• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
मनोरञ्जन

फुलपातीमा तीन चलचित्रको भिडन्त, कसले मार्ला बाजी

काठमाडौं । चाडपर्वको मौका छोपेर आफनो चलचित्र चलाउन कसलाई रहर नहोला ?  त्यसमाथि दशैंतिहारको समय । निर्देशक÷निर्माताबिच हरेक वर्ष आफनो चलचित्र चलाउने होडबाजी नै चल्छ । एक समय त्यस्तो थियो जुनबेला दशैं लक्षित गरेर नायिका रेखा थापा आफनो चलचित्र चलाउन तत्पर हुन्थिन । चाडपर्वमा उनकै चलचित्र बढि चल्थे । २०७१ को दशैंमा  फुलपाती कै दिन रेखाले निमार्ण गरेको चलचित्र ‘हिम्मतवाली’ प्रदर्शन भएको थियो । त्यसपछि उनका प्रायः चलचित्र दशैंमा नै प्रदर्शन हुन थाले । उनी मात्र होइन निर्माता छवी ओझाले पनि दशैं लक्षित गरेर नै चलचित्र प्रदर्शन गर्ने गर्थे । यसले हलमा उनीहरुको मात्र एकछत्र राज हुन्थ्यो । अन्य चलचित्रले दशैँमा प्रदर्शनका लागि हल नै पाउँदैन थिए। 

 

निर्माता छवीराज ओझाका अनुसार, दशैँ भनेको मेला जस्तै हो । अरु ठाउँमा मेला लाग्ने जस्तै यो पनि चलचित्रको मेला हो । यी चलचित्रहरु हर्षउल्लास मात्र प्रर्दशन भएका हुन । सबै दर्शकले चलचित्र हेर्न पाउन भन्ने हिसाबमा नै आएको हो । अरु बेलाभन्दा दशैंमा दर्शक बढि चलचित्र हेर्छन । दर्शकसँग टिकाको भोलिपल्टदेखि पैसा पनि बढि हुन्छ । उनले भने, “५२ हप्तामा ८० वटा चलचित्र कताबाट चलाउनु । चलचित्र त जुध्नै पर्छ । यसमा एकअर्कासँग भिड्नेभन्दा पनि आ–आफनो चलचित्रको कलेक्सन कसरी बढाउने भन्ने सोच्नु जरुरी छ ।” 

 

नेपालमा चलचित्र क्षेत्र सानो छ त्यसमाथि हप्तामा एउटा चलचित्र चलाउन हम्मेहम्मे पर्ने चलचित्र नगरीमा एकभन्दा बढि चलचित्र प्रदर्शन भएपछि के हालत हुन्छ त्यो हेर्न बाँकी छ । यसपटक पनि पुरानै व्रmम दोहोरिएको छ । असोज २४ अर्थात फुलपातीको दिन पारेर एकैसाथ तीनवटा चलचित्र प्रदर्शनको तयारीमा छ । दीपकराज गिरी र दिपाश्री निरौलाको ‘छक्का पञ्जा ५’, दीपक–दिपा क्याम्पबाट छुटिएका कलाकार जितु नेपाल अभिनित चलचित्र ‘ज्वाई साहेब’ र नेपाली चलचित्रमा खासै नाम र दाम कमाउन नसकेर भोजपुरी चलचित्रमा आफनो साख जोगाउन सफल कलाकार बिराज भट्टको ‘१२ गाउँ’ । 

 

कलाकार दीपकराज गिरी आफनो चलचित्रसँग अन्य दुई चलचित्र जुध्न आउँदा खासै शसङ्कित नभएको बताए। अरुभन्दा आफुहरु स्थीर भएर बस्ने उनको भनाई थियो। उनले भने,“भगवानले जे गर्छन त्यो राम्रै गर्छन। मलाई मेरो चलचित्र बाहेक अरु कसैको चलचित्रको बारेमा प्रतिक्रिया नै दिनु छैन।” उनले दर्शकलाई पैसा र समय छ भने टिकट काटेर तीनवटै चलचित्र हर्ने आग्रह समेत गरे । उनका अनुसार, “यो कुनै फुटबल खेल होइन एउटाले जित्ने अर्कोले हार्ने, त्यसैले अरु साथीलाई टिप्पणी गर्नुभन्दा उहाँहरुलाई शुभकामना भन्न चाहन्छु ।” 

 

कलाकार जीतु नेपालको भनाई भने केही भिन्न छ। उनी भन्छन्, “चाडबाडमा दुईवटा चलचित्र त मज्जाले नै चल्छ अर्को एउटा थपिएको मात्र हो ।” दिपकराज गिरीसँग चलचित्रलाई लिएर खासै मनमुटाव नभएको पनि उहाँले प्रष्ट पारे । उनका अनुसार,उहाँहरुसँग म छुट्टिए त्यसैले पनि यस्तो हल्ला चलाएको हुन सक्छ । म स्वतन्त्र रुपमा कलाकारिता गर्न पाइरहेको छु । दशैँमा चलचित्र हेर्ने माहोल बन्ने भएकोले यी सबै कुरा भएको उनको भनाई छ।    
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार