• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
मनोरञ्जन

स्थापित कलाकारले पनि दिने गर्छन् क्यारेक्टर अडिसन

काठमाडौं। अभिनेत्री अञ्जना बराइलीको पहिलो चलचित्र ‘महापुरुष’ हो। पहिलो चलचित्रमा अडिसनमार्फत छानिएकी अञ्जनाले 'पुजार सार्की’को छनोट पनि अडिसनबाटै दिनुपर्‍यो। यो अडिसन भने 'क्यारेक्टर अडिसन' थियो। त्यसो त निर्देशक दिनेश राउतका हरेक चलचित्रमा स्थापित कलाकारले पनि क्यारेक्टर अडिसन दिने गर्छन्। त्यसको जल्दो बल्दो उदाहरण चलचित्र 'प्रकाश'को लागि अभिनेता प्रदीप खड्काले दिएको अडिसन हो।

गत वर्षको तिहारको माहौलमा सबै रमाइरहँदा एक दिन निर्देशक दिनेश राउतले अञ्जनाको इन्स्टाग्राममा सन्देश लेख्दै मोबाइल नम्बर मागे। अञ्जनाले आफ्नो नम्बर दिएपछि दिनेश र अञ्जनाबिच पहिलो पटक कुराकानी भएको थियो। चर्चित गीत ‘घुमी घुमी’मा अञ्जनाले गरेको अभिनय हेरेर दिनेशले ‘पुजार सार्की’का उनलाई कास्ट गर्ने सोच बनाएर कुरा अघि बढाएका थिए।

‘पुजार सार्की’मा जोडिनु अघि नै उनले कौसी थिएटरमा एक महिनाको अभिनय कक्षा लिइसकेकी थिइन्। डेढ महिनाको कक्षा भए पनि ‘पुजार सार्की’को वर्कसप सुरु भएकाले उनले एक महिनाको मात्र अभिनय कक्षा लिइन्।


चलचित्रमा अञ्जनाको जोडीको रूपमा अभिनेता आर्यन सिग्देल छन्। आर्यन उनको सानै देखिको ‘क्रस’ हुन्। आफ्नै ‘क्रस’सँग अनस्क्रिनमा जोडिन पाउँदा उनलाई उत्तिकै डर भएको थियो। “मैले धेरै चलचित्रमा काम गरेको छैन। त्यसमाथि यो फरक विधाको मजबुत विषय भइसकेपछि आफ्नो चरित्रलाई अझ मजबुत कसरी बनाउने भन्ने डर हुन्छ। अझ मेरो जोडी म भन्दा अग्रज हुनुहुन्छ। आर्यन दाइले ‘तिमीलाई मसँग अभिनय गर्दा गाह्रो भइरहेको छ भने भन्नु’ भन्दा मलाई थप ऊर्जा प्राप्त हुन्थ्यो।



अञ्जनाले ‘पुजार सार्की’मा स्थानीय सार्कीकी छोरीको भूमिका निभाएकी छन्। उनी समाजले ठुलो जात भन्ने गरेको अर्थात् ब्राह्मणको छोरासँग प्रेममा परेकी हुन्छिन् तर, समाजले भने सम्बन्ध स्वीकार गर्न गाह्रो मान्छ। “त्यो सम्बन्धलाई दिगो सम्बन्धमा परिणत गर्ने बेलासम्म के कति बाधा अड्चनहरू आउँछन् र के कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ। 


चलचित्र ‘महापुरुष’ हेरेका दर्शकले आफूलाई ‘पुजार सार्की’मा अझ बढी माया गर्नेमा अञ्जना ढुक्क छिन्। “महापुरुषमा म नयाँ मान्छे भएकाले ‘नराम्रो काम गरी’ भनेर कसैले भन्नुभएको थिएन। सिनियर कलाकारको भीडमा आफूले राम्रो काम गरेको भन्ने तारिफ पाएको थिएँ। अञ्जनाले अवसर पायो भने काम गरेर देखाउँछिन् भन्ने कुरालाई मैले ‘पुजार सार्की’मा प्रमाणित गरेकी छु। मेरो हकमा महापुरुष र पुजार सार्कीको मेरो पात्र फरक पात्र हुन्। फरक परिवेश, फरक चरित्रका कारण पनि दर्शकले मलाई माया गर्नुहुनेछ भन्नेमा विश्वस्त छु,” उनी भन्छिन्।

 

यही बिहीबार रिलिज हुने चलचित्र 'पुजार सार्की'मा प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बु लगायतको पनि प्रमुख अभिनय रहेको छ। सुबास भुसालले यो चलचित्र निर्माण गरेका हुन्।

--

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार