• शुक्रबार ६-१-२०७८/Friday 09-17-2021
अन्तर्वार्ता

‘स्वास्थ्य क्षेत्रमा अझ धेरै काम गर्नुछ’

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएका चिरीबाबुले छोटै समयमा चर्चा पाए । राजनीति र सेवा उनको रुचीको बिषय थियो। महानगरपालिकाको प्रमुख भएसँगै उनको काँधमा ठूलो जिम्मेवारी आइपुग्यो । स्कुले जीवनदेखि नै मेहनत गर्ने बानी रहेका मर्हजनले नगरको मुहार फेर्ने प्रसस्तै काम गरेका छन् भने स्थानीयले पनि उनको कामको प्रशंसा गरेका छन् ।

 

चिरीवाबाबुको बाल्यकाल त्यति सहज थिएन, उनले ज्यामी काम गरेर पढेका हुन्। उनको जन्म भएको चार वर्षमै उनको बाबुको निधन भएपछि ३ दाजुभाई र ३ दिदीबहिनीलाई पालनपोषण गर्न उनकी आमालाई निकै कठिन भएको थियो। पुर्ख्यौलीदेखि चिरीबाबुको परिवारले पुल्चोक आसपास र धोबिघाटमा अर्काको जग्गामा खेती किसानी गर्दै आएको थियो।

 

आफ्नो नाममा खेतबारी नभएपनि मोही भए बापत उनको साढे २ रोपनी बराबरको जग्गामा मोहियानी हक थियो। बाबुको मृत्यु भएपछि उनको परिवारले खेतीपाती गरेर अन्न त जुटाउँथ्यो, तर खानका लागि यसले पुगेपनि घरमा नगद भने हुँदैनथ्यो। पढ्न मन गर्ने चिरीबाबुलाई आमाले जेनतेन गरेर अन्नपात बेचेर भएपनि पढाइन् । तर ६ कक्षादेखि भने उनले पढाउन नसक्ने भइन्। स्कुलमा मासिक रुपमा तिर्नुपर्ने शुल्क २ रुपैयाँ ३९ पैसा उनको परिवारले धान्न नसक्ने भयो। ६ कक्षामा उनी भर्ना भए तर शुल्क तिर्न सकेनन्। अनि थाले ज्यामी काम ।

 

पढाईमा लगाव राख्ने चिरीबाबु स्कुले जीवनमा कहिल्यै पनि दोस्रो भएनन्। त्रिपद्म मावि ललितपुरमा कक्षा १ देखि १० कक्षासम्म पढ्दा उनी जहिले पनि पहिलो नै भए। कलेजका परीक्षामा पनि उनले कहिल्यै असफलता भोग्नु परेन। पढाईमा मात्रै होइन उनको लगनशीलता र अनुभव जीवनको भोगाईले गर्दा त्यसपछिको जीवनमा कुनैपनि पक्षमा हार खानुपरेको छैन । चुनावमा समेत उनले अहिलेसम्म हार खेप्नुपरेको छैन। 

 

राजनीतिक यात्रा भने उनले २०३८ सालदेखि थालेका हुन्। उनी २०३८ सालमा कुनै दलमा आबद्ध भने भएका थिएनन्। सुधारिएको पञ्चायत आएपछि २०३८ सालमा उनी वडाअध्यक्षमा उठे। जसमा उनले सहजै जित हासिल गरे र काम गरेर पनि देखाए। चिरीबाबुले २०५९ सालमा ज्यापु समाज स्थापना गरे । यो समाज आज आएर नेपालका कुनैपनि सास्ंकृतिक समाजहरु भन्दा बढि बिकसित र सक्रिय समाज भएको छ । २०५९ साल देखि ६२ सालसम्म उनी ज्यापु समाजका अध्यक्ष थिए र हाल उनी मेयर भएपछि पनि ललितपुर महानगरपालिकाका कैयन् सांस्कृतिक धरोहर र क्रियाकलापहरुको संवध्र्दन लागि यही ज्यापु समाज मार्फत काम गर्न उनलाई सजिलो भएको छ भने यो एक दिगो बाटो पनि हो । यस्तै समसामहिक बिषयमा केन्द्रित भएर मेयर चिरीबाबु महर्जनसँग फ्रेसन्युज नेपालका लागि कपिल लोहनी र सुकृत नेपाल ले गरेको कुराकानीको सार :

 

के गर्दै हुनुहुन्छ ? हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
हालसालै नगरसभा सक्कियो । नगरसभाको हाम्रो रातो पुस्तिका निकाल्नुपर्ने हुन्छ। त्यसमै व्यस्त छु। नगरसभालाई केन्द्रिकृत गरेर अरू कामलाई बाँकी राखेको थिए। अब त्यतातिर लाग्नुछ। ललितपुरमा के नयाँ कार्यक्रम ल्याउँदै हुनुहुन्छ ? नगरमा बसेर काम गर्दा  के कस्ता चुनौतिको सामना गर्नुभएको छ ? महानगरको मुहार फेरिसक्नुभयो ? यहि समयमा कोभिडले पनि सबैलाई आक्रान्त बनायो ।

 

अब ललितपुर महानगरपालिका क्षेत्रमा हामीले गएको नगरसभाबाट दुरगामी किसिमको वातावरणीय प्रभाव पर्ने आयोजनाहरूलाई स्वीकृत गरेका छौँ । कोभिडबाट मृत्यु भएका आइसीयु भेन्टिलेटरमा पुगेर बाँचेका र पीसीआर पोजेटिभ भएर हस्पिटल पुगेका व्यक्तिहरूलाई केही रकमको सहयोगको व्यवस्था गरेका छौं । लगनखेलमा नेपाली सेनाको जुन राजदल गण छ, त्यो गणको जग्गा धनी प्रमाणपुर्जामा ४३५ रोपनी जग्गामध्ये अशोक राजाकी छोरीले बनाएको स्तुपा र पुराना पोखरीहरु रहेको जमीन पनि परेको छ । आजभन्दा २० महिना अगाडि सर्वोच्चको सो बारेको मुद्दाको पैmसला गरिदिएर पुरातन महत्वका ती पोखरी, उद्यान र स्तुपाको सम्बद्र्धन गर्नुपर्ने कुराको पक्षमा बोलिदिएपछि अब त्यहाँ रहेका तीन वटा पोखरीहरू र उद्यानको पुनर्निर्माणको बाटो खुलेको छ । हामीले जिल्ला प्रशासन र सेनाका अधिकारीहरुसँग कुरा गरेर जग्गाको स्वामित्व सेनाकै नाममा रहेपनि एक मेमोरेन्डम अफ अण्डरस्टाण्डिङमा हस्ताक्षर गरेर पुननिर्माणको काम गर्ने र त्यहाँ सेनाका दुई सुरक्षा पोस्टहरु पनि पुरानै कलाकृतिको आधारमा बनाइदिने कुरा गरेपछि सबै पक्षहरुबाट सहयोगको वातावरण बनेको छ । अब हामी सानो छदाँ स्कुलमा पढेर त्यहाँ भकुण्डो (बल) खेल्न गएको, पौडी सिकेको र खेलेको स्थानहरु पुननिर्माण भएर त्यो ठाउँको नै कायापलट हुनेछ । सो प्रोजेक्टको डिपिआर पनि तयार भईसकेको छ । पोखरीमा पानी भर्न सो जमिनको मुनि कति तलबाट पानी तान्न सकिन्छ भनेर पनि हेरिसक्यौँ र हामीले यसको निर्माणको लागि पाँच करोड छुट्टाएका छौँ । हामीले इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरुलाई डिजाइन गर्न लगाएर त्यहाँ, जावलाखेल फुटबल मैदानमा र अन्य ठाउँमा बनाएको जस्तै ट्रान्सपरेन्स पर्खालहरु बनाएर हामी यो पार्क र ललितपुरका सबै यस्ता खुला क्षेत्रहरुलाई ग्रीन ट्रान्सपरेन्ट फेन्सिङ एरिया बनाउने तरखरमा छौँ । हाल जावलाखेलमा सडकको पेटीमा हिँड्ने बटुवाले पनि फुटबल र अन्य खेलको मज्जा लिँदै हिँड्न पाउछन् ।
 

हामी विद्यार्थी छँदा पाटनको जताततै खाली जमिनहरु हुन्थे, हरियाली प्रसस्त थियो तर अहिले त यो सब ठाउँ कङ्क्रीट जंगलमा रुपान्तरित भइसक्यो । त्यसैले हामीले सरकारी जग्गा, ऐलानी जग्गा र बाँकी रहेका जग्गाहरूको संरक्षण गर्नुपर्छ । त्यसको निमित्त नागरपालिकाले एउटा नीति नै ल्याएको छ । अब उपरान्त हामीले सरकारी जग्गामा कुनै कन्ट्रक्सन गर्न नदिने भनेर नीति बनाएका छौँ । अब त्यहाँ रूख बिरुवा रोप्ने, घुम्ने र रमाउने ठाउँको रूपमा हामीले विकास गर्न काम गरिरहेका छौँ । एउटा रूख रोपेर हुर्काउन धेरै समय लाग्छ । त्यसैले पनि भइरहेका र नयाँ रूखहरू जोगाउन हामीले नयाँ कामहरु गरिरहेका छौँ । दाहसंस्कारमा समेत निकै धेरै दाउरा चाहिने भएकोले हामीले बागमतीको किनारा संखमुलमा विद्युतीय शवदाह गृह बनाउने काम थालेका छौँ । मेसिन डेलिभरी हुने बेला हुन लाग्यो । सोको लागि जमिन पनि हामीले नै किनेका हौँ । यस्ता निर्माणका काम गर्न हामी खाली सरकारी जमीनको उपयोग गर्दैनौँ । अरू कामको लागि र सरकारी अपिसको लागि पनि हामी हाम्रो जग्गा मास्दैनौँ । हामीले वडा कार्यालय बनाउन धापाखेलमा पनि जग्गा अधिग्रहण गरेर पैसा बुझाएर नै लिएका हौँ । यी सबै काम गर्नुको कारण चाहिँ हामीले खालि रहेका जग्गाहरू कसैले नचलाओस् र नमासोस् भनेर हो । यस्तो कुराको प्रेरणा मलाई विदेशतिर जाँदा त्यहाँका साना साना घरहरू र सार्वजनिक हरियालीयुक्त खुला जमीन देखेर आएको हो । आज हामीले बाताबरण जोगायौँ भने न भोलिकाहरूले पनि त्यही गर्छन् । यो कुरालाई हामीले मूर्त रूप दिने निर्णय गरेका छौँ ।

 

यहाँले सम्पदा संरचनाको लागि देखाउनु भएको भुमिका एकदमै प्रशंसायोग्य छ । देश र उपत्यकाका स्थानमा पनि यो अभियानको आवश्यकता छ भन्ने लाग्छ  ?
एकचोटी मैले सम्माननीय प्रधानमन्त्रीज्युलाई भेटेको थिएँ । बहुत दुखका साथ भेटेँ । हुन त राजनीतिक खिचातानीले होला । मैले चाहिँ अन्य कुराको बाबजुदमा सम्पदाहरूको कुरा गरेँ । २०७२ सालकोे भुकम्प पछि २०७४ सालमा चुनाव भयो । नेपाल सरकारले सम्पदा पुनर्निर्माणमा आयोग गठन गर्‍यौं। त्यसपछि अनेक टेन्डरहरू गर्यो । त्यसपछि मैले पाटनको मात्र कुरा गरेर चारवटा मन्दिरको टेन्डर गर्यो । तर आजसम्म पनि त्यो प्रक्रिया पुरा भएको छैन । मैले प्रधानमन्त्रीलाई उही बेलामा नै यो सम्पदा क्षेत्रलाई सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम टेन्डर नखोली दिनुस् यसो गर्दा लामो प्रक्रियामा जानुपर्ने भएकोले केही कुराहरू पनि बन्दैनन र निकै ढिलासुस्ती हुन्छ भनेको थिएँ ।

 

उदाहरणको लागि स्वाठुको कृष्ण मन्दिर, राधाकृष्ण मन्दिर, पाटन सुन्धाराको कृष्णमन्दिर, सङ्खमुलको जगतनारायण मन्दिर, रातो मच्छिन्द्रनाथको मन्दिर र शिखर शैलीका चारवटा मन्दिर थिए । “यो प्रकृयालाई सरल बनाएर त्यहाँका स्थानिय मान्छेले काम गर्न मिल्ने गरि बनाईदिनुस्।” मैले उहाँलाई चित्त बुझ्दो तरिकाबाट भनेँ । नभन्दै उहाँले ६/७ महिना समय लिएर एउटा ऐन बनाइदिनु भयो र यसमा १० करोड सम्मको मठमन्दिर, देवालय, शिवालय, सम्पदा पुनर्निर्माण स्थानीयले बनाउन पाउने लेखेको छ । त्यही ऐन अनुसार अहिले हामीले पाटनको सबैभन्दा ठुलो मन्दिर देगु तलेजु बनाउन गईरहेका छौँ । तर त्यो ऐन आउनु भन्दा अगाडि पाटनको ठूलो मन्दिर चाहिँ ४ इन्च टिल्ट भईसकेको थियो। तर सरकारले त्यो पनि पहिलाको ऐन अनुसार नै टेन्डर खुलाएर काम गरेथ्यो । त्यसैले काम ढिलो भएमा भत्कने डरले मैले सरकारको पैसा नलिने भनेर नेपाल चेम्बर कमर्सका अध्यक्ष र काठमाडौं भ्याली प्रिजर्भेशन ट्रस्टका कन्ट्री डाइरेक्टरसँग कुरा गरेर काम शुरु गराएँ । एकजना उद्योगी व्यवसायीले त्यहाँ लाग्ने ईँटा किनिदिने भने र हामीले नगरपालिकाको तर्फबाट १ करोड रूपैयाँ राख्ने घोषणा गर्यौँ । त्यस्तै एभरेस्ट बैकका अध्यक्ष बिके श्रेष्ठ र एनआइवी बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले एक-एक करोड राखिदिने वचन दिए । अहिले योे काम नब्बे प्रतिशत सकिएको छ । सम्पदा क्षेत्रमा टेन्डर गर्दा साहु (ठेकेदार) मात्र मोटाउँछन्। घुसखोरी चल्छ ।

 

यहाँका हरेक मन्दिरमा पुजा मात्र नभई दिनदिनै भजन किर्तन र रमाइला सांस्कृतिक कामहरू पनि गर्दा संस्कृतिको सम्वद्धन हुने भएकोले हामीले यस्ता कार्यको लागि यथेष्ट रकम छुट्टाएका छौँ । रातो मच्छिन्द्रनाथको जात्रा पछि हाम्रो यहाँ अर्को खड्ग जात्रा पनि छ जुन सबैले रूचाउँछन् । त्यो जात्रा २३ बर्षदेखि चल्न सकेको थिएन तर हामीले सो जात्रा सञ्चालन गर्ने १८ वटा भिन्दा भिन्दै समुहहरूलाई एक ठाउँमा ल्याएर २३ बर्ष पछि पुनः शुरु गर्‍यौं ।

 

अर्को दुर्गा जात्रा पनि रोकिएको थियो हामीले पुनः शुरू गर्यौ। अर्को कत्तिक नाच छ त्यसलाई महिना दिनसम्म चलाउन सकिएको छैन। नेपाल भ्रमण वर्ष २०२० मा कार्तिक जात्रा चलाउने भनेको कोरोनाले गर्दा सकिएन । सो नाचको लागि १ करोडको अक्षयकोश खडा गर्यो। खोकनाको रूद्रायणी नाच छ त्यसलाई पनि ५० लाख दियौं र ५० लाख दिन बाँकी छ। हरिसिद्धीको हरिनाच छ त्यसलाई पनि २० लाख दियौं २५ लाख दिन बाँकी छ । सबैलाई हामीले समेटेका छौँ । हामीले जिवन्त सम्पदा सत्यमोहन जोशीलाई सबै आवश्यक सेवा सुविधा दियौं, उहाँको दिनचर्या राम्रो भयो । मोवाइल सेवा सुविधा दियौं उहाँ अहिले पनि यता उता गरिरहनु हुन्छ । हामीले उहाँको मुखाङ्कृीत क्वाइनहरू नेपाल सरकारको सहयोगमा निकाल्यौँ । हुलाक टिकट पनि निकाल्यौँ । राजाहरु बाहेक यस्तो सम्मान पाउने उहाँमात्र हुनुहुन्छ होला ।

 


तीनदशक भयो तपाईं नेपाली राजनीतिमा जोडिनुभएको । पहिले र अहिले के कस्ता फरकहरू देख्नुहुन्छ ?
मैले एउटा कुरा भन्ने गरेको छु । म राजनीतिमा जिन्दावाद र मुर्दाबाद तीर लागिन । लागेको पनि छैन।  नेपाली कांग्रेस केन्द्रले ह्विप नै जारी गर्यो भने र जानैपर्छ भने मात्र म जान्छु । नत्र म जाने गरेको छैन । कांग्रेसमा मेरो राजनीतिक धरालत त्यत्ति माथि छैन। म जिल्ला सदस्यसम्म मात्र छु। अहिलेको परिप्रेक्ष्मा अन्य राजनीतिक पार्टीको कुरा गर्नु भन्दा कांग्रेस कै कुरा गर्दा राम्रो । पछिल्लो समय राजनीतिमा धेरै विकृतिहरू देखापर्न थाल्यो । हिजोको अवस्थामा गणेशमानले भन्नूहुन्थ्यो, मेरो लौरो उठाए पनि जित्छ तर अहिले समय अर्कै भएको छ । तर अहिले त आफ्नै पार्टिका मान्छेहरूले नै खुट्टा तान्छन् । अहिले चाहिँ जब रूख चिन्ह र झण्डा लिएर अफिसियल क्यान्डिडेट भइसके पछि सबै खाले राजनीति बन्द गर्नुपर्छ । टिकटको लागि गरिने तानातान सबै बन्द गरेर आधिकारिकलाई सहयोग गर्नुपर्छ । अहिले पनि जनताले राजनीतिक व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण केही फरक पाइन्छ । कारण त्यस्तै हुन । खिचातानी । 

 

जनताको आधारभुत आवश्यकता विकासमा गर्नुपर्ने काम हुन सके की सकेनन् ?
आधारभुत आवश्यकताको बारेमा कुरा गर्दा चाहिँ ललितपुर महानगरपालिकाको निमित्त हामीले एउटा घोषणापत्र सार्वजनिक गरेका थियौ । काम गर्दै जाँदा केही राम्रो पनि भएका छन् केही कमी पनि भएको छ होला । यी सबै कुराहरूलाई सम्मिश्रण गर्दा केही कमी, केही धेरै काम भएका छन् । हामी हाम्रो एक बर्षको समयमा यी कुराहरू पनि पूरा गर्नेछौं ।


जनताको जीवनस्तर उकास्न के के कुराहरू आवश्यक देख्नुभएको छ ? 
जनताको जिवनस्तर उकास्नको निमित्त मैले देखेको कुरा चाहि वातावरणीय संरक्षण, स्वस्थ्य हावाको कल्पना हुनु जरुरी छ। शिक्षा क्षेत्रमा धेरै विकास गर्नु पर्ने छ। विकासका नयाँ आयोजनाहरु ल्याउँदै छौँ । स्वास्थ्यको क्षेत्रमा पनि राम्रो काम गर्नु पर्ने छ। बालबालिकाहरूको शिक्षा र स्वास्थ्याको लागि केही कुरा समयमै गर्न जरुरी छ। 

 

राजनीतिक परिवर्तनमा देशले फड्को मारेपनि देशले सोचे अनुसार आर्थिक फड्को मार्न सकेको छैन यसको जिम्मेवार को हो जस्तो लाग्छ ?
१५ औँ पञ्चवर्षे योजना हेर्दा पनि हामी यसलाई पनि सम्बोधन गर्दैछौँ । १४ औँ पञ्चवर्षे योजना हेर्दा पनि अस्पष्ट नै छ नि होइन त । हामी कुनै बेला चामल, काठ, चिनी निर्यात गर्ने मुलुक। अलैची त अहिलेसम्म पनि निर्यात भईराखेको छ । म एकचोटी कोरिया गएको थिएँ । त्यहाँ मलाई तपाईँं नेपाली हो ? भनेर सोध्यो । हो भनेँ । तपाईंहरूले कुनैबेला हामीलाई चाहिएको बेलामा ५ हजार मेट्रिक टन चामल सहयोग गर्नुभएको थियो भन्यो । हिजोको अवस्थामा हामी त्यहाँ थियौँ । केहि विकास त भएको छ तर हिजो हामीले सहयोग गरेका देशहरू कहाँ पुगे र हामी कहाँ छौँ । यो कुरामा ख्याल गर्नुपर्छ । 

 

उपत्यकाको धार्मिक तथा सांस्कृतिक मौलिकता बचाई राख्न संयुक्त रूपमा कुनै अभियान चलाउनु भएको छ ? या कुनै अभियान आवश्यक छ कि छैन ? 
यस्तो अभियानको निकै आवश्यकता छ । यो गर्नुपर्छ । हामीले नगरे कसले गर्छ । यहाँ चाहिँ अहिले केही सम्पदा प्रेमी भनौदाहरू फुत्त आए, थाहा नपाएर हुन्छ या कसरी दायाँबायाँ गरेर उर्लि र विल्लि गर्न आउँछन् । पोहर हाम्रो रातो मच्छिन्द्रनाथको जात्रा १४०० बर्षदेखि चलिआएको जात्रा के गरेर कसरी अगाडि बढाउने जस्ता कुराहरू भयो । त्यतिबेला कोभिड थियो। गाउँ समाज थियो । प्रशासनसँग कुरा गरेर जुन किसिमले सबैजना एक किसिमले मिलेर अघि बढ्नु पर्नि हो तिनिहरूले चाहि बेलामा सहि काम नगरेको अनुभुति भएको छ । किनकि समयमा हुनुपर्ने कामहरू भएका छैनन्। यसमा हाम्रो विमति छ। अहिलेको समयमा सामाजिक सञ्जालबाट जुन व्यवहार गर्यो त्यसमा हाम्रो विमति छ । काठमाडौंमा धेरै जात्राहरू छन् । सम्पदा संरक्षकहरूले निभाएको भूमिका सहि छ । पहिले पनि काठमाडौं भित्र विभिन्न नगरपालिकाहरूमा धेरै कुराहरू भएका थिए । फेरी पछि आएका मेयरहरूले सबै कुरा हटाइदिए। राम्रा कामहरुको निरन्तरता भई रहने खालको एक सर्वदलीय, सर्वपक्षीय सहमति हुनु जरुरी छ ।

 

 

अन्त्यमा, यो भन्दा अघिको भेटमा हामीले यहाँलाई महानगरपालिका अन्तर्गतको वारुणयन्त्र कार्यालयमा रहेका पुराना भिन्टेज दमकलहरु कवाडीमा बेच्न लागेकोमा त्यसलाई रोकेर ती ऐतिहासिक दमकलहरुलाई त्यहाँ प्रदर्शनमा राख्नुपर्छ भनेका थियौँ । यो बारे के भयो ?
मैले तपाईहरुसँग भेटेर यो बारेमा जानकारी पाउने वित्तिकै वारुणयन्त्रको कार्यालयमा गएर त्यहाँ बन्दै गरेको नयाँ भवन र ती पुराना दमकलहरुको निरिक्षण गरेँ । त्यसपछि लिलामीको लागी मेरो टेबुलमा आएको फाइलमा बदर निर्णय गरेर मैले यो लिलामी रोकी दिएँ र अहिले हेर्न जानुस् त, ती पुराना ऐतिहासिक दमकलहरु हामीले एउटा शेड बनाएर प्रदर्शनमा राखेका छौँ । अब ती दमकलहरु सँधै त्यहाँ रहने छन् । यस्ता राम्रा सल्लाहहरु जो जसबाट आएपनि हामी स्वागत गर्दछौँ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार