• बुधबार ७-२८-२०८१/Wednesday 11-13-2024
डबली

बडो जान्ने भएर देश विकास गर्नुपर्छ !

चट्याङ मास्टर

के देश विकास भएन भनेर कराई रहेको ?
थाहा छ “अन्तर्राष्ट्रिय सहयोग” भनेको के हो ?
अहिले त लिन पाइएको छ नि, देश विकास भए त दिनुपर्छ
बडो जान्ने भएर देश विकास गर्नुपर्छ ! ?

 

के युवा विदेशिए भनेर कराई रहेको ?
थाहा छ ती सप्पै यहीँ बस्न थाले भने बजार भाउ के हुन्छ ?
अहिले त यति महँगो छ, ती सप्पै आए कति महँगो हुन्छ ?
बडो जान्ने भएर देश विकास गर्नुपर्छ ! ?

 

के नेता खराब भए भनेर कराई रहेको ?
असल नेता आए मर्यादा पालना गर्नुपर्छ,अनुशासनमा बस्नुपर्छ
समाज र देशका लागि आफु जिम्मेवार हुनुपर्छ
यस्तो मजासँग गैरजिम्मेवार हुन पाइएको छ 
बडो जान्ने भएर देश विकास गर्नुपर्छ ! ?

 

के अधिकार पाइएन भनेर कराई रहेको ?
थाहा छ, अधिकारसँगै कर्तव्य पनि ब्यहोर्नु पर्छ ?
बिना कर्तव्य यति अधिकार माग्न पाइएको छ 
तैपनि बडो जान्ने भएर अधिकार पाइएन भन्दै रुनुपर्छ ! ?

 

के भ्रष्टाचार बढ्यो भनेर कराई रहेको ?
थाहा छ, भ्रष्टाचार रोकिए सबैले सबै नियम मान्नुपर्छ
अहिले सय पचास दिएर आफ्नो काम पट्याउन पाइएको छ 
तैपनि बडो जान्ने भएर भ्रष्टाचार बढ्यो भन्दै रुनुपर्छ ! ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार