• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

विमान उड्दा र अवतरण गर्दा किन फोन चलाउन दिइँदैन

काठमाडौं । तपाईँ हवाईयात्रामा हुनुहुन्छ भने विमान उड्नुअघिबाटै परिचारिकाहरूले तपाईँको मोबाइल स्विच अफ गर्न वा फ्लाइट मोडमा राख्न आग्रह गरिरहेका हुन्छन्। विमानमा यात्रुसँग भएका अन्य विद्युतीय उपकरणको प्रयोग नगर्न पनि आग्रह गरिन्छ। तर धेरैजसो अन्तर्राष्ट्रिय उडानहरूमा निश्चित उचाइमा विमान पुगेपछि यस्ता उपकरण प्रयोग गर्न छुट दिइन्छ।

 

कतिपय विमान सञ्चालकहरूले त उडिरहेको जहाजमै वाईफाईको समेत सुविधा दिएका हुन्छन्। विमान उड्ने र अवतरण गर्ने समयमा किन मोबाइल र अन्य विद्युतीय उपकरण प्रयोग गर्न दिइँदैन तपाईँलाई थाहा छ ?

 

विशेषगरी विमान उड्ने र अवतरण गर्ने समयमा मोबाइल वा अन्य विद्युतीय उपकरण प्रयोग गर्दा यात्रु र विमान दुवैलाई जोखिम हुने जानकारहरू बताउँछन्। “विमानलाई खतरा हुनु भनेको यात्रुलाई पनि जोखिम हुनु हो। अर्को कुरा मोबाइल वा अरू उपकरणमा ध्यान दिएर विमानमा भइरहेको उद्घोषण सुनिएन भने कहिलेकाहीँ विमानमा टर्बुलेन्स आउँदा (हल्लिँदा) यात्रुलाई चोटपटक पनि लाग्न सक्छ,” नेपाल वायुसेवा निगमका पुन भन्छन्।

 

तर उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभजी प्रविधि उपलब्ध गराउन हालै युरोपेली आयोगले विमान सञ्चालकहरूलाई अनुमति दिएको विवरण आएका छन्। यसको अर्थ विमानका यात्रुहरूले अब आफ्नो मोबाइललाई फ्लाइट मोडमा राखिरहन पर्दैन र उडिरहेको विमानबाटै फोन गर्न वा मोबाइल डेटा पनि चलाउन मिल्छ।यद्यपि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै स्पष्ट छैन।

 

“यसले स्वचालित उडान नियन्त्रण प्रणालीमा हस्तक्षेप गर्न सक्छ भन्ने चिन्ताहरू थिए,' यूकेस्थित उडान सुरक्षा समितिका प्रमुख कार्यकारी डाई विटिङ्हमले यसअघि बीबीसीसँग भनेका थिए।

 

'तर अनुभवले के देखायो भने यस्तो हस्तक्षेपको जोखिम धेरै नै कम हुने रहेछ। तर पनि उडानमा रहेको समयमा मोबाइललाई सधैँ एअरप्लेन मोडमा राख्न सिफारिस गरिँदै आएको छ।' 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार