्बोधन गर्दै उनले भने,”यो वास्तवमा नै अमेरिकाका लागि सुनौलो युग हुनेछ।”यदि कङ्ग्रेस पूर्णतया रिपब्लिकन नियन्त्रणमा आएमा नयाँ राष्ट्रपतिलाई विगत चार वर्षमा डेमोक्र्याटिक शासनअन्तर्गत लागु गरिएका थुप्रै कार्यक्रमहरूलाई उल्टाउने र तिनका बदलामा कन्जरभेटिभ कानुनहरू लागु गर्ने मौका प्राप्त हुने छ।

 

तिनमा कर नीति, सरकारी खर्च र व्यापार तथा आप्रवाससम्बन्धी मुद्दाहरू पर्दछन्। त्यसो भएमा उनलाई अमेरिकी सरकारमा दिगो छाप छाड्ने मौका पनि मिल्ने छ। उनको विजय एक त्यस्तो व्यक्तिको उल्लेखनीय पुनरागमन हो जो सन् २०२१ को ज्यानुअरी ६ मा संसद् भवनमा भएको दङ्गाको घटनाका माझ राष्ट्रपतिको पदबाट बिदा भएका थिए र उनको प्रतिष्ठा छियाछिया भएको थियो।

 

ट्रम्पले र्‍यालीहरूमा गर्ने भाषण बेलाबेला विषयवस्तुबाट विचलित र जथाभावी रुखो सुनिन्थ्यो। तर उनले आफूवरपर दक्ष तथा व्यावसायिक सहयोगीहरू राखे। वैचारिक मतसर्वेक्षणहरूका अनुसार अमेरिकीहरूले निर्वाचनमा ट्रम्पमाथि खास गरी दुईवटा विषयमा भरोसा गरेको हुन सक्ने देखाएका छन् – आप्रवासनको मुद्दा र अर्थतन्त्र। अनि उनको निर्वाचन अभियानले प्रचारप्रसारका समयमा यिनै विषय निरन्तर उठाइरहेको थियो। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार