• आइतबार ४-६-२०८१/Sunday 07-21-2024
मनोरञ्जन

दलित वेदनामाथि पुजार सार्की

नेपाली समाजमा छुवाछुत, विभेद व्याप्त छ । धर्म, संस्कृति र परम्पराका नाममा यस्ता मानवीय संवेदनाहीन थिति पाइन्छ । यसै विषयलाई लिएर नेपाली चलचित्र बेलाबखत निर्माण हुँदै आएको छ । पछिल्लो पटक पुजार सार्कीले यही सामाजिक विषयवस्तुलाई जोडतोडसाथ उठाएको छ । नेपालमा दलित विषयमा निर्माण भएको सम्भवतः पहिलो चलचित्र हो ‘रगत’ । ‘बाटोमुनिको फूल’ ‘पण्डित बाजेको लौरी’, ‘प्रकाश’ जस्ता चलचित्रले समेत दलितको कथा, व्यथा, पीडा र वेदनालाई दर्शकसम्म पु¥याउने जमर्को गरेका थिए । कथित उपल्लो जातले दलितमाथि गरेका विभेद, अत्याचार र शोषणको कथा हो, पुजार सार्की । अन्तरजातीय विवाह गर्दा दलितको ज्यान मार्ने धम्की मात्र होइन, नेपाली समाजमा घर जलाउने, कुटी कुटी ज्यान मार्ने जस्ता दर्जनौँ घटना भएका पनि छन् । तिनै कथाको समुचित प्रस्तुति पुजार सार्कीले बोकेको छ । 

 

चलचित्रमा एउटा पण्डितले सार्की थरकी युवतीसँग विवाह गर्दा त्यसले प्रगतिशीलताको प्रशंसा पाउँछ । चलचित्रले चार भिन्न जातबिचको प्रेमविवाहमा आउने अड्चनको कथा बुनेको छ । पुजार (आर्यन सिग्देल), हरिद्वारमा पढेका पुजारी हुन् । मैतबहादुर (प्रदीप खड्का), मन्दिरमा दमाहा बजाउने दमाईं, गौमाया (परीक्षा लिम्बू) मगर समुदायकी पुजारीकी छोरी र मैयाँ (अञ्जना बराइली) सार्की समुदायकी जो मन्दिरमा सरसफाइ गर्ने र पुजारको घरमा सघाउने गर्छिन् । यी सबैको साथमा छन् मेघराज (पल शाह) जो ब्राह्मण समुदायका क्रान्तिकारी कम्युनिस्ट हुन् जसको परिवारको गाउँमा नै हत्या भएको हुन्छ । गाउँमा अब पनि प्रधानपञ्चको हुकुमी शासन चल्छ । प्रधानपञ्चभन्दा एक तह तल छन् पुजार, जसको कुरा गाउँमा कसैले हार्न सक्दैनन् । पुजारले सार्की समुदायकी मैयाँसँग विवाह गरेपछि सुरु हुन्छ चलचित्रमा जातभातको द्वन्द्व । चलचित्र अवधिभर यी दुवैबिचको प्रेमको उतारचढाव देखिन्छ । पुजार र मैयाँसँगै मैते र गौमायाको प्रेम पनि सँगसँगै चलचित्रमा बग्छ । यी दुई जोडीमध्ये एक जोडीको प्रेम विवाह हुन्छ, अर्कोको असफल हुन्छ ।

 

चलचित्रमा मैतेको अभिनय अन्य कलाकारको भन्दा धेरै माथि छ। यद्यपि मैतेको चरित्र अन्तिमसम्मै दर्शक हँसाउनमै सीमित भए पनि उनको अगाडि अन्य कलाकारको अभिनय फिक्का नै लाग्छ । माया सार्कीको चरित्रलाई जति साहसी देखाउन खोजिएको छ, त्यो अपुग छ । मगर्नी केटीसँग बिहे गर्न शास्त्र पढेर बाहुन हुने लोभमा मैतेले चोरी चोरी धर्मशास्त्रको अध्ययन गरेको कुरादेखि शास्त्र पढेकोमा उसले उठबसको सजाय भोगेको कुरालाई निर्देशक दिनेश राउतले साधारण ढङ्गबाट प्रस्तुत गर्न खोजेका छन् । यस प्रस्तुतिले निर्देशक राउतले दलितको दर्द र मर्मलाई मजाक उडाउन खोजेको जस्तो लाग्छ । किन निर्देशक राउतले मैतेलाई नै चलचित्रमा धेरै प्राथमिकतामा राखे ? यो पनि एउटा ठुलै प्रश्न बन्न सक्छ । चलचित्रमा मैतेको काम गौमायालाई कसरी बिहे गर्न सकिन्छ ? भन्ने नै हो । दमाईं परिवारले हुर्काएका उनी गौमायासँग बिहे गर्न कहिले आफूलाई जन्माउनेको वास्तविक जात खोज्छन्, कहिले धर्म त्याग्न नसक्ने पुरातनवादी पुजारको शरणमा पर्छन् । उनी क्रान्तिकारी कम्युनिस्ट भनिएका मेघराजको शरणमा पुग्न पनि छाड्दैनन् । चलचित्र जात व्यवस्थामाथि भन्दा पनि मैतेले गौमायासँग विवाह गर्न गरेको सङ्घर्षमा नै अल्मलिएको छ । यता पुजार जातीय विभेद अन्त्य पनि गर्न चाहन्छन् र मन्दिरमा पूजा गर्न पनि छाड्दैनन् । उनको गाउँले वेशभूषा र उनले बालेको संवादको लवज नयाँ भए पनि उनको अभिनयमा खासै नयाँपन देखिँदैन । अन्य कलाकार पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, उदय सुब्बा, वसन्त भट्टको अभिनय ठिकठाक छ । चलचित्रको गीत/सङ्गीत राम्रो छ । नृत्य मौलिक छ । मगर समुदायमा नाच्ने कौरा नृत्यलाई दर्शकले रुचाउन सक्छन् । सुकृत नेपाल/गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार