• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
देश/प्रदेश

वर्ष ०८० पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण ,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउन थप दबाब दिन आवश्यक

काठमाडौं । नेपाल पत्रकार महासंघले वर्ष २०८० पत्रकारिताको लागि निक्कै चुनौतिपूर्ण वर्ष रहेको जनाएको छ ।

 

नयाँ वर्ष ०८१ सालको अवसरमा शुभकामना सन्देश जारी गर्दै महासंघले अघिल्लो वर्ष २०८० नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको उल्लेख गरेको छ । समग्र पत्रकारिता क्षेत्रमा विभिन्न खालका चुनौती आइपरेको उल्लेख गर्दै महासंघले विश्वव्यापी रुपमा देखिएको आर्थिक संकट, प्रविधि र माध्यमको विकाससँगै समग्र पत्रकारिता क्षेत्रमा नयाँ नयाँ चुनौती देखिएको महासंघको ठहर छ ।

 

नेपाल पत्रकार महासंघमा दर्ता भएका श्रम समस्याहरू विस्तारै हल हूँदै गएपनि श्रमको दीर्घकालीन समस्या समाधानमा अबका वर्षमा मुख्य ध्यान दिनुपर्ने आवश्यकता रहेको महासंघको भनाइ छ । ‘सञ्चार क्षेत्रमा देखिएको गम्भीर खालको आर्थिक संकटसँग जुध्ने र प्रविधिलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने चुनौती नयाँ वर्ष सँगसँगै भित्रिएको छ ।

 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटना गत वर्षको तुलनामा बढेका छन् । आम सञ्चार नीतिलाई कार्यान्वयन गर्न बन्नुपर्ने कानुनी मस्यौदा अपेक्षाकृत अगाडि बढ्न सकेका छैनन् । तीनवटै तहका सरकारले बनाएका र बनाउने कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउन थप दबाब दिन आवश्यक छ’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

नेपाल पत्रकार महासंघमा अभिलेख भएअनुसार २०८० सालमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएका छन् । पत्रकारलाई समाचार प्रकाशन प्रसारण भएकै कारण धम्की तथा दुव्र्यवहार गर्ने, आक्रमण गर्ने, गिरफ्तारी गर्ने, सूचना संकलनमा अवरोध गर्ने जस्ता घटना महासंघमा अभिलेख भएका छन् । २०७९ सालमा प्रेस स्वतन्त्रता हननका ५१ वटा घटना भएका थिए भने २०७८ मा प्रेस स्वतन्त्रता हनन्का ७४ घटना भएका थिए ।


नेपाल पत्रकार महासंघले नयाँ वर्षसँगै समग्र पत्रकारिता क्षेत्रमा देखिएको संकटका विषयमा बहस प्रारम्भ गरेको छ । वैशाख २१ र २२ गते लुम्बिनीमा हुने महासंघको महाधिवेशनलाई यही विषयमा केन्द्रित गरिएको छ । पत्रकारिता क्षेत्रमा देखिएको संकटका विषयमा गम्भीर छलफल गर्ने र त्यसका निष्कर्षलाई कार्यान्वयन गर्ने प्रतिवद्धता महासंघले व्यक्त गरेको छ ।

 

‘२०८० मा श्रमजीवी पत्रकारले तलब नपाएर विभिन्न सञ्चार गृहमा आन्दोलन गर्नुपरेको थियो । पत्रकारको पेशागत सुरक्षा, श्रमजीवी पत्रकार ऐनलगायतका कानुन कार्यान्वयनको प्रत्याभूति, नागरिकको संवैधानिक अधिकार, संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतामैत्री कानुन निर्माणमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको स्मरण गर्दै महासंघ नयाँ वर्षसँगै सरकार, आम नागरिक, सरोकार राख्ने संघ-संस्था लगायतको सहयोगको अपेक्षा गर्दछ’ महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार