• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अन्तर्वार्ता

‘शोले’को संवाद नै खानको क्यारिकेचरको आधार

बलिउड कलाकार अमजद खानको क्यारिकेचर बनाउने सोच कसरी आयो ?
भारतीय सिने क्षेत्रमा स्थापित कला निर्देशक अन्जन गजुरेलले एक दिन फोन गर्नुभयो र भारतीय सिने कलाकार अमजद खान र अमिताभ बच्चनको क्यारिकेचर बनाइदिन भन्नुभयो । उहाँले भारतीय सिने क्षेत्रका प्रतिष्ठित संस्था, भारतीय चलचित्र निर्माताहरूको छाता संगठन, इण्डियन मोसन पिक्चर प्रोड्युसर्स एसोसियसन (आइएमपीपीए) को मुम्बई स्थित कार्यालयको नयाँ इन्टेरिएर डिजाइन गर्दै हुनु हुँदोरहेछ । त्यस कार्यालयमा राख्नको लागि ती क्यारिकेचर बनाइदिन मलाई भन्नुभएको थियो । उहाँले आजकल दर्शकहरूले मोबाइलमै सिनेमा हेर्ने गरेको र उनीहरूले सिनेमाहल मै गएर सिनेमा हेरुन् भन्ने सन्देश दिने खालको बनाइदिन भन्नुभयो । मैले अमजद खानको प्रख्यात चरित्र ‘गब्बर सिंह’ ले चलचित्र ‘शोले’ मा बोलेको संवादलाई आधार मानी संवाद तयार पारेँ र  संवादलाई सुहाउँदो हाउ भाउसहितको उनको क्यारिकेचर बनाएँ । 

 

क्यारिकेचर भनेको के हो ?
क्यारिकेचर भनेको अतिरंजनात्मक चित्र हो । क्यारिकेचरमा हामी व्यक्तिको हाउभाउ र अनुहारको भाव भङ्गिमालाई अतिरंजना गर्दै चित्र मार्फत प्रस्तुत गर्दछौँ । यस्तो चित्र बनाउन विशेष दक्षताको जरुरी हुन्छ । सामान्यतया कुनै व्यक्तिको मुहार चित्र बनाउँदा कोरिने रेखाहरू अलि तलमाथि पर्‍यो भने त्यो को हो ? भनेर चिन्न सकिँदैन । तर क्यारिकेचर बनाउँदा सम्पूर्ण रेखाहरू तलमाथि पारेर पनि अनुहार कसको हो भनेर चिनिनुपर्ने हुन्छ । त्यो नै सबैभन्दा चुनौतिपूर्ण कार्य हो । त्यसकारण पनि सबै चित्रकारहरूमा यस्तो दक्षता हुँदैन । फेरि हामी कहाँ यो सीप सिक्न पनि कुनै त्यस्तो भरपर्दो ठाउँ छैन । यसले गर्दा यो क्षेत्रमा नयाँ पुस्ताका कलाकारहरू त्यति आउन सकिरहको छैन । त्यसकारण पनि मैले अरुले पनि यो कलाकारिता सिकुन भनेर मेरो युट्युबच्यानल youtube.com/@abinshrestha मा क्यारिकेचर बनाउने विधि र प्रक्रिया बारे विभिन्न भिडियोहरु राख्ने गरेको छु । 

 

यस्ता कुराहरू कसरी फुर्छ ?
क्यारिकेचर मार्फत कुनै विचार पनि व्यक्त गर्ने हो भने अलि फुराउनलाई समय लाग्छ । खासमा क्यारिकेचरमा भन्दा कार्टुन बनाउँदा सधैँ फुराउनु पर्नेहुन्छ। सामान्यतय क्यारिकेचरमा विचार भन्दा पनि चित्रकारितालाई नै प्रमुखता दिइने भएकोले त्यति फुराइराख्न पर्ने भन्ने त हुँदैन । अमजद खानको क्यारिकेचरमा एउटा सन्देश पनि दिनुपर्ने भएकोले यसमा चैँ फुराउनै पर्‍यो । दिन खोजेको सन्देश सिधै त्यतिकै राखिदिँदा त्यति स्वाद आउँला जस्तो लागेन । त्यसमा पनि अलि अतिरंजना गरौँ भन्ने लाग्यो । अनिमैले त्यो सन्देशलाई त्यो पात्रले बोल्ने शैलीमै ढाल्न खोजेँ । त्यसको लागि मैले पहिले नै धेरैपटक हेरिसकेको ‘शोले’ सिनेमा फेरि दोहोर्‍याइ तेहर्‍याइ हेरेँ । गब्बर सिंह पात्रले त्यसमा बोल्ने चर्चित संवादहरू सबै टिपेँ । अनि ती संवादहरूलाई मैले दिन खोजेको सन्देशमा ढाल्न अनेक जुक्ति निकालेँ । अन्तिममा गएर चित्रमा देखाएको रुपमा त्यो निस्क्यो । अब यो फुर्न चैँ कसरी फुर्छ भन्ने विषयमा तीस वर्षभन्दा लामो समयमा मैले दसौँ हजार कार्टुन फुराएर बनाइसकेँ तर आजसम्म पनि मलाई कसरी फुर्छ भन्ने विषय थाहा  छैन । त्यो थाहा पाएको भए त मेरो काम धेरै नै सजिलो हुन्थ्यो होला जस्तो लाग्छ । कहिले यति सजिलै फुर्छ कि मेरो जस्तो सजिलो काम कसैको छैन जस्तो लाग्छ । कहिले काहिँ त फुर्न यति गाह्रो हुन्छ कि बयान गरि साध्य छैन । बाफ रे बाफ! सारै तनावै पो हुन्छ त !


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार