• मंगलबार २-१५-२०८१/Tuesday 05-28-2024
प्रविधी

बालबालिकामा मोबाइलको लतले निम्त्याउँदै गम्भीर समस्या

काठमाडौं । काठमाडौंको अनामनगरमा बसोबास गर्ने सम्झना शर्माकी छोरी अहिले साढे तीन वर्षकी भइन्। सँगसँगै जन्मिएका अन्य बालबालिकाभन्दा ढिलासम्म आफ्नी छोरी नबोल्दा सम्झनालाई निकै चिन्ता लागेको थियो।

 

“दुई वर्षकी हुन लाग्दासमेत कुनै बोली फुटाएर प्रतिक्रिया नै जनाउँदिनथी,” सम्झना भन्छिन्, “बाबारमामु समेत भन्न नथाल्दा मलाई त मेरी छोरी पनि अटिस्टिक रहिछ कि भन्ने धेरै तनाव भएको थियो।” बोली नफुटेकी उनकी छोरीलाई खुवाउनुपर्‍यो भने मोबाइलमा भिडिओहरू नदेखाई हुँदैनथ्यो। “हामी पनि दुवै जना काम गर्ने भएकाले उसलाई समय दिन पनि नभ्याउने अनि मोबाइल थमायो, खुवायो गर्थ्यौँ,” सम्झना भन्छिन्।

 

ढिलोसम्म छोरी नबोलेपछि उनले चिकित्सकहरूलाई पनि त्यसबारे भनिन्। सबैले मोबाइल धेरै खेलाएर पो नबोलेको हो कि भन्ने शङ्का गरे। “दुई वर्षकी भएपछि भने किन्डरगार्टनमा हालिदिएँ,” सम्झना भन्छिन्, “छोरी त बिस्तारै बोल्न मात्र थालिन, घरमा हुँदाभन्दा निकै टाठी पनि भई।” उनलाई अहिले लाग्छ, “आमाबाबु दुवैले घरमा धेरै बेर मोबाइल नै चलाइरहने अनि छोरीलाई पनि फकाउन मोबाइल नै दिने गर्दागर्दै छोरीसँग गर्नुपर्ने खालको संवाद नै गरिएनछ।”

 

बालमनोचिकित्सक तथा मनोविद्हरूका अनुसार अचेल सम्झनाको जस्तै आफ्ना छोराछोरी “ढिलो बोलेका वा बोली नफुटेको” गुनासो गर्नेहरू धेरै हुन थालेका छन्। र, त्यसको कारणको रूपमा देखा परेको छ( मोबाइलको अधिक प्रयोग अर्थात् मोबाइलको लत। यद्यपि त्यसबारे नेपालमा खासै अध्ययनहरू नभएकाले यकिनका साथ भन्न नसकिने उनीहरूको भनाइ छ।

 

पहिले कान्ति बाल अस्पतालमा काम गरिसकेकी र हाल मानसिक अस्पताल लगनखेलमा कार्यरत बाल तथा किशोरकिशोरीसम्बन्धी मनोचिकित्सक डा। शेरिना मोक्तानका भनाइमा विशेष गरी नेपालका सहरी क्षेत्रका कतिपय बालबालिकामा ढिलो गरी बोली फुट्नुको एउटा कारण मोबाइल पनि हुन सक्ने देखिएको छ। उनी भन्छिन्, “बालबालिकालाई सानैदेखि चौबीसै घण्टा मोबाइलमा झुन्डिन दिँदा उनीहरूले सामाजिक संवाद नै गर्न पाइरहेका छैनन्। संवाद गर्ने वातावरण नभईकन बालबालिकाले बोल्न सिक्दैनन्।”

 

“मोबाइलले नर्सरी राइम्स वा एबीसीडी त सिकाउला तर बोल्न वा संवाद गर्न सिकाउँदैन। त्यो निरन्तरको अभ्यासमा निर्भर हुने कुरा हो।” कान्ति बाल अस्पतालमा रहँदा त्यस्तो समस्या लिएर आएका कतिपय बालबालिकाका अभिभावकलाई मोबाइल चलाउने समय कम गर्न लगाउँदा त्यसले फाइदा पुगेको देखिएको अनुभव उनको छ। बालबालिकामा बोली ढिलो आउने त एउटा उदाहरण मात्र भएको र मोबाइलको लत लागेपछि बालबालिकामा अनेकौँ मानसिक र शारीरिक समस्याहरू देखिन थालेको मोक्तान बताउँछिन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मोबाइलको लतका कारण बालबालिकाको समग्र विकासमै नकारात्मक असर पर्ने र समस्या देखिने भन्दै पटकपटक सूचना नै जारी गरेर सचेत गराउने गरेको छ। विष्णु पोखरेल/बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार