• बुधबार २-९-२०८१/Wednesday 05-22-2024
देश/प्रदेश

श्रमिक वर्गको हक र हितको संरक्षण गर्न कांग्रेस क्रियाशील छ : सभापति देउवा

 काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालेश्रमिक वर्गको हक र हितको संरक्षण गर्न  कांग्रेस क्रियाशील रहेको बताएका छन ।

 

मजदुर दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिकको पक्षमा सधै रहदैं आएको उल्लेख गरेका छन ।

 

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलनको सफलताको स्मरण गर्दै यो दिनलाई संसारभरिका मजदुरहरूले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउदै आएका छन् र नेपालमा पनि श्रमिक अधिकारको रक्षा र प्रवद्र्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरका रुपमा मनाइदै आइएको छ ।

 

वि.संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक बी.पी. कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो ।

 

वि.सं. २०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदुर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदुरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको हो । आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूले अनेक समस्याहरुलाई बेहोरिरहन परेको छ ।

 


 श्रमजीवीकोहरूको समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्वद्र्धन गर्न तथा सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न नेपाली कांग्रेस क्रियाशील रहेको उनको भनाइ छ ।

 

सभापति एवं पूर्वप्रधानमन्त्री  देउवाले यो ऐतिहासिक दिनमा नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार