पाका मान्छेलाई पत्याउँ !
एकै प्रकारका कुरामा सिकाईको विविधता, पारिवारिक पृष्ठभूमि, प्राप्त साधनस्रोत, परम्परागत धारणा, वातावरणको प्रभाव र व्यक्तिगत स्वास्थ्य स्थिति तथा क्षमताका आधारमा फरकफरक मान्यता विकसित भएको हुन सक्छन् । बिभिन्न उमेरसमुहमा मानिसका स्वभाव फरक हुनको पछाडी त्यस्तै विविध सामाजिक र मानसिक छापले कामगरेका हुन्छन । मानिस जन्मेपछिको केही वर्षको हुकाईले मस्तिष्क विकासमा धेरै भूमिका खेलेको हुन्छ भने पछि सिकीने र प्रभावपार्ने परिस्थितिले पनि बिचार बनाउन मद्दत गर्दछ । केही प्रभाव हुर्कदैगर्दा र एकसरो काममा लाग्ने वयस्क उमेरसम्ममा व्यक्तिको सङ्गतले पनि असरगरेको हुनेहुनाले त ‘सङ्गले रङ्ग सर्छ’ भन्ने उखान प्रचलित भएको हो ।
हरेक उमेर समुहको ज्ञान र अभिव्यक्ति आ-आफ्नै प्रकारको हुन्छ । केटाकेटीमा मस्तिष्क विकसित हुने क्रममा मानव समाजका धेरै कुरामा अनुभव र सिकाईको कमीकै कारण नबुझ्ने हुन्छ । उमेरिदै जाँदा अनुकुलतासँगै परिस्थितिजन्य अनुभव र सिकाई आफ्नैमा मात्र सिमित नभई आफ्नो समाज, देश, पृथ्वी र ब्रह्माण्डको ज्ञानसमेत हुन्छ । यस्तै परिप्रेक्ष्यको कारणले एकै प्रजातिका मानिस सातैै महादेश र छिन्नभिन्न टापुदेशहरूमा छरिएका भएपनि हरेक समुदायको आआफ्नै स्तरबाट ज्ञानयुक्त भएका देखिन्छन् । फलस्वरुप एउटै उमेरसमुहका विभिन्न ठाउँका मानिसका चेतना, ज्ञान र भोगाईमा मात्र होईन अनुभूतिमा समेत विविधता पाईन्छ । त्यसैले त सामान्य प्राकृतिक प्रकृया– पानी पर्दा वा गड्याङ्गगुडुङ गर्दा सँसारभरीका हरेक मानव समुहको आआफ्नै प्रकारको अभिव्यक्ति पाइन्छ । हरेक उमेर समुहसँगै आउने त्यस्तो विविधतामा पाका मान्छेका अभिव्यक्ति पनि फरकफरकनै रहेको हुन्छ । फरक जस्तोसुकै भएपनि पाका मान्छेका भोगाईको अभिव्यक्ति भने तथ्य र वास्तविकताको निकै नजीक हुन्छ । पाका मान्छेले त्यसो गर्न सक्नुमा उहाँहरू आफुजस्तै र अरु कम उमेरकालाई ढाँटन र छक्याउन मन गर्नु हुन्न भन्ने बुझ्नुपर्छ । आफ्ना दशकौँका ज्ञानले आर्जीत अनुभव उहाँहरू जस्ताको त्यस्तै भन्न, सुनाउन र अरु उमेर समुहले बिशेषगरी आफन्तले गर्न खोज्नु भन्ने चाहनुहुन्छ ।
खानपीनः
केटाकेटीदेखि पाको उमेर पुग्ने क्रममा कतिपय खानपिनका स्वाद, फाईदाबेफाईदा र प्राप्यताबारे पर्याप्त जानकारी पाका मान्छेलाई भईसकेको हुन्छ । त्यसमा आधारित भएर उहाँहरू आफ्नो फाप अफाप अनुभवको पूर्वा ग्रहसमेत थपेर ठिक बेठिक भन्नुहुन्छ । आफु केटाकेटी हुँदा के मन परेको थियो ? कुन कुरा मन परेर पनि पाईएको थिएन ? सकेमा अहिले ती कुरा नाती पुस्ताका केटाकेटीलाई पु¥याउन खोज्ने देखिन्छ । कतिपय प्रशङ्गमा घरका वयस्क पुस्तालाई मन नपरेमा अनि मतान्तर र उस्तैपरे ‘किन हस्तक्षेप गरेको होला ? जुगजमाना कहाँ पुगीसक्यो, खाली पहिलेका कुरा’ भनि क्वारक्वार सुरुहुन सक्छ । त्यतिखेर पाका मान्छे व्दन्व्द कमगर्न चुपलाग्ने र आफुलाई फाप्ने कुरामा अडिग हुनुपर्छ भने ‘ढुङ्गो बोल्ला तर आफु नबोल्ने’ नै कल्याणकारी बाटो अपनाउँछन् ।
प्राय पाका मान्छेलाई शारीरिक कमजोरी, आवस्यक्ता र सहज पाचनकालागि चपाउन कमपर्ने नरम, मिठो मानिएका कुरा तथा पहिले तागतिला भनिएका कुरा मनपर्छ । अरुले पनि त्यस्तै खानपिन गरुन भनि आग्रहगर्न सक्छन, अझ बजारीया र घरमै बनाएकोमा घरको खानेकुरा मन पराउने गर्छन । अहिलेको बजारबाद र बेलामा घरेलु सिप सिक्नपाउने वातावरणको अभावमा वयस्क र केटाकेटी बाजारु कुरामा लोभिएकोमा ‘नाक खुम्च्याउँछन्’ । नौनीको फाउ बनाएर चामलको पिठोमा सक्खर मिलाई बनाएको घरेलु सेलरोटी र माल्पुवा पाए, दाँत नभए ङ्याच्याङ्गङ्याच्याङ्ग पारेर भएपनि सन्तुष्ठ बन्छन् । एक छाक फूस्रा रोटी दैनिकी बनेका पाका मान्छे बजार मैदासङ्क्रमणले आक्रान्त भएको पिरलोले सुद्ध गहुँको पिठो पाए त हुरुक्कै हुन्छन् । त्यसैले त अचेल पाका र रोगव्याधको खुराकीकोरुपमा बजारको चलाखीले ‘गहुँका चिउरा, आँटा र मकैका पिठो, च्याँख्ला, दरियाको’ व्यापार फस्टाएको छ नि !
पाका मान्छेको लोभ्याउने कथन र सहरीयाको स्वादफेर्ने भनि अचेल ‘लोकल कुखुरा, पहाडी आलु, फापर र कोदोको ढिँडो अनि लट्टे र काल्तोरीको साग, रासायनिक मलमुक्त तरकारी’ले सहरबजारका भोजनालय गुल्जार हुँदैछन् । बेलाबेला पानरोटी र खिच्रोको चर्चामात्र चलेमा पाका मान्छे फर्सीका मुन्टा, भिँडेखुर्सानी र मिल्दो गेडागुडीको जोहोगरी पकवान पकाउन अग्रसर हुन्छन् भने तात्तातो खाई कोखा चर्काउने सपना बुन्न थालिहाल्छन् । त्यस्तो खानाको प्रशँसा मनमिल्दा जोरीपारी र आफन्तसँग पक्किने बिटोनै बन्छ केहिदिन त । मतापको आँचमा पाकेको, हरेक कुराको पाक पुगेको, भर्सेको खानाको बर्णननै कतिकति ? त्यसैले अचेलको ‘दुईटा पाउराटीका ब्रेकफास्ट र औषधिले बढाएर बेचिएको दुधचिया’ वाला बिहानीको खानामा पाका मान्छेले मन नदिएका हुन । खाजामा पनि सक्नेले मकैभटमास वा दहिचिउरा र तिलको छोपमा रमाउने पाका मान्छे ‘दोटा समोसा, एक कचौरा तयारी चाउचाउ र पिज्जाको एक चोईलोमा’ अपरान्ह काट्न बेखुसी देखिन्छन् । दिउँसो दुई ओटा फूस्रा रोटी र आलुको झोल अनि साँझमा बरु रुगरुगे जाउलो ‘पेट फुलेको पनि समन हुन्छ’ भनि आश गर्छन् । गर्मी महिनाबाहेक मनतातो पानी पिउन पाउँदा ‘भोक मरेको र वायु हटाको’ अनुभूतगर्ने पाका मान्छे चटपटे खानेकुराभन्दा लयालु र छिपछिपे मन पराउँछन् । धेरै अमिलो, पिरो, तितो, तेल चुहिने खानेकुरा, रसको पित्कै नभएको तरकारीभन्दा हरेक चिज ठिक्क स्वादको र अली झोलिलो पाक राम्रो मान्छन् । हरेक कुरामा ‘ठिक्क’ भन्न र खान रुचाउने पाका मान्छे दशकौँको अनुभव आफुलाई लागु गर्छन् र अरुले मानिदिउन भन्ने सोच्छन् । त्यसैले ‘हाम्लाई त हुन्छ, तपाइँहरूलाई के को कचपच ? पाएको बेलामा कोचेर खानु नि !’ भनाई सरासर बेठिक हो । पाका मान्छे कति खाने र कहिले खाने भन्ने आफ्नै अनुभवले थाहापाएका उमेरसमुह हुन । उनिहरूका खानाको सिफारिसले कसैलाई नोक्सान हुँदैन ।
लुगाफाटोः
चाँडै नमैलिने र चहकिलो भन्दा शान्त रङ्गका कपडा मनपराउने पाका मान्छे किन्दानै ‘कपडा जोगाउँदो, बिस हिउँद चल्दो’ भन्दै घोटघाट गरेर किन्छन्, रोज्छन । प्राय कपडा ‘बाक्लो र नघष्टिने’ रोजाई पाका मान्छेमा पाईन्छ भने सिलाउँदा खुल्ला र अलि ठूलै आकारमा सिलाउने बानीनै हुन्छ । अहिलेको जस्तो टिमिक्क वा घुँडो, छाती, ढाड देखिने त ‘सिनेमामा हेर्न पो ठिक्क’ भन्ने पाका मान्छे अङ्ग देखिने, बाहिरीभित्री खल्ती नभएका, पेटमा हावा पस्ने त लाउननै मान्दैनन् । त्यसैले त जमघटमा पाका मान्छे नेपाली ‘मूलाको बोक्राजस्तो बाक्ला’ दौरासुरुवाल, कोट वा ज्वारीकोट, चौबन्दी चोलो र बाहिरी सारी लगाउन मन गर्छन् । कोटभित्र टिसर्ट, पेटका लुँदा देखिने तुन्दुङ्गे तुना बाँधेको कोखादेखिने चोलो र नितम्बको हाड देखिने सारी लाउने पाका मान्छे बिरलै देखिएलान् ! बाक्ला र सरिर बचाउने लुगालाई ‘एक झर पानी र टण्टलापुर घामबाट जोगाउने’ भनि तन्नेरीका हँस्यौलीलाई पाका मान्छेले सिन्को बराबर पनि भाउ नदिएको पाइन्छ । कुर्कुच्चे, पाईताला भन्दा लामा, औँला देखिने बजारमा चलेका सर्प जेलिएका जस्ता तुनेभन्दा खुट्टो हुल्ने, तुना नभएका र च्याप्प हुने नरम जुत्ता लगाउन पाका मान्छे मन पराउँछन् । ‘हिँडन सजिलो हुने पो जुत्ता, बेआकारको मागेकोजस्तो’ भन्ने त पाका मान्छेको मुखमै हुन्छ । छालाकै लगाउँदा पनि कानेजुत्ता टिलिक्क काली लगाएको रुचाउने पाका मान्छे कपडाका नरम तलुवाभएका जुत्तामा हिजोआज लहसिएको पनि देखिन्छ । जेभएपनि सरिरलाई बाधा नपर्ने, धेरै चमकनभएको आरामी खालका चिजबिज रुचाउने देखेमा पाका मान्छे भन्न सकिन्छ । बरु पाएसम्म पिँडौला च्याप्ने मोजा लगाउन पछि हटदैनन् । पाका मान्छेका ओच्छ्यान रोजाईमा ‘पल्टँदा भैँसी बस्दा स्वाँ भएजस्तो ठस्याकठुसुक’ गर्ने नभएर लपक्क परेकोनै हुन्छ । तकिया मुण्टो अड्याउन फाप्ने आकारको हुन्छ भने बस्दा अढेसलाग्न सजिलो सँगै बालिष्ट भनिने अलि भूक्के गद्दा रहन्छ । कोही भेटन आउँदा बसेर कुरागर्न मनगर्ने पाका मान्छे केहिबेरमा कम्मर र ढाड दुख्दा बालिष्टमा टेको लगाएर गफ्फिएका हुन्छन् । ओढने बाक्लो तर हलुको सिरक एक कुनामा रहेको देखिन्छ भने जुनसुकै मौशममा कामलाग्ने पातलो ओढने सँगै हुन्छ । प्राय ओच्छ्यानमा सुतीका अवयव बढि हुन्छन भने पुग्ने ठाउँमै हातेरुमाल र पुछने टाला भेटिन्छ । औषधिमूलो र पानीका भाँडा त सिरान छेउ व्यवस्थित राखिएको हुन्छ । अझ दैनिक झुक्किन नहुने औषधिको पातोमा सुरु र अन्त्यको गतेसम्म लेखिएको देखिने ठाउँमानै हुन्छ । पढन ईच्छागर्नेका त त्यतै ओरपर नियमित पढने र नयाँ पुस्तकका चाङ देखिनु फोहर हैन है । ओच्छ्यानबाट उठनासाथ खाट छ भने खाटमनि नभए ओच्छ्यानको गोडा पसार्नेतिर सानो पुछुवा टालोरहेको पाईन्छ । यसले ओच्छ्यानबाट उठि यताउतीगरी फर्कँदा सफाराख्न मद्दत गर्दछ । सुतेर पनि देखिने झुण्ड्याउने पात्रो, त्यसमा छोडन र बिर्सन नहुने गतेबारको चिन्हो, आफ्ना मान्यजनका चित्र, भए भित्तेघडी तथा रातबिरात सजिलोहुने उज्यालोको प्रबन्ध हुन्छ । घरभित्र र बाहिर लाउने लुगा केहि झुण्डिएका र विशेष बेलाबेला प्रयोगगर्ने चाहिँ अजगमा मिलाएर थन्क्याएको पाईन्छ । घरभित्र घिसार्ने चप्पल वा जुत्ताको आफ्नै ठाउँ अठोटेको होला भने बाहिर हिँडदा लाउने एकजोर टाँडमा वा प्लाष्टिकले मोरेर बाहिर निस्कने ढोका छेउछाउ कसैलाई बाधा नपर्नेगरी जतन गरिएको होला ।
बोलीचालीः
पाका मान्छे आफ्नै उमेरसमुह र चित्त मिलेकासँग बाहेक गिल्लीने, ईतरिने र गफ्फिने कम गर्छन । छ दशक नाघेका मान्छे, जीवनका हण्डरठक्कर खाएर कपाल फुलाएर पाका मान्छे भएका हुन् । उहाँहरूका अनुभवसहितका कुरा अरु उमेरसमुहसँग मसक्कै कुनै पोयोनै मिल्दैन, छेउकुना मिले पनि । हो आदरभावसहित पाकालाई मायागर्ने परम्परा बसेका परिवारमा हुर्केकाको चाहीँ कुरै अर्कै । त्यस्तोमा त पाका मान्छेका साथी अरु उमेरसमुहका मनग्य बन्न सक्छन् । यस लेखकले एउटा त्यस्तै घर देखेको थियो जहाँ बाआमालाई भेटन आउने पाका मान्छे बिस्तारै कुराकानीको क्रममा छोराका साथी बनेका थिए । पछिपछि बाआमाले भेटन आएभनि स्वागतको तयारीमा सटरपटर गर्दागर्दै भेटन आउने छोराबुहारीको कोठातिर जान्थे र घरका पाका मान्छे जिल्ल पर्थे । रहँदाबस्दा त ‘हामीलई भेटन आएका होईनन् उनिहरू, तिमीहरूसँग कुरा मिल्छन्, त्यसैले ल्याईदिएको यतै’ भनि बाआमा भन्नुहुन्थ्यो र आउनासाथ पाहुना ल्याईदिनुहुन्थ्यो । त्यस्तै, यस लेखकले पनि हजुरबा हजुरआमाको भनाई मन पराई झ्याम्मिने क्रममा स्वभाव अनुकुल भएछ क्यार, अचेल दैनिक कुराकानी र बिचार आदानप्रदानगर्न आफुभन्दा जेठा र अझ बिस वर्ष नाघेका पाका मान्छेको अमूल्य सङ्गत पाएको छ ।
उमेरकै कारण र अनुभवको बिटा प्रशस्त भएका पाका मान्छे कसैलाई झुक्याउने, ढाँटने, छल्ने र दुखदिने काम गर्दैनन् । साँचो कुरा सुन्नु परे, त्यसैले पाका मान्छेका कुरा सुन्दा र मान्दा कुनै उमेरसमुहलाई अप्ठ्यारो पर्दैन । पाका मान्छे आफ्ना अनुभव र ज्ञानले निर्देशितभई कसैलाई नोक्सान नपर्ने बिचार अघि सार्छन् । जीवनमा ओरालो लागेका उहाँहरू ‘ठगेर, ढाँटेर र अरुलाई बिग्रने कुरागरेर किन दुर्नाम कमाउनु मर्ने बेला ?’ भनि जीवनभरी छँट्ट्याई गरेपनि पाको हुँदा गम्भिर र सत्यबादीनै भएका हुन्छन् । ‘अब त सकेको नाम राख्ने र सबैको हाईहाई भएर जाने’ भन्ने मूलमन्त्र सबै पाका मान्छेले जपेकै हुन्छन् । त्यसैले उमेरदारको नानाभाँतीका चर्तिकलामा ‘लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तिन बल्ड्याङ’ अनि पाका मान्छेको गुणगानमा ‘कुरा सुन्नु पाकाको’ भन्ने उखान चलेको होला !
हिँडडुलः
पाका मान्छे हरेक कुरा मतापले कष्ट र चिन्ता आई नपर्नेगरी गरेका देखिन्छन् । सारीरिक सिथिलताले हुने सुस्तगती एउटा समस्या हो, तर पाको उमेरमा कसैले पनि हारहार र हुरहुर अनि आफैँ लटपटिने हतारो गरेको पाईन्न । घरबाट निस्कनुपर्ने भएमा योजना अघिबाटै गरेर, जानैपर्ने र नगएपनि हुने खुट्ट्याई र निकै सोचबिचार गरेरमात्र निर्णय गर्छन् । कुनै पनि नौलो कामकुरो निकैबेर गमेर अघिबढन खोज्छन भने ठूलोबडो निर्णय ‘एक रात सोचौँ’ भनि बिचारमन्थन र विषयबस्तु पाकोसँग बुझ्न समय राख्छन् । त्यसो गर्नमा उहाँहरू अल्छी, अशक्त, अरुको कुरा बेवास्तागरेको वा ढाँटेको पटक्कै होईन । कतै जाँदा पनि पूर्वयोजनाको म्यादराखेर निर्णय गर्छन र बाटो लागेपछि निरन्तर मन्दगतिमा लागिरहन्छन् । सवारीसाधन प्रयोगगर्दा आफुलाई र साधनलाई गाफिल पर्नेगरी गर्दैनन्, चढदा, बस्दा र ओर्लँदा पनि होसगरी गर्छन् । बिशेष ठाउँमा बिशेष काममा जाँदा पाका मान्छेसँग सल्लाहगरी जाने चलन भएको त्यसैले होला ! चाडपर्व र उत्सवमा खास सूचना र चिजविज हुलमूलमा नबिर्सियोस् भनि पाका मान्छेकै जिम्मा लगाउने गरिन्छ । त्यसैले त पाका मान्छेसँग हिँडदा बाटोमा र मुख्य कामकोलागि चाहिने सामान ‘ज्या ! चाहिने कुराचाहीँ बिर्सेछ’ भन्ने कहिल्यै पर्दैन । पाका मान्छे हिँडडुलको अवधि र दुरी बिचारगरेर जतिसुकै बजारको चहलपहल भएपनि थरकमार्ने ठाउँ, त्यहाँ खाईने खाजा र बासबस्दा चाहिने सामानको कुम्लो बोक्न तयारीमा हुन्छन । थोरै समयलाई बाहिर निस्कँदा पनि नियमित औषधि र आवस्यक सामान बोकेकै हुन्छन् । कतै जाँदा हिँडडुलको दुरी र समय बिचारेरमात्र हिँडछन् भने आईपर्ने समस्याकोलागि तयारी चिजबिजको व्यवस्था पनि गरेकै हुन्छन् । मौशम र ठाउँबारेमा मनग्य जानकारी बटुलेका पाका मान्छे ‘पानीले चुट्यो’ वा ‘घामले सेक्यो’ वा ‘मोटर छुटी गयो नि’ भन्नेमा कहिल्यै पर्दैनन् । हिँडदा मतापदेखि लम्कन तयार पाका मान्छे ‘काम फत्ये नभएसम्म स्वाँस्वाँ फ्वाँफ्वाँ नगरी’ एकोहोरो लाग्न सक्छन् । हो, धनु बलियो भएकाको हिँडडुलको र भेटघाटको अवधि बढि हुनसक्छ । अनुभवले खारिएकैले गर्दा हरेक गतिविधि मतापले गर्ने भएकाले ‘ज¥याकजुरुक, उफ्रिपाफ्री’ जस्ता काम पाका मान्छेले गर्दैनन् । ‘खरायो र कछुवाको दौडमाझैँ’ पाका मान्छेका हिँडाई काम सकेर सफल हुनेमा हुन्छ । बिनसित्तीँको ‘व्याई कुकुर्नीको लखरलखर’ नहुने धेरैलाई थाह छ ।
अन्त्यमा,
पाका मान्छे जे भोग्छन, अरुलाई अप्ठ्यारो नपर्नेगरी अभिव्यक्त गर्छन् । उहाँहरू जहिल्यै नचाहिने, अडको थाप्ने, निहुँ खोज्ने र ढल्केको उमेरमा झूठा कुरा गरेर बाँकी बचेको आफ्नो उमेरमा व्यवधान निम्त्याउन चाहना गर्नुहुन्न । उमेरिदै गएका पाका मान्छेलाई उहाँहरूका गतिविधिमा हौसला दिऔँ, उहाँहरू जति र जे गर्दै हुनुहुन्छ त्यो एउटा मानिसले सरल तरिकाले सहज जीवनयापन गर्ने कला हो । सारीरिक दुर्बलताले ल्याउने मन्दगति बेग्लै कुरा हो, त्यसको उपचार बेलैमा मायागरी अरुले गर्ने हुनुपर्छ । उहाँहरू कसैलाई ठग्न र अनावश्यक साहनुभूति पाउन सुस्त भएको होईन, त्यो त दशकौँको अनुभवले खारिएर धेरै वर्ष अझै बाँच्ने आशाले गरिएको सत्यानुभूति हो । सारीरिक हरेक श्रमले आन्तरिक उर्जा खपतहुने हुनाले जति धेरै गतिविधि उतिधेरै शक्तिको आपूर्ति सरिरको माग हुन्छ । त्यसैले त भर्खर शल्यक्रिया भएका वा सिकिस्त बिरामीलाई चिकित्सकले पल्टिरहन र कम कुरागर्न भन्छन नि ! अलि तङ्ग्रीन थालेपछि सरिरलाई व्यायाम पुगोस् र जैविक प्रक्रिया सामान्य होस् भनेर सहयोगीको भरमा भएपनि हिँडाउन खोज्छन् ।
पाका मान्छेले गर्ने व्यवहार वयस्क छँदै सिकेमा आयु लामो र स्वस्थ्य हुने कुरामा दुईमत होला र ? चनमते हुनु तत्काल राम्रो होला तर जीवनको लम्बाई घटाएको हेक्का किन नराखेको होला ? सदा चञ्चल र खाना पनि हतारमा बुत्याउने मृगभन्दा सन्त गाई कहिलेकाँहीमात्र मल्याकमुलुक गर्ने हुनाले बढि बाँच्छ । हरेक कुरामा धर्यसाथ अघि बढने हात्ती त्यो भन्दा बढि बाँच्छ भने जीवनको प्रारम्भिक कालदेखिनै मतापले हरेक काम गर्ने कछुवा कति धेरै वर्ष बाँच्छ ? सबैलाई थाहै छ । पाका मान्छे अनुभवले निर्देशित भई शरिरले सकेको कसरी गर्ने होला भन्ने जान्दछन् । त्यसैअनुसार शारिरिक गतिविधि गर्नुपर्छ भनी पाका मान्छे हरेक काम मन्द गतिमा गरेका हुन् । सकेको काम गर्न कहिल्यै पछि नपर्ने पाका मान्छे ‘लुकुवा गाईले दुध लुकाएझैँ’ गर्दैनन् बरु सक्ने काममा लागिहाल्छन् । उहाँहरूले भएका कुरा मात्र भन्ने र गर्ने भएकाले अरु उमेरसमुहकाले आदर र मायागर्दै पत्त्याउनु र आफ्नो भविस्य पनि उज्यालो बनाउन लागुगर्नु आवश्यक छ ।
प्रतिकृया दिनुहोस