• आइतबार १-२-२०८१/Sunday 04-14-2024
बिश्व

२० वर्षदेखि बेपत्ता भाइ खोज्न एक दिदीले गरेको सङ्घर्ष

काठमाडौं । बीस वर्ष पहिले एलेक्स रत्नसोथीले आफ्नो परिवारसमक्ष आफू "अहिलेसम्मको सबैभन्दा साहसिक यात्रा"मा जान लागेको बताएका थिए। उनी यात्रामा निस्केपछि उनको परिवारले कहिल्यै उनको खबर पाएनन्।

 

एसेक्सको ग्रेज सहरका २३ वर्षीय उनी सन् २००३ मा नै घर फर्कने ठानिएको थियो। सन् २००३ को फेब्रुअरीमा उनले एक महिना लामो सगरमाथा आधार शिविरतर्फको पदयात्रामा रहँदा आफू केही दिन सम्पर्कमा नहुने कुरा इमेलमार्फत् बताए। आफ्नो परिवारका लागि उनले अन्तिम सन्देशमा लेखेका थिए: "तपाईँहरूले सोचेभन्दा छिट्टै फर्कनेछु।" तर उनी कहिल्यै फर्किएनन्।

 

सन् २००३ को जुलाई, एलेक्सको २४ ‍औँ जन्म महिनामा उनकी दिदी डा. अन्ना क्रोजियर र उनका जेठा दाजु डा. जोएल रत्नासोथी बिदा मिलाएर नेपाल आए। त्यति बेला उनीहरूले आफ्नो भाइको जुत्तासहित सबै कुरा लुटिएको थाहा पाए। त्यसपछि उनी हराएको देखिन्छ।

 

दुई दशकपछि, उनीहरूका बुबाको स्वास्थ्य बिग्रँदै गएको छ। र, अचानक आफ्नो भाइबारे जानकारी पाउन "आवश्यक महसुस भएको" डा. क्रोजियर बताउँछिन्। एक साता अघिसम्म क्रोजियरले आफ्नो बेपत्ता भाइको मृत्यु भएको अनुमान गरेकी थिइन्। तर, उनी बेपत्ता भएको २० औँ वर्ष पुग्न लाग्दा क्रोजियरले भाइलाई खोज्न १० महिना नेपालमा बिताएकी थिइन्। उनले त्यति बेला आफूले गरेका टिपोटहरू हेरिन्।

 

अहिले उनले आफ्नो भाइले नभेटिन चाहेको अनुमान गरेकी छिन्। "मैले उसको निधन भयो होला भन्ने ठानेको थिएँ वा उसले हामीलाई सम्पर्क गर्थ्यो- तर अहिले मलाई लाग्छ ऊ लुटिएपछि निकै डरायो होला," चेल्म्सफोर्डमा रहेकी उनले भनिन्।

 

एक व्यक्तिले उनीहरूलाई एलेक्सले स्वयंलाई एक होस्टलको कोठामा थुनेको देखेको बताएका थिए। ती व्यक्तिलाई विश्वास गर्दा एलेक्स "स्पष्ट रूपमा निकै तनावमा रहेको" हुनसक्ने उनले बताइन्।

 

एलेक्स अहिले उमेरले ४४ वर्षको हुने थिए। यी तमाम वर्षहरूमा कुनै पनि वार्षिकोत्सव, जन्मदिन र अन्य पारिवारिक अवसरहरूमा उनलाई सधैँ परिवार र साथीभाइहरूले सम्झिरहे। "हामीलाई हाम्रो रूखको एउटा हाँगा भाँचिएजस्तो लाग्छ," डा क्रोजियर भन्छिन्। "उसको ४० औँ जन्मदिनमा हामी सबैले एक अर्कालाई भेट्यौँ, त्यो क्षण निकै पीडादायी थियो। परिस्थिति दुःखद थियो किनकि त्यहाँ ऊ थिएन। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार